सनातनी हिन्दू धर्म संकटमा पर्दै गएको छैन। सनातनी हिन्दू धर्म पद्दतीका अनेक नयॉ नयॉ पन्थहरू विश्वमा तिब्र रफ्तारमा विस्तार हुदैछन्। यस विपरित ईसाई धर्म मान्ने बिकसित देशहरूमा त्यसको संख्या निरन्तर घट्दै गएको छ।
विश्वमा हिन्दू संकटमा छैन, बरू कतै नेपालमा अरू अल्पसंख्यक धर्मावलम्बीहरू वा पन्थहरू संकटमा पर्न नपाओस् भन्ने चिन्ता भने गर्नुपर्छ। जुन दिन हिन्दूहरूलाई दृढता साथ हिन्दू पद्दति संकटमा पर्यो है भन्ने लाग्नेछ, त्यसपछि महासंकटमा यहॉका अरू धर्मावलम्बीहरू फस्न सक्छन्।
आजसम्म नेपालमा अरू धर्म र पन्थहरू पूर्ण रक्षित एवं सुरक्षित हुनुको मूल कारण नै यहॉ हिन्दूमा हामी सुरक्षित छौं भन्ने लागेर नै हो। अरूको सुरक्षा पनि चट्टानी मजबुत हिन्दूले नै गरिदिएकाले हो। त्यसैले हिन्दू पद्दतीलाई सुरक्षित गराउदै लगेमा अरू धर्ममा कुनै संकट हुदैन भन्ने भावना जगाएर आफू सुरक्षित हुनेमा अरू धर्मावलम्बीहरूले पनि लाग्नु बुद्धिमानी हुन्छ। जनजातिका धर्महरू अहिले बढी जोखिममा रहेका पाईन्छन्। एकपटक धर्मच्यूत भएपछि यसको पुनर्स्थापना असंभव हुन पुग्छ।
अहिले भारतमा किन सनातनी हिन्दुबादी राजनीतिक दल बिजेपीको दह्रो उदय हुन गयो ? अयोध्याको राममन्दिर र काश्मिरमा किन के कसरी भयो? कसको चाहनाले त्यस्तो भयो?
नेपालमा कहिल्यै कुनै पनि धर्मावलम्बीहरू संकटमा थिएनन्। तर अहिले केही खराब तत्वहरू यसलाई राजनीतिक रंग दिएर समाज भॉड्न चाहेका देखिन्छन्। सामाजिक, धार्मिक सद्भाव नेपाली समाजको अनुपम चरित्र हो। त्यसैले जस्तो सुकै राजनीतिक ब्यवस्था आओस् कि जाओस् नेपाली समाजमा कुनै ऑच आएको देखिदैन। मै हुँ भन्ने धर्म नमान्नेहरू पनि पलेटी मारेर समाजमा समाहित हुदै पुजामा बस्न बाध्य हुन्छन्।
मध्यपूर्वमा अब्राहमकै सन्तान ईसाई, मुसलमान र यहुदी अहिलेबाट हैन हजारौँ वर्षदेखि लड्दै आएका छन्। तिनले अरूको भूभागमा आर्थिक लुट र धार्मिक विध्वंश गरिरहे। लड्नु यिनीहरूको लक्ष र नियति हुदै थियो र अहिले पनि छ।
तर, यता सनातनी हिन्दुका सन्तान बुद्धिष्ट, जैन, शिखहरू कसैकोमा गएर कहिल्यै आपसमा लडेनन्, आआफ्ना कला, संस्कृति अंकित सुन्दर मन्दिरहरू बनाए। एक अर्काकोमा पुज्न जान्छन्। जहॉ गए शान्ति दूत बनेर गए। प्रेम, शान्ति, दया, करूणा, प्रकृतिको संरक्षण सुखी स्वस्थ जीवन जिउने पद्दति प्रचार गरे। कसैसंग लड्नु भिड्नु छैन। सबै मेरा हुन्, सबै ईश्वरका सन्तान हुन्, बसुधैव कुटुम्वकम्, सर्वे भवन्तु सुखिनः असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्युर्मा अमृतगमय भन्छन्।
सनातनीहरूले हतियारको बलमा हैन आत्म ज्ञानबाट रूपान्तरण हुन्छ भन्ने शिक्षा दिदै गए। कसैको आस्था हतियारको डर देखाएर वा धनको लोभ लालच दिएर परिवर्तन गरेनन्। सनातनी समाजमा त्यसैले बुद्ध जन्मिए, महावीर जन्मिए, गुरू नानक जन्मिए, कबिर जन्मिए, गान्धी जन्मिए। अनेक रिमिक्स पन्थहरू जन्मिदै छन्। यी सबै शान्तिका दूत हुन्।
पश्चिममा धामधम चर्चहरू खाली हुदैछन्, बन्द हुदैछन्, बेचिदै छन्, अन्य सनातनी पन्थहरूले तिनलाई किनेर मन्दिर, आश्रम, योगा सेन्टर बनाउदैछन्। आइतबार एक दिन खुल्ने चर्च पनि अब चल्न छोडेका छन्। तिनको ठाउँमा भारतीय योगी बाबाहरूका नामका नयॉ नयॉ भब्य आश्रमहरू, योग ध्यान सेन्टरहरू खोलिदै छन्। विश्वमै भारतपछि अमेरिका, क्यानाडा, अष्ट्रेलिया, बेलायतमा सबैभन्दा धेरै मन्दिर बनेका छन्।
नेपालमा ईसाइ मण्डलीका नाममा टोलटोलमा टहरोहरू बनाइदैछ, त्यसलाई चर्च भनिदैछ। चर्च भनेको त सुन्दर वास्तुका दृष्टिले कलात्मक मनमोहक देखिने हुन्छन्। पसौपसौँ लाग्ने, ध्यान प्रार्थना गरौँगरौँ भन्ने खालमा हुन्छन्। म त राम्रो चर्च देखेँ भने भित्र दर्शन गर्न जाने गर्छु बिदेशतिर पुग्दा। त्यता चर्च बडो मनमोहक हुन्छन्।
धार्मिक स्थहरू पुग्दा शान्ति महसुस हुन्छ, मिजासिला हुन्छन्, शान्ति सिकाउछन्, बिनम्र हुन्छन्। नेपालमा खासै राम्रा चर्च कतै देखिदैनन्। नेपालका कथित ईसाईहरू धतुरेजस्ता देखिन्छन्, तिनलाई काटमार, गालीगलौच, अपशब्द बाहेक कुनै असल कुरा गिदीमा नै नआउने जस्ता देखिन्छन्, अन्ध बिश्वास सिकाउछन्, ईसाईका नामका कलंक जति नेपालमा शरण लिएका जस्ता देखिन्छन्। यस्ता पनि कहीँ धर्म र धार्मिकता हुन्छ? धर्म भनेको त मुलिजुली बस्ने, असल स्वभावको पो हुने हो। असल बन्न पो सिकाउने हो।
नेपालका कथित चैते चर्चहरू यस्तै समुदाय र समाजलाई भॉड्ने, अन्य धर्म जात र समुदायसंग झगडा गर्ने, गर्न लगाउने, अरूको सम्मान नगर्ने, सामाजिक अपराध गर्न उक्साउने, जातजातिका नाममा गालीगलौच गर्ने र गर्न सिकाउने पाटी पौवामा मात्रै हुन् । त्यसैले कसैको सम्मान पाउदैनन्, हेयका दृष्टिले हेरिन्छन्, एउटा नयॉ जात बन्दैछन्, र झन झन दुत्कारिदै छन्। तिनले धर्म अफिम हो भन्ने यता पनि प्रमाणित गर्दैछन्। अफिम भनेको कस्तो हुन्छ नजान्ने को होला र? नखाए पनि। मार्क्सले यस्तै ईसाइहरूको बेहोरा देखेर धर्म अफिम हो भनेका थिए, हो रहेछ भनेर अहिले नेपालीले पनि बुझ्दैछन्। धर्मलाई अफिम भन्ने मार्क्सका नेपालका चेलाहरूले नै यिनलाई उचालीरहेका छन्, धर्म निरपेक्षताको अपब्याख्या घुटुघुटु पिलाउदै, सिकाउदै ।
हिन्दु सनातन धर्म त अमृत हो जसले जीवनलाई निरन्तर पोषण गरिरहेको हुन्छ। यसैले विश्वभरि फैलिदैछ। चेतना कन्ससनेसको जागरण गर्दैछ। सर्वे भवन्तु सुखिन र बसुधैब कुटुम्वकमको भावना विश्वभरि प्रशारण गर्दैछ, फैलाउदै गर्दैछ। अबको युग सनातनी हिन्दुको पुनर्जागरण हो, जसले विश्वभरि सबैलाई मनले नै आकर्षित गरिरहेको छ। हिन्दु सनातनीले विश्वको आध्यात्मिक नेतृत्व गर्दैछ।
इतिहासभरि सनातनी हिन्दुहरू अरू कुनै धर्ममाथि आक्रमण गर्न गएनन्, अरूको धर्मको बिरोध गरेनन्। युरोप, अमेरिका अरब मुलुकमा पुगेर लडेनन्, अतिक्रमण गरेनन्। अरू धर्ममाथि हतियार उठाएनन्। आफ्नै मुलुकमा नै बसे। परायाहरूको सम्पत्ति लुट्नका लागि आक्रमण गरेनन्। अरू सबै सनातन धर्म मास्न बाहिरबाट अतिक्रमण गर्न आए। तर पनि नेपालमा अरूहरू सबै किन सनातनी हिन्दुहरूको बिरोध गर्नमा नै ठसठस कन्छन्? जसले अरूलाई कुनै हानी पुऱ्याएन उसको हानी पुऱ्याउन अरू किन उद्दत हुन्छन्? विश्वभरि सबै धर्मका राज्य धर्म मानेका देश छन् तर हिन्दु राज्यको कुनै पनि देश छैन। तर पनि तिनीहरूलाई हिन्दुसंगै किन डर हुन्छ?
जो बसुधैव कुटुम्बकम् भन्छन् उसलाई सबै आफ्नै लाग्छ । सनातन भनेको न आदि न अन्त्य हो। अरूहरू आउछन् र जान्छन्।
भारतमा ८०० वर्ष मुसलमानले र करिब २०० वर्ष ईसाई बेलायतले शासन गरेता पनि, सनातन हिन्दु ब्यवस्थालाई निमिट्यान्न पार्न खोजे पनि, हजारौं मन्दिरहरू ढालेर मस्जिद बनाएता पनि, विश्वको अरू मुलुकहरूमा धर्म परिवर्तन गर्न बाध्य पारेता पनि यहॉ भने केही हल्लाउन सकेनन्। अहिले विश्वभरि हिन्दु सनातन मान्यताको प्रचार प्रसार तिब्र छ, संस्कृत भाषा लगभग सबै बिकसित देशका विश्वविद्यालयमा पढाईन्छ, योग, ध्यान, साधना सबै देशमा अभ्यास गरिन्छ, सिकाईन्छ।
विश्वभरिमा विभिन्न हिन्दु पन्थबाट बिकसित बिभिन्न नामका आश्रमहरु खुलेका छन्। विश्वभरि बिदेशी अन्य धर्मावलम्बी नागरिकहरुले राधेराधे, ब्रह्मकुमारी, ओशो, ईस्कोन, आर्ट अफ लिभिंग, साईबाबा, स्वामीनारायण, सद्गुरू, विवेकानन्द, सेवा, महेश योगी, योगी परमहंश, आर्य समाजजस्ता सनातनी दर्शनभित्रका नवपन्थहरूमा आवद्ध हुदै विभिन्न अध्यात्म भक्तिको प्रचार गरिरहेका छन्। पश्चिममा ईसाई धर्मावलम्बी घटेर दक्षिण कोरिया, नेपाल जस्ता एशियाली मुलुकहरूमा मात्र बढिरहेको हो।
हिन्दु सनातनी संगठित आस्था हैन, ब्यक्तिको निजी मान्यता र संस्कार हो। यसमा ब्यापक विविधता छ, कसैलाई जोरजबरजस्ति हुदैन, ३३ कोटी देउता जसलाई जे मन लाग्छ माने पनि हुन्छ, रिलिजियस डाईभर्सिटी छ, सबैलाई स्वतन्त्रता छ। एकाघरभित्रै एउटाले महादेव, अर्कोले विष्णु, अर्कोले हनुमान, अर्कोले दुर्गा, वा अन्य कुनै पन्थ मान्न स्वतन्त्र हुन्छन्। कूल देउता र ईष्ट देउता पनि सबैका अलग अलग हुन्छन्।
हजारौँ वर्षको बिकासका कारण सनातनको जग र जरा बलियो छ, नसा नसामा भावना छ, संस्कार र ब्यवहारमा गहिरो छ। जरा बलियो, गहिरो भएपछि यस्तो हुनेगर्छ।
सनातनी हिन्दु आस्थाका कुनै न कुनै रूप विश्वब्यापी भइसकेको छ। अहिले भारतले नेतृत्व लिएर सनातन मूल्य मान्यतालाई पुनरोत्थान गरेर विश्वलाई चकित पार्दैछ। अहिले कैयन देशमा हिन्दुहरु सरकार प्रमूख वा राष्ट्रप्रमूख बनिसकेका छन्। हालैको अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठाले विश्व चकित भयो, २०० मुलुकमा रहेका हिन्दुहरू गौरन्वान्तित भए।
त्यसैले सनातनीले खासै चिन्ता लिनुपर्दैन। बामपन्थबादमय कारण नेपालमा केही होडलिएको भए पनि यो बाद पनि विश्वबाट विलिन हुदैछ। सनातनको बिरोध गरेर कोही लामो टिक्दैन। बरू समर्थन गरेमा अरू पन्थको अस्तित्व जोगाइदिन, संरक्षण गर्ने र सम्मानित राख्न हिन्दुहरूले नै योगदान गर्नेछन्। इतिहासभरि यही गर्दै आएको हो।
हिन्दु सनातनीहरू अरू सबै धर्म वा पन्थका हजुरआमा हो। अरू सबै यिनकै सन्तान हुन्। सन्तानसंग बाआमा झगडा गर्दैनन्। सन्तानले बाआमासंग झगडा गर्न सक्छन् तर बाआमाले सन्तान अबुझ छ भनेर चित्त दुखाउदैनन्, सहन्छन्। यही हिन्दु सहिष्णूता र मान्यता हो, यसकारण प्रतिकार गर्न नचाहेको हो।
ऋग्वेदले भनेकै छ- एकं सद् विप्रा बहुधा वदन्ति। अर्थात्, एउटै सत्यलाई विद्वान अलग अलग रूपमा व्यक्त गर्छन्।
(लेखक नेपाल सरकारको पूर्व सचिव एवं अहिलेका सर्वाधिक क्रियाशील सामाजिक अभियन्ता हुन् ।)
भीम उपाध्याय
