काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका लागि निर्वाचन प्रकृया आजबाट सुरु हुने छ। शनिबार पहिलो निर्वाचन कार्यतालिका स्थगन गरी पुन आइतबारबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी जानकारी गराएपछि थप कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो। पार्टी निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आइतबार २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।
उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४ः१० बजेसम्मको समय दिइएको छ । आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ताका लागि ५ः३० बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ५ः४५ बजे प्रकाशन गरिनेछ ।
आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ । माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था गरिएको आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
