काठमाडौं, १८ पुस । हामीले कोरोना संक्रमणको दुई वटा लहरहरु भोगिसकेका छौं। पहिलो लहरमा भन्दा दोस्रोलहरमा कोरोनाको प्रभाव जबरजस्त परेको थियो। पहिलो लहरको तुलनामा दोस्रो लहरमा धेरै नेपालीले ज्यान गुमाउनु प¥यो।
गत असारपछि दोस्रो लहर कम हुँदै गयो। जनजीवन सामान्य बन्दै गएको अवस्थामा तेस्रो लहरको आशंकाले सबैलाई शशंकित बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कले नेपालमो कोरोनाको संक्रमण पुनः बढ्न लागेको हो कि भन्ने प्रश्न समेत जन्माउँछ।
भारतमा डेल्टा भाइरसको संक्रमण तीब्र हुन थालेपछि नेपालमा दोस्रो लहर आएको थियो। विज्ञहरुका अनुसार हरेक भाइरसले आफूलाई परिवर्तन गर्छ। भाइरस परिवर्तन भएपछि त्यसको प्रभाव पनि स्वभागिक परिवर्तित हुन्छ नै।
पछिल्लो केही महिनादेखि ओमिक्रोनले विश्वका धेरै देशहरुमा आतंक मच्चाइरहेको छ। हालसम्म नेपालमा दुई जनामामात्र देखिएको ओमिक्रोनले भने भारतमा पनि विस्तारै आफ्नो साम्राज्य विस्तार गरिरहेको छ।
खुल्ला सिमाना भएका कारण भारतमा बलियो उपस्थिति बनाएका कोरोनाका सबै स्वरुपहरु नेपालमा देखा परेका छन्। अहिले पनि भारतमा पछिल्लो दिन २२ हजार ७ सय ७५ नयाँ संक्रमित पहिचान भएका छन् । त्यसमध्ये १ हजार ४ सय ३१ जनामा ओमिक्रोन पुष्टि भएको छ।
‘कोरोनाको संक्रमणदर बढ्न थालेपछि तेस्रो लहरको नजिक पुगेको वा तेस्रो लहर आउन थालेको भन्न त सकिन्न,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, ‘हामी तयारी अवस्थामा रहने अवस्था आयो भन्न मिल्छ। पहिलाको परिस्थितिलाई मध्यनजर गर्दा खोपलाई बढावा दिनुको विकल्प देखेको छैन।’
खोप सबैलाईलाई लगाएपछि संक्रमण भए पनि मृत्युदर घट्ने डा. पुनको अनुमान छ। उनले संक्रमण भए पनि कोरोनाको खोप लगाएका व्यक्तिहरुमा जटिल समस्याहरु नआउने भएका कारण अस्पतालहरुमा हुने भीड पनि कम गर्न सकिने बताए।
सरकारको तथ्याङ्क अनुसार हालससम्म दुई करोड ४४ लाख २१ हजारबढी डोज खोप लगाइएको छ। जसमध्ये १ करोड ४० लाख ३६ हजारले पहिलोमात्राको खोप लगाएका छन् भने १ करोड ३ लाख ८४ हजार बढीलाई पूर्णमात्राको खोप दिइएको छ।
