उदय जीएम
नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार सुशील गौतम शनिवार दाङको घोराहीस्थित गणेश चित्रालयमा देखिए । फिल्म हलतिर फर्केर हेर्नै अप्ठ्यारो मान्ने र कहिल्यै सिनेमाहलतिर नछिर्ने गौतम एक्लै होइन परिवारसहित हलमा पुग्दा सबैलाई अचम्मै लाग्यो ।

पत्रकार सुशील गौतममात्रै होइन सामाजिक अभियन्ता एवं राजनीतिक व्यक्तित्व विकिरण गौतम पनि सिनेमाहलको परिसरमा टुप्लुक्क झुल्किए । उनी पनि एक्लै थिएनन् । श्रीमती र छोरीलाई पनि सँगै लिएर हलमा छिरेका थिए । यसअघि काँडेतारका निर्माता, निर्देशक तथा नायक नवल खड्काकै चलचित्र “दशगजा” हेरेका गौतम वर्षौं वर्षपछि हलमा छिरेको बताए । उनले भने, “आफू त वर्षौंपछि हलमा आइयो । त्यतिमात्र हो र ? श्रीमती र छोरीसँगै बसेर फिल्म हेरेको मेरा लागि यो नै पहिलो हो ।” गौतमले राष्ट्रले नै गर्नुपर्ने काम र अभियानलाई व्यक्तिगत लगानीमा नवल खड्काले गरेकोमा खुलेरै प्रशंसा गरे ।

वरिष्ठ पत्रकार गौतमले पनि आफूले पनि विगत स्मरण गर्दै भने, “फिल्म हेरिन्न । झन श्रीमतीसँगै बसेर त कहिले पो हेरियो होला र ?” उनले थपे, “देश चुत्थै भए पनि देशभक्ति मर्दैन । सिमाना सुरक्षित गर्नुपर्छ भन्ने अभियानमा काँडेतारको महत्वपूर्ण योगदान रहने उनको विश्वास छ ।

गौतमद्वयको मात्रै होइन ग्यालेक्सी एकाडेमी घोराहीका अध्यक्ष नरबहादुर बुढाथोकीलाई पनि फिल्मले तान्दै तान्दैन । यद्यपि काँडेतार हेर्न उनी आफ्ना ८० वर्षीय बृद्ध बुवासहित आएका थिए । “राष्ट्रवादी खालको फिल्म चल्दैछ भनेपछि बुवा पनि हेर्न आउने रहर गर्नुभयो । त्यही भएर लिएर आएँ ।”
तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर सन्तोष खड्का पनि हस्याङफस्याङ शो शुरु हुनै लाग्दा हलभित्र छिरे । प्रायः चलचित्र नहेर्ने उनी सञ्चारमाध्यमहरुमा प्रचार देखेर आफू हलमा पुगेको बताए । “जनयुद्ध त हामी लड्यौं र देख्यौं । यो चलचित्रले माटोको कुरा गरेको रहेछ । एक मुठ्ठी माटो पनि आफ्नो प्यारो हुन्छ भन्ने यसले देखाएको छ”, खड्काले भने । यता, पत्रकार जनक नेपालीले चलचित्र हेरेर रुँदारुँदा मध्यान्तरमै निस्किएको बताए । चलचित्रले दर्शकको मन जित्ने उनको धारणा छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य रुद्र शर्माले राष्ट्रका लागि अत्यावश्यक सिमाना सुरक्षाको विषयवस्तुलाई काँडेतारले एकदमै राम्ररी उठान गरेको बताए ।

गणेश चित्रालय प्राङ्गणमा पुग्दा प्रायः चलचित्र हलमा नछिर्नेहरुकै बाहुल्यता देखिएको थियो । नेपाली कांग्रेसका नेताहरु भीमप्रकाश खड्का, भूपबहादुर डाँगीदेखि नेकपा (विप्लव)का सम्झना विकलगायतका राजनीतिकर्मी, सामाजिक अभियन्ता, बौद्धिक व्यक्तित्व, पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो । त्यस्तै, फिल्मका पारखीहरुको पनि उत्तिकै उपस्थिति रहेको थियो ।

दाङको घोराहीमा मेयरकप फुटबलको फाइनल खेल लगायतका अन्य कार्यक्रमहरु जुधे पनि दर्शकहरुको बाक्लो उपस्थिति र हलमा खुट्टै राख्ने ठाउँ नदेखेपछि निर्माता तथा नायक नवल खड्का पनि निकै हौसिएको देखिन्थे । भने, “यति धेरै कार्यक्रमहरु जुधेका भए पनि दर्शकहरुको यत्रो उपस्थितिले खुशी भएको छु ।” उनले आगामी फागुन २५ गते हलमा आएर काँडेतारलाई माया गरिदिन आग्रह गरेका थिए ।
विशेष प्रदर्शनीअघि निर्माता तथा नायक नवल खड्काले काँडेतारले उठान गरेको विषयमा संक्षिप्तमा प्रकाश पारेका थिए । चलचित्र प्रदर्शनअघि र पछि खड्का र अर्का नायक प्रशान्त यादवसँग तस्वीर खिचाउने होडबाजी नै चलेको थियो ।
