• ट्रेण्डिङ्ग :
स्वास्थ्य सेवाका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता

स्वास्थ्य सेवाका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता


  • 3.4K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.2K Views

    स्वास्थ्य सेवाका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता

    बाँके, २६ पुस / बाँकेको नरैनापुर गाउँपालिकावासीलाई अहिले पनि गुणस्तरीय स्वास्थ्य सेवाका लागि सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । जिल्लाको विकट क्षेत्रका रूपमा रहेको नरैनापुर गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक उपकरणको व्यवस्था हुन नसक्दा जनताले स्थानीय तहमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

    images

    नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरू लागिपरे पनि आवश्यक उपकरण खरिद गर्न आर्थिक अभाव भएकाले चाहेजति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको बताउनुभयो । “नरैनापुरमा कुनै प्रकारको आन्तरिक स्रोत नरहेकाले पनि आर्थिक समस्या भएको छ”, उहाँले भन्नुभयो, “जनतालाई गाउँपालिकामै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश र सङ्घीय सरकारसँग बजेटको माग गरेका छौँ ।”

    बाँकेको राप्ती नदीपारि भारतसँग जोडिएको नरैनापुर गाउँपालिकावासी जनता अहिले पनि स्वास्थ्य परीक्षणका लागि भारतीय सहर वा ४६ किलोमिटरको दूरीमा रहेको सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको नरैनापुर–६ का सोहनलाल यादवले बताउनुभयो । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा संयोजक नगेन्द्रकमार शाहले नरैनापुरमा ४६ हजार दुई सय जनसङ्ख्या रहेकामा यो आर्थिक वर्षमा छ सय ६६ जना सुत्केरी र एक हजार दुई सय १५ गर्भवती रहेको जानकारी दिनुभयोे । उहाँका अनुसार नरैनापुरमा अहिले एउटा प्राथमिक स्वास्थ्य केन्द्र र छ वडामा प्रसूतिगृहसहितका स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । 
    यसैबीच बुधवार नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गर्न पुग्नुभएका लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिता दिएको बताउनुभएको छ । उहाँले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै उहाँले निर्माणाधीन अस्पतालका लागि रु ५० लाख बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


    तेस्रो आँखा