तेस्रो आँखा
दाङ,पुस २४ । लुम्बिनी प्रदेशमा आगामी माघ दोस्रो हप्ता सम्म कोरोना संक्रमण दर उच्च हुने प्रदेश स्वास्थ्य मन्त्रालयले आँकलन गरेको छ । माघको दोस्रो हप्ता सम्म संक्रमण दर उच्च हुने सम्भावना रहेको भन्दै मन्त्रालयले आमनागरिकलाई सचेत रहन पनि आग्रह गरेको छ ।
प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरीले हालको प्रदेशमा देखिएको संक्रमणको अवस्था र पहिलो र दोस्रो चरणको संक्रमणलाई बिश्लेषण गर्दा कोरोनाको संक्रमण दर माघ दोस्रो साता सम्म उच्च हुने देखिएको बताए ।
‘पहिलो र दोस्रो चरणको संक्रमणको बिश्लेषण तथा अहिलेको संक्रमणलाई बिज्ञहरुले बिश्लेषण गर्दा माघको दोस्रो साता सम्म संक्रमण दर उच्च हुने सम्भावना देखिएको छ,’ मन्त्री चौधरीले भने ‘अहिले हामी सबै सचेत भएर बस्नु पर्ने अवस्था आएको छ ।’
उनका अनुसार अहिले कोरोनाको संक्रमण प्रदेशमा भयावहको अवस्था भने छैन । ‘पुसको अन्तिम साता सम्म त्यति धेरै कठिन हुने अवस्था देखिन्न,’ मन्त्री चौधरीले भने । उनका अनुसार पुस अन्तिम साता सम्म प्रदेशमा लकडाउन वा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था नरहने तर माघ दोस्रो हप्ता देखि भने लकडाउन वा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ ।
‘पुस अन्तिम सम्म लकडाउन वा निषेधाज्ञा जारी गर्नु पर्ने अवस्था छैन,’ मन्त्री चौधरीले भने ‘तर माघको दोस्रो हप्ता सम्म संक्रमणदर बढ्ने देखिएकाले त्यसपछि के गर्ने भन्ने निर्णय त्यहि बेलै गरिने छ ।’
उनले कोरोना संक्रमणको जोखिम भारतको संक्रमण नै भएको भन्दै भारतसंगको आउजाउमा कडाई गरिएको पनि बताए ।
