संस्कृत भनेको सुसंस्कारित जीवन हुनु भनिएको हो

संस्कृत भनेको सुसंस्कारित जीवन हुनु भनिएको हो


  • 11.8K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 18.1K Views

    संस्कृत भनेको सुसंस्कारित जीवन हुनु भनिएको हो

    पूर्वीय बैज्ञानिक ऋषिहरूले न पश्चिमा बिज्ञानको बिरोध गरेका थिए, न पश्चिमा बैज्ञानिकहरूले पूर्वीय ऋषिका बैज्ञानिक खोज वा ज्ञानको बिरोध गरेका थिए । बिरोध त पश्चिमा धर्मान्ध र पश्चिमा साम्राज्यबादी राजनीति गर्नेहरूले गर्दै आएका थिए र हुन्। परिणामस्वरूप तिनले यहॉका शिक्षा र चेतनामाथिको मनोबैज्ञानिक युद्ध जितेर पूर्वीय कथित विद्वानहरूको पल्टन खडा गर्न समेत सफल भए । गौरवहीन, गरिमाबिहीन पुस्ताहरूको युग नै जन्माईदिए जसको मारमा कहिल्यै राजनीतिक उपनिवेश नहुँदा नहुदै पनि नेपालीहरू फस्न पुगेका छन् । अहिले नवजागरण र पुनर्जागरणको खँचो छ, ताकि नेपाली गौरवले छाती फुलाएर ज्ञान बिज्ञानको भाषामा विश्वसँग बहस गर्ने क्षमता पुन: जाग्न सकोस् ।

    images

    नेपालका कति जना नेता, विद्वान, विचारक, वुद्दिजीवि, उच्च प्रशासक, सांसद र मन्त्री होलान्, जसले संस्कृत भाषा बोल्न, लेख्न वा बुझ्न त परै जाओस्, देवनागरी लिखित भए पनि संस्कृत भाषामा लेखिएको वाक्यहरू शुद्धसँग खरर पढ्न सक्लान् ? 

    kmc_20240131_181615-01.jpeg

    संस्कार र संस्कृति भन्ने शब्द संस्कृतबाट बनेको हो । संस्कृतको अर्थ (संस्+कृत), जेले जीवनलाई सरल, सहज र आनन्दित बनाउछ, त्यो गर्ने कार्य हो । संस्कृतको विरासत बिना नेपालीको पहिचान के हुने होला ? एक छिन गमौं त !  ती महामानवहरूलाई सतत् नमन् छ, जसले संस्कृतमाथि निरन्तर सहस्राब्दीसम्म आघात र संस्कृत साहित्यलाई ध्वस्त पार्दै रहँदा पनि आजसम्म यो भाषा र वाङमयलाई जिवित राखेका छन्। 

    अहिले विश्वमै संस्कृतको पुनर्जागरण र पुनरोत्थानको अभियान तिब्र चल्दैछ । योगको भाषा संस्कृत छ, हिन्दूहरू विश्वभरि फैलिएका छन् । दशैं - तिहारमा विश्वका प्रभावशाली नेताहरूले संस्कृत श्लोकमा आधारित सन्देश दिदैछन् । कम्प्युटरको नयाँ जेनेरेशन भाषा संस्कृत हुँदैछ। विश्वका धेरै विकसित देशका युनिभर्सिटीमा संस्कृतको पढाई हुँदैछ र माग हुँदैछ । योग, साधना, मन्त्र, प्रार्थना, भजन, आरती, पुजा, विवाह, कर्मकाण्ड, मर्दापर्दा, अन्तिम संस्कार वा मेडिटेशनको भाषा संस्कृत बन्दैछ । विकशित देशहरूमा विभिन्न हिन्दु पद्दति अगाल्नेहरू बढ्दै छन् । ईन्टेरनेटले त झन् यसमा क्रान्ति ल्याईदिएको छ । अध्यात्मको भाषा र श्रोत संस्कृत साहित्य बनिरहेको छ। 

    तर नेपालीहरू यस्तो सम्बृद्ध विरासतको अझै भेउ पाउन सकिरहेका छैनन् । नेपाली युवा पुस्ता पतीत दर्शन र खुईलिएको राजनीतिको शिकार बनेका छन्, अझै घोर नसामा रहेका देखिन्छन्। नेपाली लगायत विश्वकै युवाहरूमा जागरणको खाँचो छ, तिनलाई विश्वमा शिर ठाडो पारेर बाँच्न संस्कृतले सिकाउने खाँचो छ । संस्कृत शिक्षाले युवाहरूलाई रोजगारीको अवसर थपिदिने छ । अध्यात्मिक ज्ञान, शान्ति, आनन्दको श्रोत संस्कृत हो । युवावर्ग र बालबालिकामा यस्तो हिराको खानी चिनाईदिनु सबैभन्दा ठूलो पुण्य कार्य हुनेछ।

    यसमा एकपटक शान्तचित्त रहेर विचार गरौँ न ! वेदभन्दा ठूलो ज्ञानको भण्डार के हुन सक्ला ? मनुशास्त्रभन्दा ठूलो आदि सामाजिक संविधान के हुन सक्ला ? उपनिषदहरू जस्ता दर्शन अरू के हुन सक्लान् ? गीता जस्तो जीवनदर्शन के हुन सक्ला ? रामायण जस्तो कारूणिक काब्य के हुन सक्ला ? 

    महाभारत जस्तो शासन तथा राजनीतिक महाकाब्य अरू के हुन सक्ला ? चरकसंहिता जस्तो चिकित्साको कालजयी पुस्तक अरू के हुन सक्ला ? सुश्रुतसंहिता जस्तो शल्यक्रियाको अमर गाईड के हुन सक्ला ?

    कौटिल्यको अर्थशास्त्र जस्तो राज्यप्रणाली ब्यवस्थापनको शास्त्र अरू के हुन सक्ला ? पञ्चतन्त्र जस्तो शिक्षाप्रद पुस्तक अरू के हुन सक्ला ? चाणक्य जस्तो राजनीतिज्ञ अरू को हुन सक्ला ?

    विश्वभरि प्रिन्टिंग प्रणाली छापाखानाको आविस्कार भएपछि कूल १३.५ करोड पुस्तक छापिएका अनुमान छ । भारत मै सरकारसँग संस्कृतका अप्रकाशित पाण्डुलिपी ३.५ करोड छन्, निजी पाण्डुलिपी कति होलान् कति, अथाह ! विदेशमा पनि संस्कृतका पाण्डुलिपीहरू चोरिएर पुगेका छन्: युरोपमा ६० हजार र दक्षिण एसियामा १.५ लाख जति रहेका छन् भनिन्छ । नेपालमा पनि ८ लाख छन् । विदेशी अतिक्रमणकारी र हिन्दूईतर धर्मान्धहरूले संस्कृतका करोडौं पाण्डुलिपी र पुस्तक ध्वस्त गर्दागर्दै पनि अहिले पनि यति पत्ता लागेको छ । यी सबै प्रकाशित र अनुवादित हुने हो भने मानवजातिले संस्कृत ज्ञानरूपी समुद्रको कति लाभ लिनेछ होलान् !


    भीम उपाध्याय
    लेखकबाट थप