जाजरकोट २८ भदौ/ अत्याधिक रक्तस्रावका कारण जाजरकोटको कुशे गाँउपालिकामा एक सुत्केरीको मृत्यु भएको छ । कुशे गाउँपालिका–७ समाईलाकी ४० वर्षीया जानुका नेपालीको रक्तस्राव नरोकिँदा मृत्यु भएको हो ।
बच्चा जन्माएको ६ घण्टासम्म पनि साल नझरेपछि उनको ज्यान गएको वडा सदस्य मानबहादुर विकले बताए । बिहीबार बिहान ५ बजे नेपालीले घरमै छोरीको जन्म दिएकी थिइन् तर लामो समयसम्म साल नझरेपछि उनको दिउँसो ११ बजे मृत्यु भएको हो ।
उनका श्रीमान घरमा नभएको र घरका अरु परिवारले समयमा स्वास्थ्य संस्था लैजान नसक्दा घरमै सुत्केरी हुन बाध्य भएकी थिइन्। सबैभन्दा नजिकको स्वास्थ्य संस्था पुग्न कम्तिमा ३ घण्टा पैदल हिड्नुपर्छ। उनका तीन छोरी र एक छोरा छन्। नाबालिका छोरीको अवस्था सामान्य छ।
