उखुको समर्थन मूल्य तोकियो,प्रतिक्विन्टल ५९०

उखुको समर्थन मूल्य तोकियो,प्रतिक्विन्टल ५९०


  • 9.0K
    SHARES
    • पौष २२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    उखुको समर्थन मूल्य तोकियो,प्रतिक्विन्टल ५९०

    काठमाडौं, २२ पुस । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मूल्य निर्धारण गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिए । 

    images

    यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ हो जसमा उखुको न्यूनतम लागत ३८२ रुपियाँ, ढुवानी खर्च ६२ रुपियाँ तथा मुनाफा ७६ रुपियाँ हिसाब गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि किसान तथा चिनी उद्योगीसँग पटकपटक छलफल गरेको थियो । सो छलफलमा उद्योगीले उखुको मूल्य प्रतिक्विन्टल ५८० रुपियाँ र किसानले ६५० रुपियाँ गर्नुपर्ने प्रस्ताव गरेका थिए । दुवैको प्रस्तावलाई अध्ययन गरी कृषि मन्त्रालयले मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाएको थियो ।

    उद्योग मन्त्रालयले मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेपछि त्यहाँ छलफल भई सो मूल्य निर्धारण भएको मन्त्री यादवले बताए । सरकारले गत वर्ष मङ्सिर २८ गते उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा निर्धारण गरेको थियो । त्यसमा किसान सन्तुष्ट थिएनन् । यसपटक पनि सरकारले गरेको मूल्य निर्धारणमा किसानले असन्तुष्टि जनाएका छन् ।  

    गत वर्ष उखुको न्यूनतम लागत ३८६ रुपियाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपियाँ ८९ पैसासहित कुल ४७९ रुपियाँ दुई पैसा तोकिएको थियो । त्यसमा सरकारले प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने गरेको थियो । सरकारले यसपटक अनुदान रकममा पनि वृद्धि गरेको छ ।

    नेपालका करिब १८ वटा जिल्लामा उखु खेती हुन्छ । त्यसमध्ये सबैभन्दा बढी सर्लाही जिल्लामा हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । सर्लाहीमा मात्र २२ हजार हेक्टरमा ११ लाख क्विन्टलभन्दा बढी उखु उत्पादन हुन्छ । सबैभन्दा कम झापामा करिब आठ हजार मेट्रिक टन मात्र उत्पादन हुने गर्छ । राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम बाराका अनुसार नेपालमा ३३ जातको उखु उत्पादन हुन्छ । 

     

  • सम्बन्धित विषय:

  • # उखु

  • तेस्रो आँखा
    लेखकबाट थप