काठमाडाैं,६ माघ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता दिने तयारी गरेको छ। यसअघि नै ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएकाले स्वास्थ्य मन्त्रालयले तीन महिनाका लागि आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयसँग माग गरेको छहो । त्यसका लागि मन्त्रिपरिषद्ले नयाँ निर्णय गर्नु नपर्ने स्वास्थ्यसचिव डा.रोशन पोखरेलले बताए ।
तेस्रो लहरको सुरुवातमै धेरै स्वास्थ्यकर्मी कोरोनाको चपेटामा परेका छन् । तर, अघिल्ला लहरमा संक्रमितको उपचारमा प्रत्यक्ष खटिएका सबै स्वास्थ्यकर्मीले घोषणा भएको जोखिम भत्तासमेत अझै पाएका छैनन् । उनीहरूमध्ये केहीको पहिलो लहरकै र धेरैको दोस्रो लहरमा खटिएको भत्ता नपाएको गुनासो छ ।
२४ केस ओमिक्रोन पुष्टि हुँदानहुँदै घरघरमा पुग्न भ्याइसकेको रहेछ । सबैको ध्यान चिसोले रुघाखोकी लाग्यो भन्नेतिर केन्द्रित भएको मौका छोपेर ओमिक्रोनले घेराबन्दीमा पारेका स्वास्थ्य विशेषज्ञहरु बताउँछन । संक्रमण घरघर पुग्नुअगावै रोक्न नसकिएको र राजधानीका मान्छेले भेउ नपाएको उनिहरुको भनाइ छ । विगतमा अन्य सहर हुँदै काठमाडौं आएको कोरोना अहिले काठमाडौंबाट सुरु भएको बताइएको छ ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले ओमिक्रोनले धेरै नागरिकलाई घेराबन्दीमा पारिसकेको बताए । पुसमा पानी परेको थियो, अत्यधिक चिसो बढेकाले धेरै मानिस रुघाखोकीले ग्रस्त भएका थिए । त्यही समयमा ओमिक्रोनले अधिकांश मानिसलाई घेराबन्दीमा पारिसकेको उनले बताए ।
चिकित्सकहरूका अनुसार छिटो फैलिने र रुघाखोकीकै रूपमा आएकाले मान्छेले कोरोना भएको भन्ने मेसो नै पाएनन् । छोटो समयमा धेरै स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । तेस्रो लहर सुरुको अढाई साताको अवधिमै पाँच सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
