आत्मानुभूति
पच्छेउरीले माया सजिएको त्यो दिन ! 

पच्छेउरीले माया सजिएको त्यो दिन ! 


  • 19.6K
    SHARES
    • माघ ८, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 30.1K Views

    पच्छेउरीले माया सजिएको त्यो दिन ! 

    काठमाडौंको चिसो मौसम तर छुट्टै उल्लास थियो त्यो दिन । विगत केही वर्ष यता लगातार पुस १७ लाई उत्सवकै रुपमा मनाउँदै आइरहेको राष्ट्रिय पोशाक दिवस अहिले नवौं वर्षमा प्रवेश गरेको छ । म यो अभियानमा जोडिएदेखि आजको दिनसम्म आइपुग्दा धेरै साथीहरुसँग जोडिने अवसर पाएँ । कतिबीच बाटोमै अलमलिए त कति अझैसम्म निरन्तर छन् र नयाँ साथीहरू जोडिने क्रम पनि छँदैछ । राष्ट्रिय पोशाक दिवस यो भन्दा पहिले आफ्नै ठाउँ दाङमा मनाउने गरे ता पनि यो वर्ष भने काठमाडौंमै आएर मनाउन प्रिय दाइ राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द मान्डब्यको आग्रहलाई अस्वीकार गर्न सकिन । यो मेरो काठमाडौंमा भएको कार्यक्रममा पहिलो सहभागिता थियो ।

    images

    म एकदमै उत्साहित थिए, तर हल्का थकित पनि कार्यक्रमको तयारीका लागि २ रात हामी अनिदो भएर जुटेका थियौं । जब हामी बिहान १० बजे बसन्तपुरमा ¥यालिको लागि तयारी गर्दै थियौं । पञ्चेबाजा बज्न थाल्यो । अनी त्यही तालमा एकजना अग्लो खालको चप्पल लगाकी युवती छमछम नाच्न थालिन् । त्यसरी नाच्ने ती सुन्दर युवती को होलिन् ? झट्ट हेर्दा आधुनिक युगको केटी जस्तो देखिए पनि मौलिक भाकामा कस्तो कम्मर मर्काउन जानेकी ! के उनलाई त्यति अग्लो चप्पल लगाएर नाच्न अप्ठ्यारो भएको छैन ? मेरो आँखाले उसले थाहाँ नपाउने गरी चिहाई रहेको थिएँ ।

    म उसको लागि अपरिचित मान्छे । पहिलोपटक उसलाई देख्दै छु । न म उसको छेउमा गएर हेलो म समिर अनि तपाई ? भनेर सोध्ने हिम्मत छ, न कुनै अरु बाहाना । म एकोहोरो हेरिरहन बाहेक अरु केही गर्न सक्दैन थिएँ । तर हामी केटा मान्छेहरूको एउटा समस्या के हुन्छ भने अलिकति सुन्दर केटी कोही देख्यौं कि नजिक हुन मन लागि हाल्ने ! बरु उसले दाइ किन नभनोस् लाइन मारिहाल्नु पर्ने !

    तर मेरो यो कुरामा अलिकति फरक मत छ । म सायद सामान्य विकट ठाउँ रोल्पामा हुर्केको भएर पनि हुनसक्छ, नयाँ मान्छेहरु अलि फरक पहिरन गरेको  देख्यो कि अचम्म मानेर हेर्न मन लाग्ने । अझ उसले त शरिरका विभिन्न ठाउँमा ट्याटु नै ट्याटु खोपेकी थिइन् । अनुहार पनि उज्यालो हँसिलो, जो कोहीको पनि ध्यान खिच्न सक्ने ।

    हामी जतिसुकै आधुनिकताको कुरा गरेता पनि हाम्रो समाज र संस्कारले हामीलाई केही परिधिभित्र बाँधेको हुँदोरहेछ । अशिक्षाको कारण भन्न पनि अलि नमिल्ला, किनकि म राजनीतिशास्त्रमा मास्टर्स गरिरहेको विद्यार्थी पनि हुँ । मलाई थाहा छ मेरो सोँच त्यति साँघुरो पनि छैन, तर कताकता हाम्रो समाजको  प्रभाव चाँहि पार्दो रहेछ । यो कुरा यहीँ रोकौं । बरु म त्यसपछिको कुरा सुनाउछु ।

    छमछम आफ्नै तालमा नाचिरहेकी सुन्दरीले मै तिर इसारा गरेर नाच्न बोलाइन् । म  लाजले टाउको निउँराए । अनी अकमक्क परेर सोच्दै थिएँ, ‘कसरी बोलाउन सकेको नचिनेको मान्छेलाई । पहिलो भेटमै नाच्न के मलाई नै बोलाएकी हो त ?’ वरपर हेरे तर म त्यसै मख्ख परेको रहेछु मेरो पछाडिबाट एकजना मित्र कोटको बाउला सिम्लदै उसको छेउमा गएर पञ्चेबाजाको तालमा मच्चिएर नाच्न थाल्यो । एकछिनको नाचगानपछि हाम्रो ¥याली बसन्तपुरवाट भृकुटीमण्डप तिर लाग्यो । कार्यक्रम पर्यटन बोर्डमा थियो । बाटोमा भने ती सु्न्दरीलाई  खासै नाँचेको  देखिन । अरु सबैजना आफ्नै तालमा नाच्दै हिडिरहेका थिए । ती सुन्दरी पहिलो लाइमा व्यानर समाएर हिडिरहेको थिइन् । एकछिन मैले पनि त्यहीँ लाइनमा गएर व्यानर समाएँ । मेरो ध्यान भने अगाडि सडकतिर भन्दा पनि बढी त्यही सुन्दरी तिरै थियो ।

    कार्यक्रम निर्धारित समयभन्दा अलिकति ढिला सुरु भयो । कार्यक्रमको प्रमुख अतिथी पर्यटन, सँस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले हुनुहुन्थ्यो । अन्य विशिष्ट अतिथिहरु चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, कुन्ति मोक्तान, शीसीर योगीलगायत मैले नचिनेका थुप्रै अग्रज व्यक्तित्वहरुको पनि उपस्थिति थियो । कार्यक्रममा प्रतिष्ठानले पहिलोपटक युगपुरुष साहित्यकार तथा इतिहासविद् सत्यमोहन जोशीलाई राष्ट्रिय पुरुस्कारवाट सम्मान गर्दै थियो । त्यसमा मलगायत केही साथीहरू सम्मानित हुदै थियौं।

    कुनै एउटा नयाँ ठाउँ, जहाँ मलाई चिन्ने सिमित मान्छेहरू मात्र छन्, त्यहाँ म आफैं सम्मानित पनि हुदैछुँ । त्यस्तो बेला जब कोही विशिष्ट अतिथिको स्थानमा बसेर मिठो मुस्कानसहित मलाई नै इसारा गरेर ‘वेस्टअफ लक’ भन्दै हुनुहुन्थ्यो, मैले मेरो अभिभावकलाई भेटाएको महशुस भयो । शब्दले व्यक्त गर्न नसके पनि कति आत्मीय लाग्दो रहेछ बिरानो ठाउँमा एउटै ठाउँको मान्छे भेटिँदा ।

    उहाँ अहिले नेपाल पत्रकार महासंघको अध्यक्ष हुनुहुन्छ। मेरो र विपुल दाइको घर एउटै ठाउँमा हो । हामी सधैं जसो भेट नभए पनि कहिलेकाहीँ भेट भइरहन्छ । सायद कामको व्यस्तताले गर्दा दाइ दाङमा भन्दा बढि बाहिरतिर नै बस्ने भएर होला । तर दाङ आएको बेला मेरो चिया घरमा आइरहनु भएको हुन्छ। उहाँ काठमाडौंमा नै हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । पछि मैले कार्यक्रमको खाका हेर्दा थाहा पाएँ बिपुल दाइको नाम पनि रहेछ विशिष्ट अतिथिमा म हर्षित थिएँ । मलाई सधैं सल्लाह सुझाव र हौसला दिइरहने आदरणीय व्यक्तित्वको अगाडि सम्मानित हुँदाको त्यो क्षणलाई म सधैं सम्झिरहने छु ।

    कार्यक्रम सफलता पूर्वक समापन भयो। धेरै जस्तो मान्छे निस्किसकेका थिए। अन्तिममा बचेका केही साथीहरूको फोटोसेसन चल्दै थियो। मैले ती सुन्दरीसँग फोटो खिचाउने अवसर पनि पाएँ। फोटो खिचाइसकेपछि आफैले मलाई फोटो सेयर गर्नुस् है भनिन् उनले। मैले के मा गर्ने कसरी गर्ने ? प्रश्न गरे । ‘फेसबुकमा गर्नुस् न’ भन्ने उनको जवाफपछि मैले मेरो फोन उनैलाई दिए। उसले नै रिक्वेइस्ट पठाइन फेसवुकमा। त्यो कार्यक्रमको हामी आयोजक कमिटीसँग चिया पिउने निधो भयो। 

    कार्यक्रम साजाउनलाई बनाएको स्वागत गेट निकालिदै थियो, जहाँ रंगिबिरङ्गी फूलहरु राखिएका थिए। ती सुन्दरीले मलाई मेरो नजिकै आएर ‘उ त्यो फूल ल्याइदिनुस् न’ भनेर अनुरोध गरिन्। यतिखेरसम्म हामी हल्का फुल्का बोलिरहेका थियौं। अब उनले एक्कासी मलाई सोझो देखेर हो कि जिस्काउनलाई भनेको फुल टिपेर दिन आग्रह गर्दैछिन्। म पनि के कम, उसले जिस्काउँछे भने म पनि जिस्किदिन्छु। मैले सोधे ‘कुन चाहि रंगको ल्याइदिम् ?’ उनले मुस्कुराउदै ‘रातो’ भनिन्। 

    मैले ति कोमल फूललाई छिनाएर एउटा घुडा भुइँमा टेकेर प्रेम प्रस्ताव राखे जस्तै गरेर उनलाई  दिए। उनले धन्यवाद भनिन् या भनिन्, मलाई याद भएन। तर अनुहारमा मुस्कान भने थियो। हाम्रो क्रियाकलाप देखेर साथीहरूले जिस्काउन सुरु गरिसकेका थिए।  थोरै हिडेर चिया पसल पुग्नु पर्थ्याे । उनी बाटोमा ‘चप्पलले खुट्टा खायो’ भन्दै अन्कनाउदै थिइन् ।

    मैले ‘अघि उफ्रि उफ्रि नाच्दा त केहि भएन’ है भन्दै जिस्काएँ । बाटोमा मैले उसको नाम सोधेँ –अक्वा। ‘नाम पनि कस्तो अप्ठ्यारो, अनि घर पोखरा।’ अनि किन आधुनिक सोँचकी नहोस्,–मनमनै सोचेँ। उनले सुरुवातदेखि नै एउटा परिचयपत्र घाँटीमा झुन्ड्याकी थिइन्, सोध्न मन लाग्यो–के हो त्यो ? उनी एउटा संस्थाको प्रतिनिधित्व गरेर आएकी रहिछिन् । ‘पहिलो पाइला’ रहेछ त्यो संस्था । 

    हाम्रो पहिलो भेट, तिमीसँग मेरो पहिलो कुराकानी, तिमी मेरो पहिलो साथी, तिमी मेरो पहिलो  प्रेमिका ! उसको संस्थाको नामले मेरो मनमा उब्जाएको अनावश्यक कुराहरू । ल मानौ हाम्रो भेट पहिलो भयो होला कुराकानी पनि पहिलो भयो होला तर न म उसको पहिलो साथी न पहिलो प्रेमी । बेकारमा यस्तो कुरा किन खेलिराछ मेरो मनमा ? 

    हामी चिया पसलमा पुग्यौं सबैले दाल रोटी मगायौं। चिया बन्दै थियो । मेरो छेउमा रामजी र अंकित बसेका थिए । राजानन्द दाइ आफ्नै गफमा मस्त हुनुहुन्थ्यो–आजको कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै । मलाई सम्मान गर्दा दिएको दोसल्ला मैले टाउकोमा बेरेको थिएँ। मेरो ठिक अगाडी त्यही सुन्दरी बसेकि थिइन् । खाजा खाइरहदा हल्का ‘पीन्च’ गर्दै दुबै जनालाई जिस्काउने अवसर सबैलाई मिलिरहेको थियो । खाजा खाइसकेपछि चिया आयो ।

    चियाको चुस्किसँगै गफ मच्चिदै थियो । उनले ‘कस्तो जाडो भयो, खै त्यो पच्छेउरी  दिनुस् न’ भनिन्। मैले नसुने जस्तो गरेँ । तर रामजीले छेउवाट हाँस्दै थप्नु भयो,–‘दोहोरी भाका सहित पछ्यौरी लेउ बैना आजै टुङ्गो लगाईदेउ माया छकी छैन ?’ सबैजना गलल हासेँ । मैले मेरो टाउकोवाट पछ्यौरी निकालेर दिएँ । उसले सहजै लिई पनि ।

    अव झन् जिस्काउन सवैलाई सजिलो भयोहाल्यो । एकछिन सबै रमाइलो गरेउ हाँसो ठट्टा गर्दागर्दै रात झमक्क परिसकेको थियो । सबैजना हात मिलाउदै छुटियौ । छुटिदा उनले पछ्यौरी फिर्ता गर्छिन् कि जस्तो लागेको थियो । तर गरिनन् । कि त उनलाई धेरै नै जाडो भएको हुनुपर्छ त्यसैले पछ्यौरी फिर्ता गरिनन्, कि फेरि भेट्ने बाहानामा पछ्यौरी लिएर गइन् । मेरो मनोगत विश्लेषण यस्तो रह्यो । फिर्ता आउला त मेरो पछ्यौरी ? मनमा आजकल यो प्रश्न आइरहन्छ । माया पछ्यौरी भन्दा पनि पछ्यौरी लैजानेको हो सायद !


    समिर ओली
    लेखकबाट थप