काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । अहिले बन्दसत्रको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक दस्तावेजमाथि २५ समुहमा छलफल भइरहेको छ । बिहान ११ बजेपछि विभिन्न २५ समुहका टोली नेताको नेतृत्वमा घनिभूत छलफल भइरहेपनि अझै निश्कर्ष आएको छैन ।

अध्यक्ष दाहालले सोमबार प्रस्तुत गरेको ४५ पृष्ट लामो राजनीतिक दस्तावेजमा उनले पार्टीको आगामि कार्ययोजना भन्दापनि आफ्नो आत्मालोचनालाई बढी समावेश गरेका छन् ।

जसले गर्दा समुहगत छलफलमा त्यस्ता विषयमा कस्ता सुझाव दिने भन्नेमा अन्यौलता बढेको नेताहरुको प्रतिकृया रहेको छ । केन्द्रीय आयोग, अनुशासन आयोग र निर्वाचन आयोग गरेर तीन आयोगका सदस्यको छलफल काठमाडौंको थापागाउँस्थित काठमाडौं बैंकेटमा चल्यो तर निश्कर्ष आएन ।

तेस्रो आँखासंग कुरा गर्दै समिति सदस्य विनोद पहाडीले राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका साथै पार्टीको इतिहासको समीक्षा भएकाले छलफल लम्बीएको बताए । उनले भनेः अध्यक्षको आत्मसमिक्षालाई कसरी सुझाव दिने भन्ने विषयमा प्रतिनिधिहरु अन्यौलमा हुनुहुन्छ ।

छलफलमा सहभागी महाधिवेशन प्रतिनिधिले प्रतिनिवेशन निकै लामो भएकाले छलफलमा समय लागेको बताए । कति समुहमा अध्यक्षको प्रतिवेदनमाथि नेताहरुमै असहमति देखिएको छ । पार्टीमा २ सय ९९ केन्द्रीय सदस्य समिति भन्दा बढ्न नहुने तर्क कसैको छ । भने केन्द्रीय समिति सानो बनाउने तर्कपनि बढेको छ ।

प्रतिनिधिले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), पार्टीगत एकता, पार्टीको आन्तरिक परिवर्तन र अध्यक्ष दाहालको आत्मसमीक्षा लगाएतमा कस्ता सुझाव दिने अन्यौलमा रहेको नेताहरुले बताएका छन् । त्यस्तै, समुहगत छलफलमा पार्टीलाई एकढिक्का बनाई अघि बढाउने विषयमा नेताहरुबीच गम्भीर छलफल भइरहेको नेता शिव खकुरेलले तेस्रो आँखालाई बताए ।

पार्टी नेता र नेतृत्वका कारण कमजोर भएको भन्दै त्यसलाई आत्मसमिक्षा गर्दै अघि बढ्नु पर्नेमा प्रतिनिधिहरुको जोड छ । उनिहरुले सशस्त्र युद्धको क्रममा अगाडि सारेको प्रचण्डपथ व्यक्ति वा नेताको विषय नभएकाले गम्भीर प्रश्न उठाएका छन् । नेता खकुरेलले अधिकांस समुहको छलफल बाँकी रहेकाले भोली मध्यान्ह सकिने बताए ।

समुहमा विश्व पूँजीवाद, साम्राज्यवादले जलवायु परिवर्तनमा पारेको असर, एनजीओ, आइएनजीओको भूमिकामा पनि प्रतिनिधिहरुले प्रतिप्रश्न उठेका छन् । प्रतिनिधिबीच पार्टीको विधान अनुसार आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अपाङगता कोटा प्रतिशतको आधारमा वितरण हुनेगरि क्लस्टरका विषयमा भइरहेको छ ।

पुस ११ गते काठमाडौंमा उद्घाटन भएको माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफल जारी छ । छलफल टुंगिएपछि सुझावलाई समेटेर दाहालको राजनीतिक प्रतिवेदन पारित हुने नेता देव गुरुङले बताए ।

अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएपनि निश्कर्षमा पुग्न सकेका छैनन् । अधिकांस समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्ने तयारी गरेको नेता देव गुरुङले बताए । आज छलफल पुरा नभएका समुहलाई बुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको छ ।

बुधबार दिउँसो १ बजेबाट प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यतालिका छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ ।
पूर्णपाठ
