काठमाडौँ २८ मंसिर / कांग्रेस संस्थापन इतरपक्षको बुधबारको बैठकमा महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि शेखर कोइराला संसदीय दलको नेता बन्नुपर्ने प्रस्ताव गरेका छन् । एक वर्षयता सम्बन्धका विभिन्न आरोह–अवरोहबीच गुज्रिएका थापाले जुनसुकै त्याग गर्न तयार भएको भन्दै २०८२ मा १५ औं महाधिवेशन नियमित समयमा गर्न भन्दै यस्तो प्रस्ताव राखेपछि कोइरालासँग झाँगिएको अविश्वास तत्कालका लागि टरेको छ ।
नेता अर्जुननरसिंह केसीको निवासमा सोमबार करिब दुई घण्टाको संवादमा दुवै नेताले आ–आफ्ना कमजोरी समीक्षा गर्दै सँगै अघि बढ्ने अठोट गरेका थिए । त्यसलगत्तै कोइरालाले मंगलबार बोलाएको बैठक थापाको सुविधाका लागि बुधबार सारेका थिए । पार्टी रूपान्तरण र २०८२ मा नियमित महाधिवेशन गराउन थापाले संसदीय दलको नेता परिवर्तनको मुद्दालाई निरन्तर अघि बढाउँदै आएका छन् ।
विधानले चार वर्षको कार्यकाल निर्धारण गरे पनि असाधारण परिस्थिति देखाएर थप एक वर्ष लम्ब्याउन सक्ने सुविधालाई देउवाले यस पटक प्रयोग गर्न सक्ने बुझाइ थापासहितका संस्थापनइतर अधिकांश नेताको छ । त्यसलाई रोक्न र पार्टीले प्रधानमन्त्री पाउने समयमा देउवाको विकल्प खोज्नुपर्ने भन्दै थापाले कोइरालालाई संसदीय दलको नेता बनाउन आफूले जस्तोसुकै त्याग गर्न तयार भएको भनाइ राखेका छन् ।
गत वर्ष पुसमा महामन्त्री थापा नै संसदीय दलको नेतामा देउवाको प्रतिस्पर्धी थिए । त्यतिबेला थापाले २५ मत प्राप्त गर्दा देउवाले ६४ मत ल्याएका थिए । संस्थापन इतरपक्षकै कतिपय सांसदको मत नपाएपछि थापा र शेखरबीच त्यतिबेलैदेखि सम्बन्ध चिसिँदै आएको थियो । त्यसयता संघ र प्रदेशमा मन्त्रीको सिफारिस, रूपान्तरण अभियानका कार्यक्रमप्रति अविश्वास र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिलगायत विषयमा कार्यशैलीगत मतान्तर बढ्दै गएको थियो ।
पछिल्लो समय सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतले दुवै नेतालाई मिलाउन भूमिका खेलेका थिए । केसी निवासमा विकसित घटनाक्रमपछि महामन्त्री थापाले कोइरालालाई नेता मान्न र बनाउने कुरामा आफू जुनसुकै बेला तयार भएको र आफूहरूबीच कुनै मनमुटाब नभएको प्रतिक्रिया दिएका छन् । ‘शेरबहादुर देउवाबाट पार्टी चल्दैन भनेर हामी १४ औं महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका हौं । नेतृत्वको कार्यशैली र व्यवहार हेर्दा २०८२ मा महाधिवेशन हुने कुनै सम्भावना देखिन्न । दलको नेता नबदल्ने हो भने २०८३ मा पनि महाधिवेशन हुँदैन,’ बैठकमा थापाको भनाइ थियो, ‘शेखर दाइलाई नेता मान्ने कुरामा र टिमलाई अघि बढाउने कुरामा मैले के त्याग गर्नुपर्छ, तयार छु ।’
संसदीय दलको नेतामा विकल्प खोज्नुपर्ने थापाको भनाइप्रति बैठकमा मौन रहेका कोइरालाले अनौपचारिक तहमा भने त्यसको गृहकार्य भइरहेको बताउने गरेका छन् । ‘संसद्को गणित पुगेका दिनमा अघि बढ्ने हो, अहिल्यै बाहिर हल्ला गरेर हुँदैन,’ अनौपचारिक संवादका क्रममा कोइरालाले भन्दै आएका छन् । ‘संख्या सुनिश्चित भएपछि देश र कांग्रेसको भविष्यलाई हेरेर शेखर दाइ संसदीय दलको नेताको विकल्प खोज्न तयार हुनुहुन्छ । पार्टीमा तिक्तता मात्रै बढाउने तर परिणाम नआउने गरी जान हुन्न भन्नेमा उहाँ हुनुहुन्छ,’ कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेलले भने, ‘सरकार र पार्टीमा शेरबहादुर दाइले पटक–पटक अवसर पाउनुभयो । अहिले समाजमा जुन खालेको निराशा छाएको छ, त्यसलाई चिरेर अघि बढ्न सांसदहरूले सत्ता र शक्तिभन्दा पार्टी र देशको हित हेरेर जान सहमत हुनुभयो भने दलको नेता परिवर्तन हुन्छ ।’
बैठकमा नेता कोइरालाले पनि गगनसँग आफ्नो कुनै मनमुटाब नभएको र आफूहरूलाई टाढा बनाउन केही मान्छेले भूमिका खेलेको बताएका थिए । ‘गगन र मेरोबीचमा कुनै मनमुटाब छैन । बीचबीचमा अरूले नै विवाद भनेर उछालिरहेका मात्रै हुन् । उमेरका कारणले पनि काम गर्ने कार्यशैलीमा एउटै तौरतरिका खोजेर हुन्न । गगनको आफ्नै शैली छ, मेरै आफ्नै शैली छ । स–साना कुरामा मत फरक पर्ला । तर, बाहिर आएजस्तो विवाद केही छैन । एजेन्डा एउटै छ । हामी एकै ठाउँमा छौं,’ शेखरको भनाइ थियो, ‘दुई जनाबीच बोल्दा सोधेर मात्रै बोल्नुहोला । हामीबीचको सम्बन्धका बीचमा थाहा नपाई मिडियामा नबोली दिनुहोला ।’
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने बैठकमा एजेन्डाबारे समेत छलफल भएको थियो । सभापति देउवाले राष्ट्रिय सभा निर्वाचनमा दल दर्ता गर्ने विषय, समसामयिक राजनीति र महासमिति बैठकको तयारीसम्बन्धी एजेन्डा राखेर कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले महासमिति बैठक सार्ने कसरत गरिरहेका बेला इतरपक्षको बैठकले तोकिएको मितिमा महासमिति हुनुपर्ने निष्कर्ष निकालेको छ । महासमिति बैठक पुस १६–१९ राजधानीमा गर्ने तय छ ।
बैठकमा बोल्ने अधिकांश नेताले राष्ट्रिय सभा निर्वाचनमा लडेर पराजित भएका, समानुपातिक सूचीमा नाम भएका र मन्त्री, सांसदमा अवसर पाइरहेकालाई उम्मेदवार नबनाउन जोड दिएका छन् । झापा–३ बाट चुनाव हारेका कृष्णप्रसाद सिटौला र समानुपातिक सूचीमा नाम रहेका गोपालमान श्रेष्ठलाई राष्ट्रिय सभाको सांसद बनाउन नेतृत्व लागिरहेकोप्रति संकेत गर्दै इतरपक्षीय नेताले उम्मेदवार चयनमा नयाँ अवसर दिने गरी मापदण्ड बनाउन जोड दिएका हुन् ।
नेता गुरु घिमिरेका अनुसार बैठकमा आसन्न पार्टीको महासमिति, राष्ट्रिय सभाको निर्वाचन र आन्तरिक गुट व्यवस्थापनलाई केन्द्रमा राखेर छलफल भएको थियो । बैठक जारी रहेकाले ठोस रूपमा निर्णय नभए पनि राष्ट्रिय सभा निर्वाचनमा पराजित र समानुपातिक सूचीमा रहेका व्यक्तिलाई उम्मेदवार बनाउन नहुने गरी मापदण्ड तय गर्ने दिशामा नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालिएको छ । ‘२०४८ देखि निरन्तर मन्त्री भएका, बारम्बार अवसर पाएकालाई यस पटक लैजान हुन्न । अवसर नपाएकालाई अवसर दिनुपर्छ । प्रतिनिधिसभामा सूचीमा भएका वा चुनाव लडेकालाई पनि उम्मेदवार बनाइनु हुन्न,’ घिमिरेले भने, ‘बारम्बार अवसर पाए पनि कार्यसम्पादन खराब भएका तिनै व्यक्तिलाई घरि यो बाटो, घरि त्यो बाटोबाट ल्याउने काम बन्द गर्नुपर्छ भन्ने नै हाम्रो निष्कर्ष हो ।’
बैठकपछि नेता कोइरालाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनका लागि मापदण्ड बनाएर जानुपर्ने बताए । ‘जो बन्छ, पार्टीले तय गरेको मापदण्डका आधारमा संसदीय बोर्डले बन्छ,’ उनले भने, ‘पार्टीमा सुधार ल्याउनका लागि पनि हामी निरन्तर छलफलमा लाग्छौं ।’ महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका नपाएकालाई योग्यताका आधारमा राष्ट्रिय सभामा उम्मेदवार बनाउनुपर्ने बताए । ‘राष्ट्रिय सभाको जुन भावना छ, संविधानको जुन मर्म छ, यसअघि जो निर्वाचनमा जानुभएको छैन । यसका आधारमा योग्य र मौका नपाएकालाई उम्मेदवार बनाइनुपर्छ,’ थापाले भने, ‘यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि सभापति सिंगो कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न भन्ने हो ।’
बैठकमा सरकारको प्रभावकारिता र सुशासनको मुद्दालाई समेत संस्थापन इतरपक्षले मुद्दा बनाउने भएको छ । बैठकमा कतिपय नेताले भ्रष्टाचार कान्डको स्वेतपत्र जारी गरेरै सिंगो पार्टी तयार नभए इतरपक्ष जनताका बीचमा जानुपर्नेमा जोड दिएका थिए । आर्थिक अवस्था थप खराब हुँदै गएको, राजस्व संकलन लक्ष्यअनुसार नउठेको, भ्रष्टाचार थप वृद्धि हुँदै गएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना भएको थियो । ‘कांग्रेस आफैं सरकारमा हुने, एकपछि अर्को कान्ड आइराख्ने विषयलाई हामीले सामान्य रूपमा लिन हुन्न । यस विषयमा पार्टीभित्र संगठित रूपमा दबाब सिर्जना गर्नुपर्छ भन्नेबारेमा छलफल भएको छ,’ महामन्त्री थापाले भने, ‘भ्रष्टाचार कान्डका विरुद्धमा पार्टीभित्रै कसरी लड्ने, पार्टीलाई कसरी शुद्ध बनाउने भन्ने विषयमा आज प्रारम्भिक छलफल भएको छ । अर्को बैठकमा गहन छलफल गरेर एउटा निचोडमा पुग्छौं ।’
