घोराही १२ मंसिर/ घरमा काठले बनेका प्राय सबै बस्तुको विभिन्न कलाकृति छन् । घरको मूल ढोकामा चराचुरुङ्गी, हात्ती, घोडा, मयुरलगायतका पंक्षी र जनावरको आकृति कुँदिएका छन् । काष्ठकलाको सीप आफ्नो घरका सबै ठाउँमा कुँद्नु भएको भने काठबाट विभिन्न प्रकारका मूर्ति बनाउनु भएको छ । यसरी, थारु कला संस्कृति झल्कने काम गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ, जग्गुलाल चौधरी । उमेरले ६६ वर्ष बसन्त पार गरिरहेको छ । यो उमेरमा आईपुग्दासम्म उहाँको थारु लोक कला, संस्कृति झल्किने कामलाई निरन्तरता दिई राख्नु भएको छ । यो अविराम यात्रा थालनी गरेको ५० वर्षभन्दा बढी भईसकेको जग्गुलाल बताउनुहुन्छ ।
‘सानो छँदा बाउबाजेसँगै उठबस भयो । उहाँहरुले पनि अलि अलि हस्तकलाको काम गर्नु हुन्थ्यो । घाँसपात, गाईबस्तु चराउँदा चराउँदै यो काममा हेलिएँ‘, जग्गुलालले भन्नुभयो ‘सानैबाट काठको, माटोको काममा हात हालेको हुँ । आफैले काम गर्न सिकेको हुँ । शुरुवाती चरणमा माटोका सामग्री बनाउने काम गरेको मलाई याद छ ।’ रहरले बनाउन थालेको यो काम अहिले यसको महत्व बढेको देख्दा थकथक लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।
‘उमेर हुँदा रहरै रहरमा काठमा विभिन्न प्रकारका सामग्री बनाउने काम गरेँ, कति धेरै त मैले बनाएका सामग्री यत्तिकै काम नलागेर गयो । गाउँमा हिँड्दा, घुम्दा, वन जंगलमा जाँदा काम देखेँ भने मनमा धेरै कुरा खेल्छ’, उहाँले भन्नुभयो ‘यो काठमा यस्तो आकार आउँछ, यो बनाउँछु भन्ने लाग्छ, धेरै काम त काठ देखेर तुरुन्तै योजना बनाउँछु, अनि घरमा ल्याएर बनाई हाल्छु ।’
पाँच दशकको अवधिमा उहाँले काठबाट धेरै मूर्तिहरु बनाई सक्नुभयो । औपचारिक अध्ययन गर्न विद्यालयको कक्षा कोठासम्म नपुगेपनि उहाँले आफैले मौलिक सीप आफ्नै मेहनतबाट सिक्दै पारङ्गत हुनुभएको छ । जग्गुलाल बनाउनुभएको काष्ठकलामा आफ्नै मौलिकता भेटिन्छ । त्यही कलाका माध्यमबाट काठमा थारु जातिका भेषभूषा, कला संस्कृतिसँगै देवीदेवता, जनावर, चराचुरुङ्गीका आकृति कैद गर्दै आउनुभएको छ ।
शुरुका दिनहरुमा घरका लागि आवश्यक मूर्तिहरु बाध्यताले बनाउने गरे पनि पछिल्लो समय त काठ देख्दा नै मनमा मूर्तिको आकृति आउने गरेको उहाँको भनाई छ । ‘सानोमा घरमा आवश्यक हुन्थ्यो र मूर्तिहरु बनाइन्थ्यो । अहिले त त्यस्तो हुँदैन, हिँड्दा, घुम्दा होस् या घरमा बसेको समयमा होस् राम्रो काठ देख्यो कि मनमा आकृति आइहाल्छ । त्यसपछि त्यो काठलाई कुँदेर मूर्तिमा परिणत गर्ने गर्दछु’, उहाँले भन्नुभयो, ‘सायदै होला मैले काठमा आकार नदिएको जीवजन्तु ।’ अधिकांश मूर्तिहरु मैले यो बनाउँछु सोँचेर भन्दा पनि काठ देख्दा त्यसमा आकृति सम्झिएर नै बनाउने गरेको बताउनुभयो । आफू थारु जाति भएकाले सानोमा चाडपर्व, विवाहलगायतका पर्वहरुमा घरका लागि आवश्यक स–साना मूर्तिहरु बनाउने गर्नुभएका जग्गुलाल पछिल्लो समय बिक्रीका लागि समेत बनाउने गर्नुभएको छ । उहाँले बनाएका अधिकांश मूर्तिहरु बिक्री हुने गरेका छन् । रहरै रहरमा बनाएका मुक्तिहरु दुई हजारदेखि सात हजारसम्म मूल्यमा बिक्री हुन थालेपछि अहिले उत्साहित हुनुभएको छ ।
यस्ता काठका मूर्ति पनि बिक्ला र भन्ने आफुलाई लागेको स्मरण गर्दै उहाँले केही वर्ष अघि बाहिरी जिल्लाबाट आएका व्यक्तिले पुराना काठमा मूर्ति खरीद गरेर लग्दा निकै उत्साहित भएको बताउनुभयो । शुरुका दिनहरुमा जिल्लाका घोराही, तुलसीपुरलगायतका बजारबाट व्यापारीहरु आएर मूर्तिहरु किनेर लैजान गर्न थालेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार कतिपय मानिसहरुले घरमा भएका मूर्तिहरु किनेर लैजाने गरेका छन् भने कतिपयले अर्डर गर्ने र उनीहरुको अर्डर अनुसार मूर्ति बनाउने गर्नुभएको छ ।
जग्गुलालले बनाउनुभएका काठका मूर्तिहरु जिल्लाभित्र र पोखरा, काठमाडौँलगायत ठाउँसम्म जाने गरेका छन् । बिक्री भएका थारु जाति, कला संस्कृति सम्वन्धी मुर्तिहरु दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ पनौरामा रहेको थारु सांस्कृतिक संग्रहालयमा समेत राखिएका छन् ।
काष्ठकलालाई व्यावसायिक रुपमा अघि नबढाए पनि घरमा फुर्सदको समयमा मूर्ति बनाउने काम गर्ने गर्नुभएका जग्गुलालले मादल, सारङ्गी, हेल्कालगायत थारु पहिचान झल्किने सबै प्रकारका बस्तु बनाउने गर्नुभएको छ । मूर्ति बनाएर बिक्री गरेको पैसाले आफ्नो दैनिकी चलेको उहाँ बताउनुहुन्छ । ‘व्यावसायिक रुपमा मूर्ति बनाउने काम गरेको छैन, तालिम पनि लिएको छैन, जे सिकेको छु, आफ्नै तौरतरिकाले सिकेको छु । घरको काम गरेर बचेको फुर्सदको समयमा मूर्ति बनाउने काम गर्ने गरेको छु’, जगुलालले भन्नुभयो ‘फुर्सदको समयमै करिब अहिलेसम्म ६/७ सय विभिन्न प्रकारका मूर्तिहरु बनाएको छु, यो सीप मेरो पहिचान बन्ला भन्ने लागेको थिएन, अहिले आफु ओझेलमा परेर भएपनि थारु लोककला, परम्परा, संस्कृति झल्किने विषय बस्तु कलामा उतार्न पाउँदा खुशी छु ।’ उहाँले थारु जाति, कला, संस्कृतिका मूर्तिसँगै भगवान, जनावर, चराचुरुङ्गीसँगै मादल र सारंगी समेत बनाउने गर्नुभएको छ ।
जग्गुलालले बनाउनुभएका अधिकांश मूर्तिहरु थारु जातिले लगाउने लुगा, बाघ, घोडामा गुरुवाहरु चढेका, थारु महिलाहरुले आफ्नो भेषभूषामा सजिएका छन् । ती मूर्तिहरु ग्राहकको रोजाईमा पर्ने गरेका उहाँ बताउनुहुन्छ । ‘मैले बिक्री गर्नका लागि मूर्ति बनाउने काम गरिनँ, रहर लागेर आफ्नै लागि घरमा बसेको समयमा मूर्ति बनाउने काम गर्दथेँ । तर पछिल्लो समय रहरमै बनाएका मूर्तिहरु बिक्री हुन थालेपछि, मलाई थप हौसला बढेको छ’ उहाँले भन्नुभयो ‘शरीर र स्वास्थ्यले साथ दिएसम्म काम गर्दै आएको छु, यो मेरो मनदेखिको मन परेको काम हो । यसमा मैले सन्तुष्टि भेटेको छु ।’


