काठमाडौं, १९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्णमात्रा खोप लगाएका व्यक्तिहरुलाई थप एक मात्रा अतिरिक्त खोप दिने भएको छ।
कोरोनाको पूर्ण मात्र खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरुलाई पहिले लगाएकै प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने मन्त्रालयले सूचना जारी गर्दै जानकारी दिएको छ।
मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधनात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अङ्ग प्रत्यारोपण गरेका बिरामीहरु, एच.आई.भी. भएका बिरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु सेवन गरिरहेका बिरामीहरु र भेरोसेल वा सिनोफर्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथि उमेरका व्यक्तिहरुलाई थप मात्रा खोप दिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यी समुहमा पर्ने लक्षित व्यक्तिहरुले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा खोप लगाउन अनुरोधसमेत गरेको छ।
यो बुस्टर डोज नभई कमजोर रोेग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुलाई दिइने थप एक अतिरिक्त मात्रा खोप भएको मन्त्रालयले जनाएको छ।

