- देवेन्द्र बस्नेत,
काठमाडौं, १३ पुस । केपी शर्मा ओली एमालेको यो कार्यकालको अध्यक्ष ‘सर्वसम्मत’ बन्न खोजे । पार्टी भित्र चलेको ‘पुस्तान्तरण’ को बहसलाई चिर्न केहि असहज थियो पनि । पार्टी नेतृत्व पुस्तान्तरण भए मात्रै ‘सबल एमाले’ बन्न सक्ने बहस महाधिवेशनको मुखमा चलिरहेकै थियो । फलतः अध्यक्ष ओली सर्वसम्मत अध्यक्ष बन्ने असरबाट चुके पनि । भीम रावलले नेतृत्वका लागि लिएको अडानका सामु ओलीलाई ‘गल्नै’ पर्यो ।
नेतृत्वका लागि ओली रावलसंग भिड्नै पर्यो । पार्टीभित्र पुस्तान्तरणको बहस जती चलेपनि बहसकर्ताहरुनै पुरानो नेतृत्व अर्थात ओलीको पक्षमा उभियो । उनी भारी मतान्तरले एमाले नेतृत्वमा दोस्रो कार्यकालका लागि विजयी भए । तथापी ओलीको यो विजयले एमाले भित्र चलेको पुस्तान्तरणको बहसलाई भने गलत सावित गरिदिएन मात्रै अध्यक्षमा ‘ओली चासो’ भैराखे पुस्तान्तरण गरिनु हुँदैन भन्ने गतिलो सन्देश पनि दियो । एमाले जस्तै नेपाली कांग्रेस भित्र पनि पुस्तान्तरणको बहस थालनी भएको लामो समय भैसक्यो ।
अझ शेरबहादुर देउवाको अघिल्लो कार्यकालमा पार्टीले बेहोर्नु परेको ‘नोक्सानी’ को हिसाव किताव केलाएका कांग्रेसीहरुले त पुस्तान्तरण भए मात्रै कांग्रेसको ‘बिउ’ जोगिने सम्मको बहस उब्जाए । तर नेतृत्वका लागि परिणाम भने कांग्रेसीहरुले उनै पुरानो पुस्ताका देउवालाई सुम्पिदिए । दोस्रो पुस्ताका डा.शेखर कोइरालालाई मत नदिईनुले पनि कांग्रेस भित्रको पुस्तान्तरणको बहसलाई ‘बकवास’ प्रमाणित गरिदियो ।
दुई ठूला दल कांग्रेस एमाले भित्रको पुस्तान्तरणको बहस जस्तै माओवादी भित्र पनि नेतृत्वमा पुस्तान्तरणको बिषय ‘अकल्पनीय’ जस्तै बनिसकेको छ । बर्षौँ सम्म माओवादीको नेतृत्व थामेर नथाकेका पुष्पकमल दाहाल अध्यक्षका लागि फेरि पनि सर्वसम्मत जस्तै भैसकेका छन् । माओवादीका लागि उनी ईतर भएर उभिन सक्ने ‘हिम्मत’ दोस्रो तहका नेताहरुमा छैन नै । त्यसोत, राष्ट्रिय राजनीतिको केन्द्रमै रहेका दाहाल जतिको नेताको बिकल्प खोजिए माओवादीको ‘ओज’ राष्ट्रिय राजनीतिमै खस्कने बिश्लेषण माओवादी वृत्तमा हुनु स्वाभाविकै नि हो ।
लामो समय देखि माओवादीको बागडोर सम्हालेका दाहालको खिलाफमा गए आफ्नो राजनीतिक भविष्य के भन्ने त्रासले पनि दोस्रो तहका नेताहरुलाई छोएको छ । किनकी माओवादी भनेकै दाहाल हुन भन्ने मानसिकता सिंगो माओवादी केन्द्रको मनोभाव छ । फलतः दाहालका बिपरित भएर उभिनु सिंगो माओवादी इतर हुनु हो भन्ने बुझाईमा रहेका उनै नेताहरु दाहालका अगाडी चुपचाप भएका छन् ।
बरु उनै दाहालको पछिलो पुस्ता बन्नका लागि दोस्रो तहका नेताहरु दौडधुपमा लागिरहेका छन् । यो दौडधुपले पनि के पुष्टि गर्छ भने माओवादी भित्र पनि पुस्तान्तरणको सम्भावना ‘दाहाल ईच्छा’ कायम रहे सम्मका लागि किमार्थ सम्भव छैन । तथापी नेपाली राजनीतिमा पुस्तान्तरणको आवश्यक्ता महशुस गरिएको छ ।
पुस्तान्तरण भए मात्रै पार्टी संगठन बलियो हुनुका साथै नेपाली राजनीतिमा नयाँपन आउने र यसले राजनीतिक दल र दलका नेताहरुलाई हेर्ने ‘नागरिकको नजर’ परिवर्तन हुने लख काटिएको छ । तथापी नेपालका मुख्य राजनीतिक दलहरुनै पुस्तान्तरण गरेर नागरिककको मनोभावलाई ‘क्यास’ गर्ने चिन्तनमा देखिएका भने छैनन् ।
फलतः ठूला राजनीतिक दलहरुमा चलेको पुस्तान्तरणको बहस माओवादी अध्यक्ष पुष्प कमल दाहालको ‘नाटकै हो, नौटंकी नै हो’ भन्ने भाषण ‘टुक्का’ जस्तै भएको छ । भलै राप्रपाले भने यो साहस र सामथ्र्य भने देखायो । उसले राप्रपा माथिको पुरानो (कमल थापाको) एकल बिरासतलाई ढालदिएको छ । त्यतिमात्रै होइन लिङदेनको विजयीले बर्षाै बर्ष पुर्वपञ्चहरुले शासन गरेको पार्टीलाई जनताको छोरोमा सम्पिने कार्यभार पुरा गर्यो । राजेन्द्र लिङ्देन अध्यक्षमा चुनिएर पुस्तान्तरणको अभ्यासको थालनी गरेको राप्रपा पुस्तान्तरण गर्ने उदाहरणीय राजनीतिक दलका रुपमा पनि स्थापित भएको छ ।
