तुलबहादुर कवँर, दाङ २ असोज/ संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा स्त्रीरोग सम्बन्धी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
राप्ती गाउँपालिका दाङको समन्वयमा सम्पन्न स्वास्थ्य शिविरमा स्त्रीरोग सम्बन्धी निस्शुल्क स्वास्थ्य चेकजाँच, नसर्ने रोग सम्बन्धी जनचेतना प्रदान गर्नुको साथै मधुमेह जाँच सम्बन्धी ल्याब सेवा सञ्चालन गरिएको थियो । शिविरमा १६७ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए भने उनीहरूलाई निशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।
शिविरमा राप्ती विज्ञान प्रतिष्ठान दाङका एमडीजिपी डाक्टर उमाकान्त तिवारी ,राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावत,हेल्थ असिस्टेन्ट प्रदिप पुडासैनी, पदम प्रसाद पौडेल,अहेब शिवकुमार चौधरी,ल्याब टेक्निसियन हेमराज चौधरी लगायतको टोलीले स्वास्थ्य चेकजाँच गरेका थिए ।
यसैबीच शिविरको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थी र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्तरूपमा ब्यानर पढेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डाक्टर पन्थीले जनताहरुलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले शिविरको आयोजना गरिएको बताए ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय सरुवा रोग सँगसँगै नसर्ने रोग पनि बढ्दो क्रममा देखिएकाले खानपान तथा जीवनशैलीमा सुधार गर्न अवश्यक रहेको बताए । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै दिनु हुँदैन,अध्यक्ष विष्टले भने,कतिपय रोग लाग्यो भने लाखौं रकम खर्च गरे पनि निको हुदैन,रोग लाग्नबाट बच्न समयमै खानपान सँगै जीवनशैलीमा सुधार गर्न अवश्यक छ।
