काठमाडौं, ५ पुस । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणदर निरन्तर उकालो लागिरहेको छ। नेपालमा अहिले देखिएको भेरिएन्ट कुन हो भनी परिक्षण गरियो । दुईपटक गरिएको परिक्षणका क्रममा २६ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ।
गएको मंसिर ७ गते दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो भने पुस २३ गते २४ जनाको नमुना परिक्षणका क्रममा २४ जनालाई नै ओमिक्रोन पुष्टि भएको थियो। यस तथ्यांकबाट नै नेपालमा अहिले फैलिरहेको कोरोना भाइरस ओमिक्रोन भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समिर कुमार अधिकारी बताउँछन्।
डा. अधिकारी भन्छन्, ‘गएको २३ गते २४ जनामा शंका लागेर गरेको परिक्षणमा २४ जनामै ओमिक्रोन भेरिएन्ट देखिएकाले नेपालमा अहिले व्यापक रुपमा वृद्धि भैरहेको कोरोना ओमिक्रोन भेरिएन्ट नै भएको पुष्टि हुन्छ ।’ यद्यपि अधिकांश मात्रामा ओमिक्रोन भएपनि केहि मात्रामा भने डेल्टा भेरिएन्ट पनि रहेको उनी बताउँछन्।
नेपालमा ओमिक्रोन भेरिएन्ट वा डेल्टा भेरिएन्ट भनेर छुट्टाउने मेसिन छ कि छैन ? तथा मेसिन छ भने किन ओमिक्रोन अथवा डेल्टा कतिलाई भयाे भनेर परिक्षण किन नगरिएकाे ? भन्ने तेस्राे आँखाकाे प्रश्नमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पाैडेल भन्छन् ‘नेपालमा कुन भेरिएन्ट हो भनेर परिक्षण गर्ने मेसिन छ। हामीले कुन भेरिएन्ट फैलिरहेको छ भनेर बेलाबेला नमुना परिक्षण पनि गरिरहेका छौं।’ एक दुई पटक नमुना परिक्षण गर्दा नेपालमा ओमिक्रोन फैलिएको हो भन्ने पुष्टि भैसकेकोले दिनहुँ त्यसलाई परिक्षण गरिरहनु नपर्ने उनी बताउँछन् ।
डा.पोखरेल भन्छन् ‘अहिले पुष्टि भएको कोरोना संक्रमितमा कति प्रतिशत ओमिक्रोन र कति प्रतिशत डेल्टा हो भन्ने डाटा हामीसँग छैन र यसको दिनहुँ परिक्षण गर्नु आवश्यक पनि छैन।’ उनका अनुसार नेपालले मात्र होइन विश्वका कुनै पनि देशले नमुनाको रुपमा बेलाबेलामा कुन भेरिएन्ट फैलिरहेको छ भनेर परिक्षण गर्छन् र यो भेरिएन्ट फैलिएको छ भन्ने थाहा भएपछि दिनहुँ कुन भेरिएन्ट फैलिएको होे भनेर परिक्षण गर्दैनन्। उनले भने ‘नेपालमा पनि ओमिक्रोन भेरिएन्ट फैलिरहेको पुष्टि भैसकेकोले यसलाई दिनहुँ परिक्षण गर्न आवश्यक छैन।’
सरकार तथा स्वास्थ्य मन्त्रालयले कोरोनाको नियन्त्रणको लागि कदम चालेकोले यसलाई सहयोग गर्न र स्वास्थ्य मापदण्डको पालना गर्न डा.समिर कुमार अधिकारी तथा डा.कृष्ण पोखरेलले सबैलाई आग्रह गरेका छन्। साथमा दुबैले अहिले नेपालमा फैलिरहेको भेरिएन्ट ओमिक्रोन नै भएको स्पष्ट पारेका छन्।
नेपालभरी पुस २६ गते २४ घण्टामा एक हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने पुस २७ गते २ हजार ४ सय ४४, पुस २८ गते ३ हजार ७५, पुस २९ गते ३ हजार ५ सय ५३, पुस ३० गते ५ हजार ८७, माघ एक गते ४ हजार ६ सय ३६, माघ दुई गते ४ हजार ९ सय ६१, माघ तीन गते ६ हजार ७ सय ३४ र माघ चार गते आइपुग्दा क्रमश वृद्धि भई १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल सरकारले पछिल्लो कोरोना संक्रमण दर वृद्धि भएदेखि स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ भने स्कुल, फिल्म हल, सभा समारोह सञ्चालनमा रोक लगाएको छ। स्मार्ट लकडाउन सुरु गर्दै २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा हुन पनि सरकारले रोक लगाएको छ।
पदम भुजेल
