नेपालमा उच्च शिक्षा हाँसिल गर्नु भनेको उर्जाशिल समय कटाउनु मात्र भएको छ । कलेज जानु भनेको बेरोजगारी हटाउन केही वर्ष अल्मल्याउने मेसो मात्र हो ।
अहिलेको तिब्र बदलिदो युगमा जहाँ हरेक जानकारी, ज्ञान सीपका कुरा छिटै आउटडेटेड हुँदैछ । नेपालका ९५% शिक्षा आउटडेटेड, गुणस्तरहिन, अवैज्ञानिक र नीरस, देशकाल, परिस्थिति र विश्व परिवेश तथा माग अनुकूल पनि देखिँदैनन् । पढाई र पठाउनेको गुणस्तर र विधिसम्मत देखिन्छ । उर्जाशील ५/६ वर्ष अवधिको जीवन बर्वादी हुँदै आएको छ । यसको वैकल्पिक लाभ निकाल्ने हो भने धन र समय दुबै बर्बादी जस्तै लाग्छ ।

यहाँका अधिकाँश विद्यार्थीहरू दलका निम्ति बिरोध समर्थनमा आगो फुक्न काम लाग्ने ढुंग्रा मात्र हुन् । अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे बनिन्छ भन्ने पनि छैन । ८ पासे, १० भए ठूलै पद र पावरमा पुगिन्छ। नेताको पछि लागे जस्तोसुकै नियुक्ति पनि हात लाग्न सक्छ। बढी पढेकाको कुनै काम छैन भनेर नेताहरूलाई जिताएर जनताले सत्ता सुम्पिदै रमेकै छन् । नेताका पढाईको स्तर र सीपले देश 'बनेकै' छ ! यो भन्दा बढी के बन्न पऱ्यो र ! विद्यार्थीका पढाईले तिनलाई रोजगारी पाईन्छ भन्ने पनि कुनै ग्यारेन्टी लिने कोही छैन । पाए विदेश हुईकिने भन्ने हो र यस्तो नेपाली शिक्षा विदेशमा आँची पुछ्ने कागज जति पनि मान्यता छैन, त्यहाँका युनिभर्सिटीबाट डिग्री नलिएसम्म ।
कथित शिक्षित भनिएकामा पनि न चरित्र छ, न ज्ञान । न सीप छ, न कला । न साहित्य छ, न भाषा । न ईतिहासको बोध छ, न भूगोलको । न अध्यात्मिक चेत छ, न संस्कार । न संस्कृतिको मूल्य थाहा छ, न विज्ञान प्रविधिको ज्ञान । न खगोलको जानकारी छ, न मानवताको ज्ञान । न कुटनीति ज्ञान छ, न कानुनको । अनि यस्तो शिक्षा दिदै मैले पढाउछु भन्ने शिक्षकहरूको फुईँ बकवास र बकबक हो, तिनका भट्याई, फट्याई र पेट पाल्ने मेसो मात्र हो । नेपालको शिक्षा वा शैक्षिक संस्कृति सुसंस्कार पाएर हैन, विद्यार्थीकै वंशाणुगत जीनले मात्र बिदेशमा कोहीकोही सफल हुन सकेका मात्र हुन् । बिदेशमा पुगेर पढ्ने बिद्यार्थीहरूले नेपालको शैक्षिक कल्चर र गुणस्तर कति निम्छरो रहेछ भन्न बोध गरेका हुन्छन् । शैक्षिक संस्कृति के हो बल्ल बिदेश पुगेर घुडॉ धसेर तनाव लिदै पुनः सिक्न थाल्छन् ।

नेपालको त्यस्तो शिक्षाले के नै गर्न सक्छ ? जागिर खानबाहेक । अनि मुलुक कसरी बढ्न सक्छ ? देशको गुणस्तर भनेकै शिक्षाको गुणस्तर हो । यहॉ त ८ पास वा १० पास गरे मनग्यै पुग्छ । त्यति पढे एक्कासौँ शताब्दीको एक्काईसौँ सालमा पुगेर पनि राष्ट्रपति, प्रम, अर्थ मन्त्री, परराष्ट्रमन्त्री भईहालिन्छ । अनि कसैले बेकारमा वर्षौँ नसुती नसुती पढेर जीवन बर्बाद किन पार्ने ? केही वर्ष युवा बेरोजगारीको समस्या समाधान गर्न कलेजमा बाउ-आमाको पैसो बगाएर अल्मलिएका हैनन् किन नभन्ने ?
भीम उपाध्याय
