काठमाडौं, ३ माघ । सन् २०१९ को डिसेम्बरमा चीनको बुहानबाट सुरु भएको कोरोना भइरस अझै नियन्त्रणमा आएको छैन ।
अहिले कोरोनाको तेस्रो लहर सुरु भएको छ। तेस्रो लहरसम्म आइपुग्दा कोरोना भाइरसका नोवेल, डेल्टा र ओमिक्रोन भेरिएन्ट गरि तीन किसिमका भेरिएन्ट फैलिएको पुष्टि भैसकेको छ ।
कोरोना भाइरसको तेस्रो लहरको संक्रमण हाल विश्वका थुप्रै देशहरुमा फैलिरहेको छ। ओमिक्रोनले नेपाल, छिमेकी राष्ट्र भारतलगायत विश्वका चालिसभन्दा बढी देशहरुमा कब्जा जमाइसकेको छ।
दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरिएन्ट नेपालमा दुइजनामा मंसिर सात गते पुष्टि भयो। त्यसपछि पुन: पुस २३ गते २४ जनामा ओमिक्रोन भाइरस पुष्टि भएको थियो । यो सँगै नेपालमा २६ जना ओमिक्रोन संक्रमित पुष्टि भएका छन् ।
दुई जना भने संक्रमण मुक्त भइसकेका छन् । नेपालमा दिनप्रति दिन उकालो लागिरहेको कोरोना संक्रमण ओमिक्रोन नै हो ? भन्ने तेस्रो आँखाको प्रश्नमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भन्छ ‘पछिल्लो समय फैलिइरहेको संक्रमण ओमिक्रोन मात्रै हैन।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले हाल नेपालमा दिन प्रतिदिन तीव्र रुपमा बढीरहेको कोरोना भाइरस केही मात्रामा डेल्टा भेरिएन्ट रहेको तर अधिकांश भने ओमिक्रोन भेरिएन्ट नै रहेको बताए । डेल्टा भेरिएन्टको तुलनामा ओमिक्रोन भेरिएन्ट तीव्र संक्रामक रहेकोले एक पछि अर्को दिन संक्रमणदर दोब्बर हुँदै गएको पनि उनले प्रष्ट पारे ।
‘नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न आफ्नो तर्फबाट कोसिस गरिरहेको छ । पछिल्लो दिनमा स्वास्थ्य मन्त्रालयले पनि विभिन्न विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिरहेको छ, तसर्थ सबैलाई सचेतना अपनाउन आग्रह गर्दछु ।’ निर्देशक पौडेलले भने ।
केही दिन अघि २४ जनामा शंका लागेर गरेको परिक्षणमा २४ जनामै ओमिक्रोन भेरिएन्ट पुष्टि भएको थियो यसबाट पनि नेपालमा पछिल्लो समयमा फैलिरहेको भाइरस बढी मात्रामा ओमिक्रोन नै भएको पुष्टि हुन्छ ।
पदम भुजेल
