काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताएका छन्।
सोमवार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे।
उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताए। उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताए।
उनले भने, ‘अहिले समग्रमा देशमा अनेकन समस्या छन्। अन्तरराष्ट्रिय तहमा पनि अहिले धेरैखाले समस्या छन्। हिजो पनि द्वन्द्वका परिवेशहरु थिए, अहिले पनि नयाँ नयाँ द्वन्द्वका क्षेत्रहरु देखिरहेका छन्। मध्यपूर्वमा धेरै ठूलो द्वन्द्व बढेको छ। अन्तरराष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ‚ त्योबाट नेपाल पनि अछुतो रहेको छैन। तर मलाई लाग्छ, विस्तारै हामी अन्तरराष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ। सकारात्मक कुरा देखिएका छन्‚ त्यसका बाबजुद अफ्ठ्यारा बाँकी छन्। त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । अर्थमन्त्रालय, सरकारले मात्रै गरेर समाधान हुँदैन।’
मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताए।
