सविन प्रियासन
दाङमा २०१० सालमा नै तुलसीपुरको टरिगाउँ विमानस्थलमा विमान बसेको हो । तर दुःखका साथ भन्नुपर्छ ७० वर्ष बितिसक्दा समेत त्यहाँ बनेको एयरपोर्ट अलपत्र अवस्थामा छ । समयको विकासक्रमसँगै सुविधासम्पन्न एयरपोर्टहरु त्यो पनि चार वा सो भन्दा बढी इञ्जन भएको अनि सयौ यात्रुहरु चढ्नसक्ने विमानस्थल नेपालमा धेरै बनिसकेका छन् । समयको हिसाबले भन्नुपर्दा दाङको एयरपोर्टको अगाडि ती विमानस्थलहरु धेरै पछि शुरु भएका हुन् ।
दाङ सबै हिसाबले अब्बल जिल्ला हो । यहाँ एकसे एक नेताहरु सबै पार्टीमा हुनुहुन्छ । पटकपटक मन्त्री, मुख्यमन्त्रीदेखि अन्य विभिन्न जिम्मेवार तहमा जिल्लाका व्यक्तित्वहरु पुगिरहनु भएको छ । तर दाङमा अहिलेसम्म हट्न नसकेको भेगीय सोंचले जिल्लामा आवश्यक पर्ने संरचनाहरु अलपत्र अवस्थामा छन् । जिल्लाभित्र मित्रवत प्रतिष्पर्धा हुँदा सक्रियता र पहलकदमीका आधारमा जहाँ पनि सरंचना निर्माण हुनसक्छ । यसले कुनै न कुनैरुपमा जिल्लालाई लाभ गरिरहेको हुन्छ । तर जिल्लाकै अत्यावश्यक वस्तु जो एउटा भन्दा दुईवटा बनाउनै हुँदैन, त्यस्तो संरचना निर्माणको सवालमा पनि जिल्लाभित्र भेगीय राजनीति हावी हुन्छ भने यो भन्दा दुःखको कुरा अर्को हुनै सक्दैन । विगतदेखि अहिलेसम्म जिल्लामा नियमितरुपमा हवाई उडान हुने वातावरण निर्माण हुनसकेको छैन ।
दाङ जिल्लाको भूगोलको लडाइँमा खेलेर अन्य जिल्लाले ठूलाठूला एयरपोर्टहरु निर्माण गरिसके, जब दाङको कुरा आउँछ, अन्य जिल्लाका नेतादेखि उच्च पदमा बसेकाहरुले जिल्लामै एयरपोर्ट निर्माण गर्ने सवालमा एकता छैन भन्दै यहाँको लागि छुट्याउन सकिने बजेट अहिलेसम्म बाहिर गइरहेको छ । तसर्थ विगतमा कसले के ग¥यो ? को माथि आयो ? को पछाडि प¥यो भन्ने कुरालाई अब तिलाञ्जली दिएर एयरपोर्ट, कोइलाबास भन्सार, फोरलेन सडक, पश्चिम हापुरे–सुर्खेत सडक सुचारु गर्ने सवालमा अब साझा अवधारणा बनाउन कसैले पनि अर्घेलो थाप्नु हँुदैन ।
यतिबेला जिल्लामा एयरपोर्ट अनिवार्य जस्तै भइसकेको छ । कम्तिमा पनि ७२ सिटे विमान बस्ने एयरपोर्ट बनाउने सवालमा अब यहाँका दशवटै पालिका अनि सबै राजनीतिक दल, क्रियाशील सामाजिक संघसंस्थाहरुबीचमा साझा अबधारणा बनाउन जरुरी छ । यस प्रकारको अवधारणा निर्माण गर्न साझा निकायले नै सक्दछ । यही कुराको मनन गरी घोराही बनाऔं अभियानले जिल्ला समन्वय समितिलाई यहाँको विकास र एयरपोर्टको सन्दर्भमा साझा अवधारणा निर्माण गरी काठमाडौंलाई दबाब दिने किसिमले अगाडि बढ्न अनुरोधसहितको ज्ञापनपत्र बुझाएको छ । यो दाङकै लागि आवश्यक छ । अब यो विषयमा ढिलाई गर्नै हुँदैन । एयरपोर्ट निर्माण गर्ने सवालमा जिल्लाको साझा अवधारणा निर्माण गरेर जतिसक्यो चाँडो काठमाडौं जान सकिन्छ, त्यति चाँडै दाङको एयरपोर्ट निर्माणबाट नियमित हवाई उडान शुरु हुनेछ ।
सविन प्रियासन
