औषधी र चिकित्सा प्रणालीमा अहिले धेरै विकसित देशहरू खासगरी अमेरिकामा अरू चिकित्सा प्रणालीलाई बन्देज लगाउने स्वार्थी नीति र कानुन छ। अमेरिकाको एफडिए (FDA) ले अनुमति नदिएसम्म कानुनी रूपमा अमेरिकामा कुनै पनि औषधी कसैले बनाउन र बिक्री गर्न, सिफारिस गर्न पाउदैन। ब्यापारिक महास्वार्थका कारण अमेरिकामा अरू चिकित्सा प्रणालीलाई कुनै मान्यता पनि दिदैन र निरूत्साहित गरिन्छ।
युरोपमा अरू प्रणालीलाई पनि विस्तारै मान्यता दिईदै आएको छ। चीन, भारतमा परम्परागत चिकित्सा प्रणालीलाई मान्यता छ। भारतमा त आयुर्वेद, योग, युनानी, शिद्ध र होमियोप्याथी चिकित्सा प्रणालीको प्रवर्धन गर्ने अलग्गै 'आयुष मन्त्रालय' नै छ। नेपालमा पनि होमियोप्याथी, आयुर्वेद, योग र चिकित्सा प्रणालीलाई मान्यता दिइएको छ र यसको नियमनका लागि अलग अलग सरकारी परिषद छन् । त्यसका अस्पतालहरू पनि देशभरि खुलेका छन् । ६५ जिल्लामा आयुर्वेद चिकित्सालय छन्। हजारौं सरकारी निजी चिकित्सक सेवामा कार्यरत छन्।
तर जनतालाई परम्परागत चिकित्साबाट ध्यान मोड्दै महंगो र विषालू एलोप्याथी चिकित्सा प्रणालीको दादागिरी र हैकम नेपाल र भारतमा पनि चलाईने गरेको छ।
नेपालीले पश्चिमा हैन आफ्नै परम्परागत हजारौं वर्षदेखिको चिकित्सा प्रणालीबाट नै सस्तो स्वस्थ र दिर्घजीबी हुन सक्छ भन्ने बुझ्न जरूरी छ। पश्चिमा अमेरिका वा युरोपले के भन्छ त्यसमा घोत्लिनु बेकार हो। हाम्रा ऋषिमुनि, वैद्य र शास्त्रतिर घोत्लिनु नै हाम्रो हितमा छ।
स्मरण रहोस्, होमियोप्याथीका आविष्कारक एलोप्याथीका प्रसिद्ध चिकित्सक हैनिमेन हुन् जो जर्मन नागरिक थिए।
स्मरण रहोस्, बेलायतकी स्व महारानीका निजी चिकित्सकको टोलीमा होमियोप्याथीका चिकित्सक पनि थिए, अहिलेका महाराजको पनि छ।
नेपालले सस्तो सुलभ र समयाकुलको कम विषालू मौलिक चिकित्सा प्रणालीलाई महत्व दिनै पर्छ। रोग विज्ञान हैन आयोग्य विज्ञानमा जोड दिने आयुर्वेद र अन्य परम्परागत चिकित्सा जिवन प्रणालीको प्रवर्धन गर्नुपर्छ। हरेक घरमा सामान्य बिरामीमा आयुर्वेदिक घरेलु औषधी कसरी बनाउने र प्रयोग गर्ने ज्ञान दिनुपर्छ।
हामीले सेवन गर्ने पश्चिमा एलोप्याथिक औषधीहरूको अनुसंधानमा लाखौँ करोडौँ प्राणीहरूमा परीक्षण गर्दै चरम यातना दिदै औषधी बनेका हुन्छन् र त्यसरी बनाईएको महंगा औषधीहरूको सेवनबाट हुने साईड ईफेक्ट रोगहरूको औषधी बनाउदा पुनः अनुसंधानमा पुनः लाखौँ करोडौँ प्राणीहरूको दुःखदायी बलिदान गरिन्छ।
आयुर्वेद योग, सिद्धी, होमियोप्याथीमा कुनै प्राणीलाई परीक्षणको नाममा औषधी बिकास गर्ने नाममा यसरी यातना दिईदैन।
तर यति बुझेर पनि यही आयुर्वेदलाई निरूत्साहित गरिन्छ, र सबै चिकित्सा परदेशी औषधीउपचार विधिमा निर्भर हुन बाध्य पारिन्छ।
साढे ३ शताब्दी पूरानो हाम्रो आयुर्वेद प्रणालीको विगतमा औषधी निर्यात समेत गर्दै आएको सिंहदरबार वैद्यखानालाई अहिले गलत नीति अपनाई ब्रह्मनालमा सुताईदै छ। यसरी नै आफ्नो अस्तित्व र मौलिकता गुमाउदै आफ्नै ठाउँमा आफै बिरानो हुदै बन्दै जाने हो।
भारतमा मोदीको सरकार बनेदेखिनै आयुर्वेद, सिद्ध, योग, प्रकृति चिकित्सा, होमियोप्याथी चिकित्साका लागि छुट्टै आयुष मन्त्रालय खोलेको छ। विश्वभरि भारतीय आयुर्वेदका औषधीहरू निर्यात गर्दैछ र WHO को पनि मान्यता लिएको छ। बहुराष्ट्रिय पतन्जलीको हस्तक्षेपकारी विश्व बजारमा उपस्थिति छ।
पशु यातना बिरूद्ध अधिकारको रट र नारा लगाईन्छ तर शताब्दिदेखि चलिआएको पशुमैत्री हाम्रा चिकित्सा प्रणालीलाई भने निरूत्साहित गरिन्छ।
देशको पहिचान र अस्तित्व के हो खुट्याउने सोच नै भएन। सक्कल बमोजिमको नक्कल गर्दै नक्कली पहिचानका लागि दौडिन खोजेका छौं।
सयौं वर्षको गरिमामय पुरानो इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको सिंहदरबार वैद्यखानाले विगत ४ महिनादेखि औषधि उत्पादन गर्न बन्द गरेको छ। हो, यसरी देशको अस्तित्व र प्रभाव सोत्तर हुदै जाने हो।
(लेखक नेपाल सरकारको पूर्व सचिव एवं अहिलेका सर्वाधिक क्रियाशील सामाजिक अभियन्ता हुन् ।)
भिम उपाध्याय
