युवराज पौडेल
देश समृद्धिको बाटोमा : युवाको धारणा बिल्कुलै फरक ‘देशमा केही छैन’
सर्वप्रथम राष्ट्र भनेको के हो ?
सर्वप्रथम राष्ट्र भनेको के हो ? त्यो बुझौं । सैद्धान्तिकरुपमा राष्ट्र भन्नाले कुनै निश्चित भूभागभित्र बस्ने मानिसहरुको अपनत्वको मनोवैज्ञानिक भाव हो अर्थात मानिसहरुमा रहेको विविधता बीचको साझा पहिचान हो । राष्ट्रको अर्थ कुनै मुलुकको एक निश्चित भूभागसहितको सार्वभौम तथा स्वशासित राजनीतिक एकाई हो । जसअन्तर्गत जनसंख्या सरकार, भूगोल र अन्तर्राष्ट्रिय समर्थन भएका कानुनी तथा राजनीतिक एकाईहरु पर्दछन् ।
युवाशक्ति
अर्को शब्द छ– युवा । युवा भन्नाले सामान्यतया १५ देखि ३९ वर्ष समूहका मानिसहरुलाई बुझ्ने गरिन्छ तर मेरो विचारमा युवा त्यो हो, जोसँग जिज्ञासु भाव अनुसन्धानमूलक चित्र, कर्मशील हात र समय सुहाउँदो तार्किक उत्पादनमुलक सोचविचार हुन्छ, जो साहसी छ र कुनै पनि किसिमका डरबाट भाग्ने काम गदैन ।
एक अदम्य साहस, निडर, नयाँ सिकौं र गरौं भन्ने, हरेक चुनौती र जोखिम मोल्नसक्ने त्यो वर्ग नै युवा त्यो हो, जो परिआएका कुनै पनि खतरादेखि डराउँदैन । राष्ट्र निर्माणमा युवा वर्गको सर्वोच्च र महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैन । २००७ को प्रजातान्त्रिक आन्दोलन, २०२८ को झापा विद्रोह, २०४६ सालको पञ्चायती ब्यवस्था विरुद्धमा होस या २०५२÷२०६२ सम्मको ऐतिहासिक जनयुद्ध होस् या ६२÷६३ को आन्दोलनमा । ती तमाम नेपाली युवाहरू तत्कालीन शासनको विरुद्धमा ज्यान र परिवार त्यागेर आन्दोलनमा लागेका थिए ।
युवासँग त्यो अदम्य साहस हुन्छ, जुन तेलले नै विकासको रेल अघि बढ्दछ । कुनै समयमा डा. योगी विकासानन्दले भनेका थिए, ‘संसारलाई बदल्नु छ भने शुरु आफैँबाट गर्नुछ ।’ त्यस्तै गर्न सकिन्छ भने राष्ट्रलाई परिवर्तन गर्नुछ त युवाहरु नै परिचालन गर्नुपर्छ । युवाहरुको जीवन्त स्रोत तथा शक्तिलाई अघि ल्याउन सके राष्ट्र समुज्वल र शान्त हुन्छ । युवाले पहाडलाई फोरेर मैदान बनाउन सक्छ । युवाले मरुभूमिमा हरियाली वातावरण छाउन सक्छ र युवाले सगरमाथाको शिरमा पुग्ने उत्प्रेरणा जगाउन सक्छ । देशको सबै नागरिकहरुलाई सामाजिक र एकीकरण, राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई बृहत्तर र लोकतान्त्रिक ढङ्गले निर्माण गर्ने राष्ट्रको नीति पनि हो । राष्ट्र निर्माण सम्भव छ, जब सबै नागरिकले राष्ट्रको विकासमा संलग्न हुन्छन् । युवाले राष्ट्र निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिकामा खेल्न सक्छ ।
राष्ट्रको सुनौलो भविष्य, जोश जाँगरले हरेक असम्भलाई सम्भव बनाउने सामथ्र्य कर्मशील युवासँग नै हुन्छ । उन्नतशील राष्ट्रको दर्जा दिलाउन सदुपयोग र उत्प्रेरित समाज निर्माणमा लाग्नुपर्ने सबल, शिक्षित युवाशक्तिले दिनहुँ आफ्नो राष्ट्रप्रतिको उत्तरदायित्व बिर्सदै राष्ट्र अनि नेतालाई सराप्नु सही हो त ?
नकारात्मक सोच : एक रोग
नेपाली समाजमा नकारात्मक सोचले जरा गाडेको छ । फलानाले राम्रो लगायो, मिठो खायो भनेर अरुको रिस–डाह गर्ने, आफ्नै जीवनसँग गुनासो, असन्तुष्टि राख्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । यस्ता असन्तुष्टिले नकारात्मक सोचको विकास हुन्छ ।
नकारात्मक सोचाइले वरिपरिको वातावरण नै नकारात्मक बनाउँछ । नकारात्मक सोच्ने व्यक्तिले सकारात्मक कुरालाई पनि नकारात्मक तरिकाले हेर्ने गर्छन् । नकारात्मक सोचले गर्दा विभिन्न खालका मानसिक समस्या उत्पन्न हुनुका साथै दीर्घरोग बढाउँछ ।
जन्मेर बुझ्ने अवस्था भएदेखि नै नकारात्मक सोच र संस्कारमा हुर्केका हाम्रा सन्ततिको हालत के होला ? यतापट्टि ध्यान कहिले र कसले दिने हो ? समाज र सामाजिक सञ्जालमा परिचित बौद्धिकहरूद्वारा पोखिने नकारात्मक टिप्पणीले समाजलाई उँधोगतितिर धकेलिरहेको छ । हामी दैनिक बोली÷व्यवहारमा यति धेरै नकारात्मक छौं कि जोकोहीलाई मान्छे नै नगन्ने र जोकोही मान्छेमा केही न केही गुण पनि हुन्छ भन्ने कुरा स्वीकार्नै चाहन्नौं ।
विगत केही वर्षयता नेपाली समाज चियागफ, चोक, गाउँदेखि शहर, अभावमा परिवार पाल्न देशबाहिर पुगेका युवा, राजनीतिक क्षेत्रमा क्रियाशील भर्खर वयस्क युवायुवती एवं सबैबाट सुनिने, बोलिने र देखिने नकारात्मक टिप्पणी देख्दा लाग्छ हामी नेपाली अझ धेरै वर्ष यस्तै दुःख र कष्टबाट बाहिर निस्कन गाह्रो देखिन्छ ।
सामाजिक सञ्जाल होस् या सञ्चारमाध्यम जताततै सकारात्मक तथ्यांकतिर ध्यान नै जान्न । समाज विखण्डित, तथ्यहीन, अर्थहीन, उत्तेजित, कसैप्रति सुनियोजित र फगत गफको पछि दौडिने बाल वा युवा पुस्ता (वयस्क) आफ्नो देश, समाज, राजनीतिक संस्कृति आदिबाट विमुख गराउन सहयोग पुग्नेगरी नकारात्मक टिप्पणीको बाढी नै आइरहेको देखिन्छ ।
यसमा अझ रोचक त के छ भने आफूबाहेक अरू सबै नेता नराम्रा भन्ने आशयका भाषण ठोक्ने नेता, अकुत सम्पत्ति जोडिसकेर आलिशान महलको छतमा बसी नेताले देश बिगारे भन्ने पूर्व वा वर्तमान प्रशासक, कर्मचारी र ब्युरोक्रेसीले काम गर्न बाधा पुरायो भन्ने नेता, विभिन्न कारणले विदेशिएका गैरआवासीय नेपाली, जिन्दगीदेखि विरक्तिएर साधु बनेका सन्तहरू, पञ्चायती व्यवस्थाले उत्पादन गरेका धार्मिक मठाधीशहरू, नेताहरूको फेरो समाएर राज्य सञ्चालनमा तर मार्ने मनोनीतहरू नै नकारात्मक टिप्पणी गर्न अघि सर्छन् । हामी परिवर्तनको कुरा आफै गर्छौं । जे जे कारण नेपाल अहिलेको अवस्थामा पुगेको छ, पुनः सोहीको पक्षमा बोल्न थाल्छौं । वर्तमान एकजना नेता पञ्चायतदेखि हालको गणतन्त्रसम्म १५ पटक मन्त्री बन्छन्, उनलाई नेता र सांसद बनाउने त हामी होइनौं र ? दोष कसको ? दर्जनौंपटक जिताउने हामी कि सिन्को नभाँची पटकपटक ठाउँमा पुग्ने उनको ?
देशमा केही नभएरै युवा विदेशिएको हो त ?
आजभोलि बिहानको चियाको चुस्कीदेखि रेष्टुरेण्टमा रक्सीको चुस्की तान्ने अधिकांश नेपालीको मुखमा झुण्डिएको शब्द हो– नेपालमा केही छैन ।
प्राकृतिक जडिबुटी, कृषि, खनिज, जलविद्युतको प्रचुर सम्भावना, मरुभूमिबाहेक विश्वको हरेक देशमा हुने विविध हावापानी पंछीले बिस्टी गर्दा उम्रिने बोटमा तरकारी फल्ने मेरो देशको माटो हुँदाहुँदै, हातमा डिग्री बोकेर अष्ट्रेलिया, युरोप अनि अमेरिकी मुलुक छिर्न हतारिने हामी वाध्यताले कि रहरले ?
हाम्रोजस्तो विकासोन्मुख मुलुकलाई वैदेशिक रोजगारीको समस्याले निकै पिरोलिरहेको पाइन्छ । गरिबी बेरोजगारीको कारण हो भने बेरोजगारी गरिबीको कारण हो । नेपाल बेरोजगारीको समस्याले आक्रान्त छ । यहाँ बर्षेनी बेरोजगारी वृद्धिकोे कारणमा जनसंख्याको वृद्धि, कृषिबाट हुने आयस्रोत राम्रो नहुनु, औद्योगीकरणको अभाव, निजी क्षेत्रको व्यवसायको कमी हुनु र अन्य कारणले गर्दा बेरोजगार समस्या बढिरहेको छ । ग्रामीण क्षेत्रमा रोजगारीको अवसर नहुनाले र शहरी क्षेत्रमा उचित पारिश्रमिक नपाउनाले आर्थिक अवस्था कमजोर हुनाले वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । नेपाली वैदेशिक रोजगारमा शताब्दीयौँदेखि जाने गरेको इतिहास छ । केही वर्षयता नेपालमा दिनानुदिन वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ । हाल नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ । शिक्षित वा अशिक्षित अधिकांश नेपालीको गन्तव्य नै वैदेशिक रोजगारी भएको तथ्य लगभग स्थापित भइसकेको छ । यद्यपि हामीले सोच्ने गरेजस्तो ‘केही छैन’ भन्नु भ्रम हो ।
नकारात्मक सोचाई जबसम्म तपाईं हाम्रो मानसिकताबाट हट्दैन तबसम्म न त मुलुकमा परिवर्तन देखिन्छ, न तपाईंमा परिवर्तन आउँछ ।
३०-३५ वर्षयता नेपालको उपलब्धि तथा यथार्थ
२०४५ सालतिर काठमाडौंमा हिड्ने १०० जनामध्ये १५÷२० जना खाली खुट्टा हिड्थे । अहिले काठमाडौको अवस्था हेरौं । काठमाडौबाट प्युठान पुग्न तीन दिन लाग्थ्यो । अहिले गाडीमा १० घण्टामा प्युठान पुग्न सक्छौं । १÷२ जिल्लाबाहेक सबै जिल्लामा मोटरबाटो पुगिसक्यो । सडक विस्तार भएर पिच (कालोपत्रे) हुँदै गएका छन् । जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छ र पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग लगभग सकिने चरणमा छ । ठाउँठाउँमा पुल बनेका छन् । सुरुङ युगको शुरुवात हुँदैछ । रेल यातायात त शुरु नै भइसक्यो ।
ठूलाठूला रोगको परीक्षण र उपचारमा हामी सक्षम भइसक्यौं । मृत्युदर ५८ प्रतिशतबाट ७२ प्रतिशतमा पुग्यो । मुलुकमा आजभन्दा २० वर्ष पहिलाको गरिबी दर अध्यन गरौं र वर्तमान अवस्था हेरौं । शिक्षाको प्रतिशतलाई हेरौं । शिक्षामा पनि हामी फड्को मारिरहेका छौं ।
०६४ यताका ७५ र हालका ७७ जिल्ला र ठूला अस्पतालको संख्यामा दोब्बर बढोत्तरी भएको छ । सरकारी चिकित्सकको संख्यामा १८ प्रतिशतले वृद्धि हुँदै ३० हजार बढी पुगेको छ । नेपालीको सरदर आयु ६४ वर्षबाट बढेर ७२ वर्ष पुगेको छ । ५ वर्षमुनिका शिशु मृत्युदर प्रति १००० मा ६१ बाट झरेर ३३ पुगेको छ । त्यस्तै बाल मृत्युदर ४८ बाट घटेर २८ पुगेको छ । शैक्षिक गुणस्तर बढेको छ । भर्ना दर बढेको छ । शैक्षिक विकास र पूर्वाधारमा उल्लेखनीय परिवर्तन आएको छ । जनजाति, दलित, अल्पसंख्यकको प्रतिनिधित्व पालिका, प्रदेश र संघीय सरकारसम्म पुगेको छ ।
केही दशक अगाडिसम्म मेरो लिपेको पेटीमा टेक्न हिच्किच्याउने दलित भाउजू वडामा सदस्य बनेकी छिन् । पालिकामा अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर बनेकी छन् । १५÷२० वर्ष अगाडिसम्म कम्लहरी बनेकी शान्ता चौधरी जस्ता चौधरी समुदायको छोरी ठूलो पार्टीको साँसदमात्रै होइन सचेतकसम्म बन्ने अवसर मिलेको छ ।
राजनीतिक, बौद्धिक, आर्थिक र शिक्षामा उल्लेखनीय परिवर्तन भएको हामी देख्दैनौ । खान नपाएर कन्दमुल खाएर छाक गुजारा गर्ने ती बाउबाजेलाई सोध्नुस्, तपाइँ मेरा बुवाले नुन बोक्दा ढाडमा परेका ठेलाबारे एकपटक सोध्नुभयो भने थाहा हुन्छ । अभाव के थियो ? यी र यस्तै सकारात्मक टिप्पणीतिर हाम्रो ध्यान किन जाँदैन कुन्नि ? हुन त यो कुरा सत्य हो कि हामी विश्वको अरू देशभन्दा गरिब र अविकसित छौं तर त्यसको अर्थ केही नगरी हात बाँधेर बसेका पनि त छैनौं ।
पञ्चायती व्यवस्थाको अन्तिम अवस्थादेखि अहिलेको गणतन्त्रको कार्यान्वयनसम्मका करिब चालीस वर्षको हाम्रो अवस्था भोग्ने धेरै नेपाली त जीवित नै छन् । त्यो समय र यो समयको अवस्था र परिस्थितिको विश्लेषण गरी आफ्नो धाराणा सार्वजनिक गर्ने बानी किन हराएको होला ? यो समयमा शिक्षा, स्वास्थ्य, बाटो, पुलपुलेसा, सरदर आयु, मातृशिशु मृत्युदर आदि सबै क्षेत्रमा भएका राम्रा उपलब्धिहरूको चर्चा गर्ने कसले हो ?
युवराज पौडेल
