काठमाडौँ । जहाज खरिद तथा व्यवस्थापनमा यसअघि नै ४८ अर्ब रुपैयाँ हाराहारी ऋणमा रहेको नेपाल वायुसेवा निगमले थप १३५ अर्ब (१ खर्ब ३५ अर्ब रुपैयाँ ) ऋण लिने तयारी गरेको छ । निगमले पुरानो ऋणको साँवा–ब्याज भुक्तानी गर्दै नयाँ जहाज खरिद तथा सञ्चालनका लागि १ सय ३५ अर्ब रुपैयाँ सफ्ट लोन (सस्तो ब्याजदरमा कर्जा) लिन लागिएको जनाएको हो ।
यसअघि वायुसेवा निगमले नेपाल सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो । कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ ऋण लिएको निगमले नागरिक लगानी कोषसँग १२ अर्ब रुपैयाँ ऋण लिएको थियो । उक्त ऋणबाट निगमले वाइड–बडी, न्यारो–बडीसहित चिनियाँ जहाज खरिद गरेको थियो ।
समयमा नै भुक्तान गर्न नसक्दा उक्त ऋणको सावाँ ब्याज गरी हाल ४८ अर्ब रुपैयाँ पुगिसकेको छ । तर, पछिल्लो पटक निगम सञ्चालक समितिले सोही ऋणलाई देखाएर सस्तो ब्याजदरको ऋण लिएर महँगो ऋण भुक्तानी गर्ने भन्दै १ सय ३५ अर्ब रुपैयाँ ऋण लिने प्रस्ताव अघि सारेको छ ।
यतिमात्र होइन निगम सञ्चालक समितिले तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक समेतको स्वीकृति देखाएर ऋण मागका लागि अन्तर्राष्ट्रिय आशयपत्र (ईओआई) समेत आह्वान गरिसकेको छ ।
‘नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए–३२० र ए–३३० जहाजहरू खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदरभन्दा कम ब्याजदरमा ऋण लिई ब्याज खर्चको भार कम गर्ने उद्देश्यले लोन स्वाप (ऋण मिलान) गर्नको लागि निगम व्यवस्थापनबाट पेश भएको प्रतिवेदन अनुसार सफ्ट लोन लिनको लागि सैद्धान्तिक सहमतिको लागि निगम सञ्चालक समितिका अध्यक्ष श्री युवराज अधिकारीको अध्यक्षतामा मिति २०८०÷०२÷२५ मा बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकार समक्ष पेश गर्ने निर्णय भए बमोजिम श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक सँग आवश्यक समन्वय गरी प्राप्त निर्देशन अनुसार मिति २०८०÷१०÷०४ को निगम सञ्चालक समितिको निर्णय बमोजिम १३५ अर्ब सफ्ट लोन प्राप्तिका लागि मिति २३ जनवरी, २०२४ मा अन्तर्राष्ट्रिय आशयपत्र (ईओआई) आह्वान गरिएको छ,’ निगमले जारी विज्ञप्तिमा भनिएको छ ।
