जाजरकोट ४ मंसिर / घर भत्किएपछि त्रिपालको ओतमा खुला आकाशमुनि रात काट्दै आएका भूकम्प प्रभावितमध्ये थप दुईसहित ७ को चिसोका कारण ज्यान गएको छ । छेडागाड–१३ की ५६ वर्षीया मनसरा कामी र जुनीचाँदे–४ की ८९ वर्षीया सुगिली नेपालीको शनिबार मृत्यु भएको हो । यसअघि पनि चिसोकै कारण ५ जना भूकम्प प्रभावितको मृत्यु भइसकेको छ ।
जसमा बारेकोट–४ का ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, बारेकोट–१ का ७० वर्षीय डुमे पुन र भेरी–२ का ८८ वर्षीय धुलेश्वर कार्कीले ज्यान गुमाएका हुन् भने गत साता मात्रै नलगाड–४ का ८४ वर्षीय गोपालबहादुर रावल र सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको थियो । भूकम्पका कारण घर भत्किएपछि जाजरकोटका झन्डै ६७ हजार परिवार घरबारविहीन बनेका छन् ।
त्यसमध्ये ३० हजार ४ सय १३ परिवारले राहतस्वरूप एक/एक थान त्रिपाल मात्र पाएका छन् । एउटा त्रिपाल र कम्बलको भरमा मंसिरको चिसो रात कटाउन सास्ती भएको छ । ‘यस्तो ठिहिरोमा ५/६ जनाको परिवार एउटा कम्बलको भरमा त्रिपालमुनि कसरी रात कटाउने ?,’ लुहादहस्थित आधारभूत विद्यालयका शिक्षक प्रकाश नेपालीले भने, ‘यो हिमपात हुने ठाउँ हो, रातभरि शीत चुहिन्छ, बिहान तुसारो जमिरहेको हुन्छ ।’ उनका अनुसार कतिपय भूकम्प प्रभावित त चिसो छल्न रातभरि आगो तापेर जाग्राम बस्न बाध्य छन् ।
छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले हिमपात हुने ठाउँमा भूकम्प प्रभावितलाई चिसो थेग्नै मुस्किल भइरहेको बताए । ‘यहाँ पुस/माघमा सधैं हिउँ पर्छ, यस्तो ठाउँमा एकसरो त्रिपालले कसरी चिसो धान्ला ?,’ उनले भने, ‘अधिकांश पीडितको पालमुनि पनि शीत चुहिन्छ, स्वस्थ मान्छे पनि एक रात त्रिपालमुनि सुते बिरामी हुने अवस्था छ, कसरी बचाउने ?’ उनका अनुसार सबैजसो वडामा झन्डै ५० देखि एक सय जना भूकम्पपीडित चिसोका कारण बिरामी परेका छन् । भूकम्प प्रभावितको उपचारका लागि सबै वडामा औषधिसहित प्रत्येक वडामा २ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाइ छ ।
