• ट्रेण्डिङ्ग :
विशेषज्ञ सेवा दिँदै राप्ती आँखा अस्पताल

विशेषज्ञ सेवा दिँदै राप्ती आँखा अस्पताल


  • 6.4K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 9.8K Views

    विशेषज्ञ सेवा दिँदै राप्ती आँखा अस्पताल

    तुलसीपुर ११ पुस/ राप्ती आँखा अस्पताल रक्षाचौरले भौतिक संरचना निर्माणसंगै थप सेवा समेत पढाउँदै गएको छ । पहिले सामान्य चेकजाँच र सामान्य मोतिया बिन्दुको मात्रै शल्यक्रिया गर्ने अस्पतालले पछिल्लो समय आँखाको दृष्टी, आँखाको पर्दा, आँखाको क्यान्सर र आँखाको कस्मेटिक सम्बन्धि सर्जरीहरु आधुनिक मेसिनबाट दक्ष विशेषज्ञ डाक्टरसहित सेवा गर्दै आएको छ । त्यसका साथै बच्चाको आँखामा हुने समस्याको पनि सेवा दिदंै आएको छ । पहिले आँखाको मात्रै उपचार दिंदै आएको राप्ती तथा बहादुरजंग अन्तरगत रहेका तीन वटा आँखा अस्पतालहरु अहिले आँखासहित, नाक, कान र घाँटीको समेत सेवा विस्तार गरेको छ ।

    images

    अव ति अस्पतालहरुमा बेग्लै रिजल्ट आउँने गरि काम गरेर अगाडी बढाउने योजना रहेको अस्पतालका प्रमुख प्रशासक शम्शेर थापाले बताए । त्यसका साथै सल्यानको आँखा अस्पतालाई चाँडै सर्जिकल सेन्टरका रुपमा विकास गर्ने पनि बताए । दृष्टिका लागि सहकार्य भन्ने उदेश्यका साथ सबैसंग सहकार्य गरेर अगाडी बढ्ने थापाले बताए । राप्ती आँखा अस्पतालमा साविकको राप्ती अञ्चलका सबै जिल्लासहित कर्णाली प्रदेशबाट समेत विरामी उपचारको लागि आउँने गरेका छन् । जनवरी १ देखि नोभेम्बर सम्ममा अस्पतालले लक्ष्य अनुसार ८० प्रतिशत सेवा दिन सफल भएको छ भने एक महिनामा बाँकी सेवा पुरा गर्ने अस्पतालको योजना छ । आँखा अस्पताल स्थापना भएदेखि अहिलेसम्म ३६ लाख ७१ हजारलाई आँखा उपचारको सेवा दिएको थापाले बताए । जसमध्ये २ लाख २६ हजार बढीलाई आँखाको अप्रेशन गरेर नयाँ ज्योति दिएको छ । त्यस्तै निशुल्क शिविरबाट ५ लाख ४६ हजार बढीलाई अस्पतालले सेवा दिन सफल भएको छ । जसबाट ४३ हजार बढिको निशुल्क शल्यक्रिया भएको छ । 

    यसरी आँखा उपचारको क्षेत्रमा अस्पतालले अहम भूमिका खेलेको भएपनि पछिल्लो समय लुम्बिनी प्रदेशमा अन्धोपनका बिरामी बढेको पाइएको छ । राप्ती आँखा अस्पताल रक्षाचौरले दिएको जानकारी अनुसार साविक राप्ती अञ्चलमा मात्रै ०.८७ प्रतिशत अन्धोपनाका बिरामी थिए । पछि सन २०१० मा गरिएको एक सर्वेक्षणमा त्यो संख्या घटेर ०.१३ मा झरेको थियो । अस्पतालका प्रमुख प्रशासक थापाका अनुसार हाल लुम्बिनी प्रदेशमा अन्धोपनाका बिरामी बढेका छन । सन २०१९ मा गरिएको सर्वेक्षण अनुसार लुम्बिनी प्रदेशमा २।१ प्रतिशत अर्थात १ लाख ९५ हजार १ सय २० जना अन्धोपनाका बिरामी रहेका छन । यी मध्ये १ लाख १२ हजार ९ सय ६४ जना मोतिबिन्दुको कारणले अन्धोपन भएका बिरामी रहेको उनले बताए । थापाका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामध्ये रुपन्देही जिल्लामा २३ हजार ७ सय ८५ जना मोतिबिन्दुका बिरामी छन । यो सबैभन्दा धेरै संख्या हो । कपिलबस्तुमा १४ हजार ८ सय ७१ जना मोतिबिन्दुका बिरामी छन । यो मोतिबिन्दुका बिरामी भएको दोस्रो जिल्लामा पर्छ ।

    त्यस्तै दाङमा १४ हजार ४ सय २७, बाँकेमा १३ हजार ५ सय ४६, बर्दियामा १० हजार ६ सय ४१, नवलपरासीमा ८ हजार ३ सय २२, गुल्मीमा ५ हजार ५ सय ९१, पाल्पामा ५ हजा ४ सय ३५, प्युठानमा ५ हजार ३ सय ५०,रोल्पामा ५ हजार २ सय ४८,अर्घाखाँचीमा ४ हजार ४ सय ५८ मोतिबिन्दुका बिरामी रहेको प्रमुख प्रसासक थापाले बताए । उनका अनुसार रुकुममा १ हजार २ सय ९१ जना मोतिबिन्दुका बिरामी छन । यो प्रदेशको सबैभन्दा कम मोतिबिन्दुका बिरामी रहेको जिल्लामा परेको छ ।

    मोतिविन्दु, जलविन्दु र आँखाको पर्दामा देखिने समस्याका कारण अन्धोपनाका बिरामी बढेका हुन । जनचेतनाको कमीले गर्दा अझैपनि ४१ प्रतिशत आँखाका बिरामी उपचार गर्न जरुरी ठान्दैनन । त्यस्तै २० प्रतिशत आँखाका बिरामी उपचारको पहुँच बाहिर रहेका छन भने आर्थिक अवस्था कमजोर भएकै कारण ३६ प्रतिशत बिरामी उपचार लिनबाट बञ्चित रहेको थापाले जानकारी दिए । राप्ती आँखा अस्पतालले दृष्टिविहिनता न्यूनिकरणको लागि स्थानीय पालिकासगं साझदोरी कार्यक्रम,उपचारबाट निको नहुने न्यूनदृष्टि तथा दृष्टिविहिनहरुको पुर्नस्थापना कार्यक्रममा साझदोरी गर्दै आएको छ । 

    त्यस्तै अस्पतालमा हाल मोतिबिन्दुको नियमित रुपमा शल्यक्रिया,रेटिना,क्रोनिया,अक्लोप्लाष्टिक सेवा निरन्तर प्रदान गरिराखेको छ । अस्पातलले विभिन्न जिल्लाहरुमा पुगेर निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ भने  विद्यार्थी, र धामी झाक्रीहरुसगं पनि जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको प्रमुख प्रसासक थापाले बताए । नेपाल नेत्र ज्योती सघं,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पतालले बुधवार आयोजना गरेको  सामाजिक परिक्षण कार्यक्रममा थापाले अस्पातलले सन २०२३ मा गरेका सेवा तथा कार्यक्रमका बारेमा जानकारी गराएका हुन ।  

    उनका अनुसार नेपालमा दृष्टिविहिनताको अवस्था हेर्दा अझैपनि १ लाख ३० हजार व्यक्तीहरु दृष्टिविहिन छन । त्यस मध्ये ३० हजार २ सय ४० जना बच्चाहरु दृष्टिबिहिन छन भने ९० हजार बच्चाहरु न्युन दृष्टिबिहिन छन । नेपालमा ३० वर्ष भन्दा माथिका १ लाख व्यक्ति जलबिन्दुको समस्याबाट पिडित छन । अझैपनि २ लाख ३० हजार न्युनदृष्टिका व्यक्ति छन । त्यस्तै १ लाख व्यक्ति मधुमेहका विरामी छन । त्यस मध्येका २० हजार व्यक्ति मधुमेहका कारणबाट दृष्टिबिहिन रहेको थापाले बताए ।

    कार्यक्रममा अस्पतालका क्रनिया रोग बिषेशज्ञ डा। ज्योती सापकोटाले अस्पतालमा हालसम्म एक हजार बढीलाई क्रनियाको सेवा प्रदान गरिसकेको बताइन । त्यस मध्ये ८० भन्दा बढी बिरामीहरुको दृष्टि बचाउन आँखाको नानी प्रत्यारोपण गरेको उनले बताइन । उनले आँखा दान जिवन दान कार्यक्रमलाई गाउँगाउँसम्म पु¥याउन सके अन्धोपन न्युनीकरणमा सहयोग पुग्ने विस्वास व्यक्त गरिन ।

    कार्यक्रममा अस्पतालका अक्लोप्लाष्टिक सर्जन डाक्टर सुरेश रसाइलीले आँखाको विशिस्टीकृत सेवाको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरि सेवा थप गरिरहेको बताए ।  हाल अस्पतालमा नानी रोग, दृष्टि प्रर्धा, बच्चाको दृष्टि प्रर्धा जाँच लगाएका सेवाहरु प्रदान गरिरहेकोे जानकारी गराए । नेपाल नेत्र ज्योती सघं दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले अन्धोपन न्यूनीकरणमा नेपाल नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको भन्दै चर्चा गरे ।

    उनले राप्ती आँखा अस्पतालले दाङ सहित लुम्बिनी प्रदेशवासीकोे मन जितेर अन्य प्रदेशका बासिहरुले सिको गर्ने गरि आँखा उपचार सेवालाइ विषेशज्ञ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उज्यालो कार्यक्रमलाई पुर्ण रुपमा सफल पार्न आँखा अस्पतालसगं साझेदारी गर्दै आएको र त्यसलाई आगामी  दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । तुलसीपुरमा अधिकांश आँखा अस्पतालहरु दर्ता बिना नै सञ्चालन भइरहेको भन्दै उनले  आश्वयक ऐन कानुन बनाएर त्यसलाई नियमन गर्ने तयारीमा रहेको बताए ।

    कार्यक्रममा तुलसीपुरकी उपप्रमुख स्यानी चौधरी, वडा नं। ९ का वडाध्यक्ष घनश्याम ढकाल  पत्रकार लगाएतले धारणाहरु राखेका थिए । नेपाल नेत्र ज्योती सघंका सचिव धनश्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्का र रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।


    तेस्रो आँखा