कठै मेरो रोल्पा

कठै मेरो रोल्पा


  • 42.0K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 64.6K Views

    कठै मेरो रोल्पा

    सूर्य घर्तीमगर

    images

    हाम्रो रोल्पा र हामी रोल्पालीले आफैमा एउटा इतिहास र गौरव बोकेका छौं । कैयौ वीरताको गाँठो फोरेर अगाडि बढेको रोल्पा । धेरै वीर गोर्खाली र देशभक्त सिपाहीहरु जन्माएको रोल्पा । १० बर्षे महान जनयुद्धको क्रममा ध्वस्त÷अस्तब्यस्त र जलेको रोल्पा ।

    बृहत् शान्ति प्रक्रियापछि जलेको बस्ती र लागेको घाउमा मलमपट्टि खोज्दै हिडेको रोल्पा अनि प्रथम संविधानसभाको चुनावमा देशको सुन्दर भविष्यवाणी र अग्रगामी छलाङको कामना गर्दै आफ्नो मन परेको उम्मेदवारलाइ अत्यधिक मतले विजय गराएर केन्द्रमा पठाएको रोल्पा । तर विडम्बना ! आज खोइ के पायो रोल्पाले र के पायौं हामी रोल्पालीले ? 

    हो । हामी सबैलाई सहयोग गर्न र सद्भाव राख्न जानेका छौं । २०५१ सालतिर प्रचण्ड, बाबुराम, किरण, बादलजस्ता नेताहरुलाई राज्यले चरम दमन गरेर वनवास पठाएको बेलामा हामीले बास दियौं । सहरा दियौं । हाम्रो छोराछोरी दियौं । दाजुभाइ अनि दिदीबहिनी दियौं र कम्तिमा ११ सयको हाराहारीमा उनीहरुको खोक्रो क्रान्तिका लागि बलिदान र शहादत दियौं । तर आज बदलामा ११ सय सहिद, युद्धको क्रममा अङ्गभङ्ग भएका घाइते र बेपत्ता परिवारको चोट, पीडा, दुःख र आँशुभन्दा अरु केही पाएन रोल्पाले । 

    सपनाहरु मौलाउन नपाउँदै टुटेका छन् र आशाहरु मरेका छन् । महान जनयुद्धले सबैको होइन केही मुठ्ठीभरिका सीमित ब्यक्तिहरुको जीवनस्तर फेरिएको छ । महलमा रमाएका छन् उनीहरु तर बहुसंख्यक जनता पीडा र आँशुमा द्वन्द्वको घाउ कोट्याउँदै बसेका छन् । यही दृष्यले आज मेरो मन रोएको छ । हृदय छियाछिया भएको छ । कठोर भावना र विचारहरुमा खलबली मच्चिएको छ । 

    देशको हालत दिनानुदिन खस्किँदै गएको छ । रोजगारीको लागि विदेश जान पाऊँ भन्ने युवाहरु मारिनु परेको छ । जनताको आयु छोटिदै गएको छ । नेता तथा कार्यकर्ताहरुको आयु लम्बिएको छ भने जीवनस्तर फेरिएको छ । यही पीडाको माझबाट पनि केही बिहानी किरणको झिल्को देख्ने रोल्पालीले भने अझै हरेश खाएको छैनौं । 

    हाम्रो रोल्पाली सन्तान (नन्दबहादुर पुन) राष्ट्रको दोस्रो ठूलो उच्च ओहदामा निर्वाचित हुनुभएको थियो । हामीले उहाँबाट केही आशा राख्नु त स्वाभाविक नै हो तर उहाँ कुनै चलायमान मन्त्री नभएर सिङ्गो देश र सबै देशवासीको उपराष्ट्रपति हुनुहुन्थ्यो । त्यसैले हामी उहाँसँग आवश्यकता भन्दा बढी आशा, अपेक्षा र धेरै विकास आयोजनाको माग गरेनौ । कतै हाम्रा नाजायज मागहरुले उहाँलाई अप्ठ्यारो तथा उहाँको गरिमामाथि ठेस लाग्न सक्छ । हामी रोल्पालीले धेरै आशा गर्ने ठाउँ थियो, समय थियो, जब कृष्णबहादुर महरा, बर्षमान पुन र ओनसरी घर्ती जस्ता चर्चित मन्त्रीहरू मन्त्रालयमा थिए । तर विडम्बना ! उहाँहरुको दुरबिनले मन्त्रालयबाट ठूलाठूला गाडी, सुन, करोडौंको महल र आफन्तलाई मात्रै देख्यो र ती चीजहरुलाई आफ्नो बनाउन नै व्यस्त रहेको अनुभूति हुन्छ । 

    त्यो दुरविनबाट रोल्पा त्यति देखिएन । गरिव र निम्नवर्गका रोल्पाली देखिएनन् । शायद उहाँहरुलाइ त्यो उचाइमा पुराउने नै ती चीजहरु रहेछन् रोल्पाली र नेपाली जनता नभएर । अब हामी इमानदार र सोझो रोल्पालीले कोही नेताले या पार्टीले केही गरिदिन्छ कि भन्ने आशा मारे हुन्छ । आजकाल नयाँ उदीयमान पार्टीहरु पनि कतै उही जोगी त हैनन् ? किनकि यहाँ राजनीतिको प्रचलन नै यस्तै भइरहेको छ । बलेको आगो ताप्न त सबै आउँछन् र जाडो भागेपछि अगेना बिर्सिएर हिड्छन् । नदी पार गर्नको लागि हामीलाई लठ्ठी बनाउँछन् र नदी पार गरेपछि हामीलाई बिर्सन्छन् । हो, हामी यस्तै भएका छौं घृणित अगेना अनि नदी पार गरेपछिको लौरो । कठै मेरो रोल्पा ! योगदान र बलिदान गर्न जान्ने तर बलिदानीपूर्ण इतिहासबाट प्राप्त फल लिन नजान्ने !

    परिवर्तन गाउँपालिका– २ राङ्सी, रोल्पा 
    हाल : मलेसिया ।

  • सम्बन्धित विषय:

  • # रोल्पा

  • तेस्रो आँखा