तुलसीपुर ९ असोज/ तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउँने सेवा ग्राहीको चाँप बढ्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष सेवा लिन आउँने सेवा ग्राहीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ । पहिले दैनिक एकसयदेखि डेढसयसम्म विरामी आउँने गरेकोमा पछिल्लो समय दैनिक पाँचसयसम्म विरामी चेकजाँचको लागि आउँने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
मंगलबार राप्ती प्रादेशिक अस्पतालको वार्षिक समिक्षा कार्यक्रममा सूचना अधिकारी भूषण सुवेदीले प्रदेश सरकारको विशेष प्राथमिकता कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०७९/०८० ओपिडी टिकट ९१ हजार १ सय ४६ जनाका लागि प्रति व्यक्ति ५० रुपैयाँका दरले ४२ लाख ९३ हजार १ सय ४६ रुपैयाँ खर्च भएको जानकारी दिए । यस्तै इमर्जेन्सी टिकट ११ हजार ६ सय ७ जनालाई १ सय रुपैयाँका दरले १ १ लाख ६० हजार ७ सय र निशुल्क वेड ११ हजार ३ सय ७६ जनालाई २ सय तथा १ सयका दरले २० लाख ९ हजार ५ सय रुपैयाँ खर्च भएको उनले प्रस्तुत गरेको तथ्याँकमा छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा सामाजिक सेवा इकाइ तथा जेष्ठ नागरिक सेवा अन्र्तगत अति गरिब ४ सय ६६, असहाय ५९ जना, अक्षम तथा विगलांग १ सय ३८ जना, ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक ४ हजार ७ सय ६७ जना, महिला स्वयम् सेविका ३४ जना, लैंगिंक हिंसा पीडित १ जना र अन्य १० जनाले निशुल्क सेवा लिएका छन् । जसका लागि अस्पतालले ३९ लाख ७९ हजार ८ सय १४ रुपैयाँ खर्च गरेको छ ।
यस्तै वितेको तीन आर्थिब वर्षमा ६ हजार ५ सय ८५ जनाले डाइलासिस सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा २ हजार १ सय ९० जना, आव २०७८/०७९ मा २ हजार १ सय २४ र आव २०७९/०८० मा २ हजार २ सय ७१ जनाले डाइलासि सेवा लिएको तथ्याँक रहेको छ । यस्तै वितेको तीन वर्षको अवधिमा २० वर्ष मुनि र २० वर्ष माथिका ९ हजार ५ सय १३ जनाले सुत्केरी सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/२०७८ मा ३ हजार ९ सय १९ जना, आर्थिक वर्ष २०७८/२०७९ मा २ हजार ८ सय ८३ र आव २०७९/२०८० मा २ हजार ७ सय २१ जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएका छन् । ३ वर्षको अवधिमा राप्ती प्रादेशिक अस्पतालमा सामान्य प्रसुति सेवा मार्फत ७ हजार ३ सय ९५ जना, १ हजार ७ सय ९९ जना शल्यक्रिया मार्फत र २ सय २३ जना भ्याकुम फोरसेप मार्फत प्रसुति सेवा लिएको उल्लेख गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रअ खड्काले अस्पतालको विकासका लागि उपमहानगरपालिकाले सक्ने सहयोग गर्ने बताए । उनले अस्पतालको सेवा सुविधा बढ्दै गएपछि सेवा ग्राहीको चाप पनि बढेको बताउँदै सोहीअनुसार जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताए । ५० वेडको अस्पतालमा अहिले १४१ वेड सञ्चालन भएको छ प्रदेश सरकारले २०० वेडको बनाउने कुरा गरेको छ त्यहीअनुसार कर्मचारी दरबन्दी पनि हुन्छ उनले भने ।
कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पदमराज पोख्रेलले अस्पतालबाट कुनै पनि बिरामी पैसा नभएकै कारण फर्कनु नपर्ने बताए । तर अजशक्ति अभाव भएकै कारण सोचे अनुसारको सेवा दिन नसकिएको उनले बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका रिता न्यौपाने, अस्पतालका पूर्व अध्यक्ष रुद्रमणी शर्मा लगायतले प्रादेशिक अस्पताल रिफर सेन्टरको रुपमा नभई गुणस्तरिय सेवा दिने अस्पतालको रुपमा पहिचान बनाउनु पर्ने बताएका थिए । अस्पतालको सेवा सुविधा राम्रो बनाउने अस्पतालका सबै कर्मचारीको दायित्व भएको बताउँदै कर्मचारीको कामलाई मूल्याङकन गरेर उनीहरुको सेवा थप गर्न जरुरी रहेको बताएका थिए ।
