काठमाडौं २७ पुस/ चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्रि गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको हो ।
दुध उत्पादन गर्ने चितवनका ४० हजारभन्दा बढी किसानले करिब २२ करोड भुक्तानी लिनुपर्ने छ । दुग्ध उद्योगहरूलाई उधारोमा दुध बेच्न बाध्य भएका किसानले भदौदेखिको भुक्तानी नपाएका हुन् । किसानले दुग्ध सहकारीमा दुध बेच्ने गरेका छन् । किसानबाट सङ्कलित दुध सहकारीहरूले उद्योगलाई बिक्रि गर्दै आएका छन् । उद्योगबाट भुक्तानी आए किसानले दुधको पैसा पाउँछन्, नत्र पाउँदैनन् । अहिले पाँच महिनादेखिको किसानको दुधको भुक्तानी उद्योगले सहकारीमा पठाएका छैनन् ।
सङ्घका अध्यक्ष बगाले किसानको समस्या सुन्ने सरकार नभएकाले समस्या भएको बताउनुभयो । बाँकी पैसा नभएपछि सम्बन्धित निकायसमक्ष विभिन्न पाँचबुँदे मागसमेत राखेको उहाँले बताउनुभयो । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बिमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्नेलगायतका छन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासीन बनेको गुनासो गर्नुभयो । आत्मनिर्भर उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको उहाँले गुनासो गर्नुभयो ।
चितवनमा १५५ वटा दुग्ध सहकारी जिल्ला प्रशासन कार्यालयमा दर्ता छन् । जिल्ला दुग्ध सहकारी सङ्घमा ११२ वटा सहकारी आबद्ध छन् । दुग्ध व्यावसायिक फर्महरू चितवनमा एक सय वटा छन् । चितवनमा हिउँदमा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ ।
चितवनबाट डिडिसीलगायत ३१ वटा उद्योगमा एक लाख ५१ हजार लिटर दुध जान्छ । चितवनबाट डिडिसीमा मात्र ३५ हजार लिटर दुध जान्छ । किसानले दुधको चार फ्याट र आठ एसएनएफ आए प्रतिलिटर ६५ रुपियाँ पाउँछन् ।
