काठमाडौँ, २५ पुस/ अर्थमन्त्री डा प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन आमन्त्रण गर्नुभएको छ । साथै उहाँले ऊर्जा, पर्यटन र कृषिक्षेत्रमा लगानी गर्न उहाँहरुलाई आग्रह गर्नुभएको छ । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट–२०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री महतले उहाँहरुलाई सम्मेलनमा आमन्त्रण गर्नुभएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सम्मेलनलाई सम्बोधन गर्र्दै मन्त्री महतले भन्नुभयो, “नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्तालाई पनि निम्तो गर्छु । तपाईंहरुको इनोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ कोसेढुङ्गा खोल्नेछ भन्ने आशा गर्दछु ।”
अर्थमन्त्रीले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र सूचना प्रविधिमा लगानीको ठूलो अवसर रहेको बताउँदै स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैङ्किङ र वित्तीय सेवा जस्ता लगानीका अन्य सम्भावित क्षेत्र पनि रहेको जानकारी दिनुभयो । दिगो र समावेशी वृद्धिलाई प्रवद्र्धन गर्नका लागि व्यावसायिक सञ्जाल, ज्ञान आदानप्रदान र रणनीतिक साझेदारीका लागि यो विश्वव्यापी फोरम अब सबैका लागि एउटा फोरम भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २००३ मा परिकल्पना गर्नुभएको भाइब्रेन्ट गुजरात अवधारणाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “राष्ट्रव्यापी रूपमा अनुसरण भइरहेको भाइब्रेन्ट गुजरात विकास नमूना यो समयको आर्थिक, सामाजिक र वातावरणीय चुनौतीलाई सम्बोधन गर्न वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशका लागि प्रेरणाको स्रोत भएको छ ।”
“सन् २०१४ मा नेपालको संसद्मा मोदीजीले भन्नुभएको कुराको ताजा सम्झना छ”, मन्त्री डा महतले भन्नुभयो, “विशेषगरी, तपाईंले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन । हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउनसँगै काम गरिरहेका छौँ भन्ने कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ ।”
