वैदिक सनातनमा कर्मको सिद्धान्त र कर्मवाद

वैदिक सनातनमा कर्मको सिद्धान्त र कर्मवाद


  • 14.0K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 21.5K Views

    वैदिक सनातनमा कर्मको सिद्धान्त र कर्मवाद

    मलाई कर्मवादमा पूर्ण विश्वास छ, फिजिक्सले पनि यही भन्छ। जे काम गरिन्छ त्यही बमोजिमको नतिजा आउछ। कर्म भनेको ठ्याक्कै यही हो मानवजीवनमा। कोही बिग्रेको घरपरिवारमा, कोही खराब समाजमा जन्मनु, कोहीको बोलीवचन नै फोहरी हुनु, ककसैको काम नै अपराधिक हुनु, मतिभ्रष्ट, धर्मच्यूत, हत्यारा वा परिवारनै बिखण्डन, बियोग वा बदनाम भएको हुनु भनेको कर्मको नतिजा नै हो। यो कर्म हाम्रो शरीरका कोष र स्मृतिमा संचित हुन्छ, ब्यक्तिले अकारण कष्ट किन भोगिरहेको छु भन्ने पत्तो नै पाउदैन। मानिस यो जुनिमा राम्रो काम गरेकै छु, कसैलाई नराम्रो गरेको छैन तर पनि मलाई नै किन पीडा भयो भनेर अचम्भित हुन सक्छन्। 

    images

    मान्छेले कर्महरू सचेत, अचेत वा अवचेत, अर्धचेतमा गरेको हुनसक्छ। सचेतमा मात्र राम्रो गर्दैमा पुग्दैन, अचेतमा पनि राम्रो गरेको हुनुपर्छ। एक्सन एक्सन नै हो, यसको असर हुन्छ हुन्छ त्यो काम चाहे चेतमा गरिएको होस् वा अचेतमा । यति मात्र हैन पूर्वजन्ममा गरेको कर्मको भोग पनि यो जुनिमा सरेर भोग्न पर्छ। शरीर उही नभए पनि त्यो सबै भोगको स्मरण जीवन उर्जामा संचित भएको हुन्छ। 

    वैदिक शास्त्रानुसार मानिसले वर्तमान जीवन पाउनु नै कर्मबाट मुक्तिका लागि योग साधना गर्नका लागि हो। त्यसैले जे यो जुनिमा गरिन्छ सचेत भएर गर्नुपर्छ। कसैले अचेतमा गरेको हो भनेर कर्मले छुट दिदैन। मन, वचन र कामले नै मानिस शुद्ध हुनुपर्छ, भौतिक कामले मात्र शुद्ध भएर पुग्दैन। सनातन धर्ममा कर्मको सिद्धान्त यही हो। तपाईको वर्तमान अवस्था हुनु तपाईकै कर्म हो।

    सबै मानिसले आफ्नो कर्मको फल भोग्नैपर्छ। समाजमा कोही अकारण नै लखेटिएको देखिन्छ भने त्यो पनि उसकै कर्मको फल हो। कर्म भोगबाट देउताहरूले पनि उन्मुक्ति पाएका हुदैनन् । कर्मको नतिजा भोगेर मुक्ति लिन देउताहरू पनि मानव जिवनको चोला पाउन लालायीत भएका हुन्छन्।

    साथीहरू मलाई सोध्छन्- किन कसैले कसैमाथि बारम्बार ढुंगा बर्साइरहन्छन्। 

    मैले भन्छु- तपाईंले यो जुनिमा वा पूर्वजुनिमा मन, वचन वा काममा पक्कै अरूलाई खुब ईटा बर्साएको होला। जुन चेतनमा हुदैन। 

    सृष्टिमा बिना कारण केही पनि भएको हुदैन। तर मूल कारण पत्ता लगाएर पनि के गर्नु यदि कर्म सही भएन भने।

    (लेखक नेपाल सरकारको पूर्व सचिव एवं अहिलेका सर्वाधिक क्रियाशील सामाजिक अभियन्ता हुन् ।)


    भिम उपाध्याय
    लेखकबाट थप