भालुवाङ, १३ पुस । दाङको राप्ती गाउँपालिकाका शिक्षकहरूलाई आयुर्वेद तथा योगसम्बन्धी सीप सिकाउन थालिएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङको आयोजनामा विद्यालय शिक्षकहरूका लागि २ दिने आयुर्वेद तथा योग सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि राप्ती गाउँपालिकाको सभाहल मसुरियामा शुरू भएको हो ।
राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङका कार्यालय प्रमुख डा. मदनकुमार बीसीको अध्यक्षता एवं राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरू भएको हो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले स्वास्थ्यका लागि आयुर्वेद र योग अत्यन्त महत्वपूर्ण रहेकोले यस विषयमा शिक्षकहरूको माध्यमबाट विद्यार्थीहरूलाई ज्ञान दिन सकिने बताएकी छिन् । त्यस्तै, उनले समाजका हरेक नागरिकलाई स्वास्थ्य तथा निरोगी बनाउन पनि विद्यालय तहमा आयुर्वेद र योग जरूरी रहेको बताएकी थिइन् ।

आयुर्वेद विभागका वरिष्ठ कविराज निरीक्षक खिमराज रिजालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई दिनसम्म चल्ने कार्यक्रममा शिक्षकहरूलाई आयुर्वेदको परिचय, आहारविहार, योग, महत्वपूर्ण जडिबुटीको परिचय तथा प्रयोग, दिनचर्या तथा रातिचर्याका विषयमा सिकाइने बताइएको छ । कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज निरीक्षक डा. कैलाश न्यौपानेले गरेका थिए ।

