• ट्रेण्डिङ्ग :
मिडियामा पुग्यो, प्रभावितसम्म पुग्न सकेन राहत

मिडियामा पुग्यो, प्रभावितसम्म पुग्न सकेन राहत


  • 6.8K
    SHARES
    • कार्तिक २२, २०८० बुधबार
    • २ बर्षs अघि
    • 10.4K Views

    मिडियामा पुग्यो, प्रभावितसम्म पुग्न सकेन राहत

    अञ्जना चौधरी, तुलसीपुर २२ कात्तिक/ गत शुक्रबार राती जाजरकोटलाई केन्द्र विन्दु बनाएर भुकम्प गएको पनि आज पाँच पुगेको छ । तर पनि भुकम्प प्रभावितहरुले अहिलेसम्म राहात पाउँन सकेका छैनन् । प्रभावित पीडितले अझैसम्म पनि राहत नपाउँदा उनीहरुको दैनिकी एकदमै कष्टकर बन्दै गएको छ भने विभिन्न खाले रागको संक्रमण हुने जोखिम पनि बढेको छ । भुकम्प पीडितहरुले किन्न सक्नेले आफै त्रिपाल किनेर बसेका छन् भने नसक्नेहरु कोही मकैको नल, परालले बारेर बसेका छन् भने कोही चिसो मौसममा खुला आकाशमुनि रात कटाउन बाध्य छन् ।

    images

    अन्नपातहरु सबै पुरिएको र त्यो निकाल्ने सम्भावना पनि नभएको र राहत पनि नपुगेकाले कुनै ठाउँमा प्रभावितहरु भोकै बस्नु परेको छ । कुशे गाउँपालिका वडा नं. ७ समाइला जाजरकोटकी विष्णु घर्ती मगरले धेरै जनासँग राहतको लागि अपिल गरेपनि एउटा परिवारलाई एउटा त्रिपाल र दुई वटा विस्कुट बाहेक अन्य राहत नपाएको तेस्रो आँखा अनलाइनसँग दुखेसो पोखिन् । भुकम्प गएको दोस्रो दिनसम्म हामी भोकै बस्यौ, तेस्रो दिन शसस्त्र प्रहरी आएर भत्किएको घरबाट केही रासन र कपडा निकालिदिनु भयो र त्यसैले अलिअलि बाच्ने बाटो गरेका छौ घर्तीले भनिन् । 

    छिमेकी गाउँकाले राहत पाएपनि आफुहरुले अहिलेसम्म राहतको लागि आश्वासन मात्रै पाएको उनको भनाइ छ । धेरै जनासँग राहतको लागि माग गरेका छौ, सबैले आश्वासन मात्रै दिनुहुन्छ गर्नु कसैले हुँदैन घर्तीले भनिन्, हिजो आएर एउटा परिवारलाई एउटा त्रिपाल र दुईवटा विस्कुट दिएर जानुभयो त्यो विस्कुटले हामीलाई के हुन्छ ? । घर्ती बस्ने टोलमा करिब २० वटा घर कामै नलाग्ने गरि भत्किएको छ । दिनदिनै चिसो बढ्दै जाँदा बालबालिकासहित वृद्धवृद्धा बढी प्रभावित भएको उनको भनाइ छ । हाम्रो ठाउँमा धेरै चिसो छ, शितलहर पर्ने हुँदा पालभित्र बस्दा पनि शित चुहिएर बाहिर बसेको जस्तै छ, घर्तीले भनिन्, बालबालिका र वृद्धावृद्धा आगोको साहरामा बस्नु भएको छ । अन्य राहतका सामग्री भन्दा अहिले आफुहरुलाई तातो खालको ओढ्ने ओछ्याउने बढी आवश्यकता रहेको घर्तीले बताइन् ।
     
    जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ चिउरीकी मनिषा चदाराको गुनासो पनि उस्तै छ । भुकम्प गएको बेला भतिजभतिजी, अपांग आमासहित सम्पूर्ण सदस्यहरुलाई बचाउन सफल भएपनि उनको दुईवटै घर भने कामै नलाग्ने गरी भत्किएको छ । भुकम्पमा परि चदाराका २७ जना छिमेकीको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् । आफुहरु पनि घरमा भएको खामाले मात्रै बाच्न सफल भएको उनी बताउँछिन् । अहिलेसम्म आफुहरुले घरबाट निकालेको दुई चार वटा ओढ्ने ओछ्याउने कपडाले गुजारा चलाउँदै आएको बताइन् । चिउरीमा जम्मा १८६ वटा घरमध्ये बस्न लाएक कुनै घर छैन् । सबै गाउँलेहरु अहिले जहाँ माथीबाट खस्ने ढुंगा, रुखहरु नभएको खाली ठाउँहरुमा पालहरु हालेर बसेका छन् । तर आधा गाउँलेहरु त्रिपालमुनी बसेपनि आधा जति खुला आकाश मुनी बसेको चदाराले बताइन् । राहतको रुपमा गाउँभरी जम्मा ५० वटा त्रिपाल आएको उनको भनाइ छ । त्यसका साथै संघसंस्थाबाट एक बोरा चामल र एउटा ब्ल्याङ्केट बाहेक अन्य राहत नआएको बताइन् । धेरै ठाउँमा राहत आएको छ भन्ने सुनेका छौ हाम्रो ठाउँमा आएको छैन् हिजो पनि राहत आउँदैछ भन्नुभयो तर आजसम्म आएको छैन चदाराले भनिन् । 

    भुकम्प पीडितहरु एकदमै दयनीय अवस्थामा बस्नु परेको जाजरकोटका पत्रकार भौतिक मल्लले बताए । मिडियाहरुमा राहत संकलन र वितरणको समाचारहरु आएपनि प्रभावितसम्म अहिलेसम्म राहत पुग्न नसकेको मल्लको भनाइ छ । भुकम्पबाट सबै भन्दा धेरै जाजरकोटको नलगाड नगरपालिकामा क्षति भएको छ । त्यहाँ ५४ मृत्यु भएको छ । त्यसैगरी भेरी नगरपालिकामा २६ जनाको मृत्यु, र कुशे गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन् । खासगरी पुरानो मोडेलको घरहरु भएकाले पनि बढी क्षति भएको हो । जाडो बढी भएकाले प्रभावितहरुका लागि त्रिपाल र ओढ्ने ओछ्याउने आवश्यक रहेको मल्लले बताए । चिसोको कारण निमुनिया भएर अझ बढी समस्या हुन्छ की भन्ने डर रहेको छ । 

    यस विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । जाजरकोटमा गत शुक्रबार गएको भुकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन् ।


    तेस्रो आँखा