देवेन्द्र बस्नेत
काठमाडौँ , पुस १६ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले औषधी ब्यवस्था बिभागका महानिर्देशकमा भरत भट्राईलाई नियुक्त गरे । यो बिभागको महानिर्देशक पद एउटा मात्रै थियो , तर अर्का महानिर्देशक नारायण ढकाल उक्त पदमा कायमै रहेको अवस्थामा तत्कालीन मन्त्री ढकालले भट्राईलाई अर्को महानिर्देशन नियुक्त गरिदिए । एक पद , तर दुई महानिर्देशक भएपछि उनिहरुबिच ‘महानिर्देशक’ शक्तिको प्रतिष्पर्धा सुरु भयो ।
केपी ओली नेतृत्वको सरकार बिस्थापन भएपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका नियुक्तीलाई हेरफेर गर्यो । यो हेरफेरमा भट्राई पनि परे । उनलाई वर्तमान सरकारले राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकका रुपमा सरुवा गरिदियो । तर भट्राईले सरकारले गरेको सरुवालाई मान्न तयार भएनन् । उनी सरकारले खटाएको ठाउँमा नगएर बिदामा बसे । उनले ८८ दिनको बिदा लिए । यसबिषयमा भट्राईसंग कुराकानी गर्न खोज्दा उनले आफू यसबिषयमा केहि नबोल्ने बताए । उनले किन सूचना चाहियो भन्दै प्रश्न गरे ‘केको लागि तपाई सोध्दै हुनुहुन्छ ? किन चाहियो तपाईलाई यो सब ?’ उनले यो बिषयमा आफू नबोल्ने भन्दै सबै जानकारी लिनका लागि स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न भने ।
स्वास्थ्य मन्त्रालयका अनुसार भट्राई औषधी प्रयोगशालामा किमार्थ हाजिर हुन राजी छैनन् । ‘एक पटक मन्त्री भैसकेको मान्छे कसरी सहायकमन्त्री हुन्छ ?’ स्वास्थ्य मन्त्रीका बिज्ञ सल्लाकार डा.रमेश ढकालले भट्राईको भनाई उदृत गर्दै भने ‘महानिर्देशन भैसकेको म कसरी निर्देशकमा झरेर काम गरुँ ?’
महानिर्देशक भैसकेको मान्छे कसरी निर्देशक बन्ने भन्दै उनले राखेको अडानका सामु मन्त्रालय समेत झुक्ने देखिन्छ । उनलाई सरुवा भएको स्थानमा हाजिर नगराएर मन्त्रालयमै हाजिर गराउने तयारी थालिएको छ । ‘अबको एक दुई दिनमै उहाँको बिदा सकिँदैछ,’ डा. ढकालले भने ‘उहाँको बिदा सकिएपछि अब उहाँ हाजिर हुनुहुन्छ ।’
ढकालका अनुसार उनलाई औषधी प्रयोगशालामा हाजिर गराउन प्रयास गर्ने र नमानेको खण्डमा मन्त्रालयमै हाजिर गराईने छ । ‘उहाँ ११ औँ तहको कर्मचारी हुनुहुन्छ,उहाँलाई बिभाग वा मन्त्रालय जहाँ हाजिर गराएपनि मिल्छ,’ ढकालले भने ‘यसर्थ उहाँले निर्देशक बनेर काम गर्न नचाहेको खण्डमा उहाँलाई मन्त्रालयमै हाजिर गर्ने ब्यवस्था गरिन्छ ।’
त्यसोत, भट्राईका सामु स्वास्थ्य मन्त्रालय समेत अधिक लचिलो बनेको देखिन्छ । सरुवा भएको स्थानमा नजाने कर्मचारीलाई दण्डित गर्नुको साटो उनै कर्मचारीलाई सजिलो बनाईदिएर स्वास्थ्य मन्त्रालयले औषधी प्रयोगशालामा पनि महानिर्देशक पद राख्न खोजेको थियो । ‘उहाँले महानिर्देशन पदनै चाहिन्छ भनेपछि औषधी प्रयोगशालामा महानिर्देशन पद कायम गर्ने प्रयास पनि थालियो,’ ढकाल भन्छन् ‘तर तत्कालका लागि यो मिलेन, त्यसका लागि फाईल भनृे तयार भैसकेको छ ।’ प्रयोगशालामा महानिर्देशन पद स्थापना हुन सकेपछि बल्ल मात्रै भट्राईलाई त्यहाँ खटाउने तयारी मन्त्रालयको छ ।
सरुवा भएको स्थानमा नपुगेका भट्राई आफ्नो सहजताका लागि मन्त्रालय निकै धाएको बताईएको छ । उनले औषधी प्रयोगशालामा नपठाउनका लागि अनुरोध सहित अन्य उपयुक्त स्थानमा स्थानान्तरणका लागि मन्त्रालयमा लविङ गर्दै आएका छन् ।
