नेपालको राजनैतिक आन्दोलनको इतिहासलाई हेर्दा पहिलो किराँतराजा यलम्बरबाट सुरु भएको देखिन्छ । त्यसपछि लिच्छवि, ठकुरी, मल्ल राजाहरुले शासन गरेका थिए । मल्ल राजाहरुमा जयस्थिति मल्ल, प्रताप मल्ल, जय प्रकाश मल्ल, र रणजीत मल्ल आदिले शासन गरे, भने शाह वंशको इतिहास हेर्ने हो १७६८ सालदेखि गोरखाका राजा पृथ्वीनारायणको पालादेखि भने राजा दिपेन्द्रको १ दिने कार्यकाललाई गणना गर्दा १३ पुस्ताले शासन चलाए, त्यसैगरी राणा कालमा ९ जना श्री ३ महाराज भएर निरंकुश शासन सत्ता सञ्चालन गरे ।
इसं १७६९ देखि २००६ सम्म २३७ वर्ष शाह वंशले प्रत्यक्ष र परोक्ष रुपमा शासन चलाएका थिए । १०४ वर्षका बिचमा राणाहरुले शासन चलाए जुन समयमा नेपालको प्रजातान्त्रिक अधिकारहरु अत्याधिक हनन् भएको समयको रुपमा हेरिन्छ । हुनत शासन सत्ता निरंकुश हुनाको पछाडि, शासन सत्ता जनदवाबले आयो की ? सेनाको प्रयोग गरेर जवर्जस्ति ल्याइयो, तथा जनताको हक अधिकार तथा सम्वृद्धिको लागि ल्याइयो की ? पारिवारिक र वंशाणुगत शासन स्थापित गर्न ल्याइयो भनेर शासन सत्ता कस्तो हुने भन्ने कुरा निर्भर गर्दछ । राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारबाट बन्चित भएपछि नेपालमा प्रजातान्त्रिक आन्दोलनको सुरुवातको इतिहासलाई नियाल्दा लखन थापा बिद्रोह तथा कृष्णलालको मकैको खेती को कुरा पनि प्रमुख रुपमा आउँछ ।
नेपालको सबै भन्दा पुरानो राजनैतिक पार्टी टंकप्रसाद आचार्यको नेतृत्वमा गठन भएको नेपाल प्रजा परिषद नै हो । त्यसपछि नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस मिलेर नेपाली कांग्रेसको स्थापना भएको थियो । त्यसै गरी नेपाली कांग्रेसले लिएको नीति तथा त्यसको वैदेशिक राजनैतिक पार्टी तथा नेताहरु सँगको सम्बन्ध देखेर उसले मुलुकको परिवर्तन गर्न सक्दैन भनेर २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । जसको नेतृत्व पुष्पलालले गर्नु भएको थियो । हुन पनि २००७ सालमा राणशासन बिरोधी आन्दोलन भयो तर उक्त आन्दोलनलाई राजा, राणा, कांग्रेस भएर भारतको मध्यस्थतामा त्रिपक्षीय सम्झौता गरी तुहाइयो ।
जसलाई दिल्ली सम्झौताको नामले चिनिन्छ । जुन सम्झौता अनुसार राणा प्रधानमन्त्री मोहन शमशेर पुनः प्रधानमन्त्री भए भने बी.पी. कोइराला गृहमन्त्री भए । उक्त दिल्ली सम्झौताको चौतर्फी विरोध भयो, स्वयं नेपाली कांग्रेस र उ द्वारा गठित मुक्ति सेनामासमेत विद्रोह भयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले उक्त सम्झौताको बिरुद्ध आन्दोलन नै गर्यो । उक्त विरोध खप्न नसकेर भारतको इसारामा नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिवन्ध लगाइयो । राणहरुको सत्ता हत्याउने षडयन्त्र, राजालाई आफू नै हातमा मात्र सत्ता केन्द्रित गर्ने लालच, नेपाली कांग्रेस भित्र भारतीय स्वार्थको प्रभाव आदिको कारणले हुने भनिएको विधान सभाको निर्वाचन पनि हुन सकेन ।
सत्ताको छिनाझपटी, मन्त्री र प्रधानमन्त्रीको फेरबदलकाबीच २०१५ सालमा आम निर्वाचन भयो । जस अनुसार नेपाली कांग्रेसले तत्कालीन संसदमा १०९ सिटसहित दुई तिहाइ बहुमत प्राप्त गर्यो । नेकपाले ४ सिट र तत्कालीन गोरखा दलले २४ सिट प्राप्त गर्यो । बी.पी. कोइरालाको नेतृत्वमा नेकांको एकल दुईतिहाइको सरकार गठन भई कार्य प्रारम्भ गर्यो । नेकांको सरकारले दुईतिहाइ बहुमतसहितको सरकार त बनायो, जुन विकास, शिक्षा र सम्वृद्धिको लागि सुनौलो अवसर थियो, तर दुर्भाग्य उही सत्ताको छिना झपटी, भारतसँग राष्ट्रघाती सन्धि सम्झौता, मन्त्री मण्डलको फेरबदल, विपक्षी दलहरु प्रतिको असहिष्णुता आदि देखायो विपी सरकारले । के निउ पाउँ भनेर बसी रहेका चलाख राजा महेन्द्रले त्यही मौका पारेर अलिअलि भएको जनअधिकार पनि खोसेर निरंकुस दलबिहिन पञ्चायति व्यवस्थाको स्थापना गरे ।
दुई तिहाई बहुमत भएको पार्टी र पार्टीका नेता, कार्यकर्ता तेत्रो प्रधानमन्त्री, तथा पार्टी नेताहरुलाई गिरप्mतार तथा नजर बन्द गरेर दलमाथी प्रतिबन्धसमेत लगाउँदा उक्त शाही कदम विरुद्धमा एउटा छड्के जुलुससमेत गरेर विरोध जनाउने हैसियत राख्न सकेनन् कुनै पार्टी, व्यक्ति, तथा संघसंस्थाहरुले । बरु कतिपय तत्कालीन नेताहरु नेपालको हावापानी, माटो सुहाँउदो पञ्चायत व्यवस्था सत्य भएको कुरा स्वीकार गर्दै तेताको बाटो समात्न पुगे । त्यसले पनि के देखाउछ भने तत्कालीन सरकार र पार्टीहरुप्रति जनताहरु सन्तुष्ट थिएनन् ।
पञ्चायत व्यवस्थाको पार्दुर्भाव सँगै नेकांका धेरै नेताकार्यकर्ताहरु पञ्चायत व्यवस्था हावापानी माटो सुहाउँदो हो भन्दै पन्चायतको समर्थनमा वक्तव्य निकाले भने नेकपामा पनि राजाको कदमलाई हेर्ने दृष्टिकोणलाई लिएर फरक–फरक धारणा आउँदा विभाजित अवस्थामा पुगे र गम्भीर वहस र विवादको सुरुवात भयो । समसामयिक राजनीतिक घटना विष्लेषण तथा आवश्यक धारणा बनाउन नेकपाको बिस्तारित बैठक भारतको दरभंगामा आयोजना गरियो, जसलाई दरभंगा प्लेनमको रुपमा चिनिन्छ । जसमा ३ थरी बिचार आए जस अनुसार बिघटित संसदको पुर्नस्थापना, संविधानसभाको चुनाव र संसदीय व्यवस्थाको स्थापनाको कार्यक्रम थिए । २०२४ मा नेकपाको तेश्रो महाधिवेशनसम्पन्न भयो, जसले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम बहुमतद्वारा पारित भयो र तुलसीलाल आमात्य महासचिव निर्वाचित भए ।
त्यसपछि कम्युनिष्ट पार्टीमा औपचारिक विभाजनको सुरुवात भयो । २०२७ सालदेखि पुनः आन्दोलनको एकीकरणको प्रयास भयो, जस अनुसार त्यसको अगुवाई पार्टीको पूर्वकोशी प्रान्तीय कमिटी अन्तर्गत झापा जिल्ला कमिटका युवाहरुले गरे र को के को गठन गरे । २०२९ सालमा निर्मल लामाको नेतृत्वमा विभिन्न समूहहरुलाई मिलाएर केन्द्रीय न्यूक्लियसको गठन भयो भने अर्को तिर को के को पहलमा देशका विभिन्न भागमा छरिएर रहेका युवा क्रान्तिकारीहरुलाई समेटेर अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन केद्र (माले) को स्थापना २०३१ सालमा गठन गरे ।
२०३२ सालमा केन्द्रिय न्युक्लियसको पहलमा चौथो महाधिवेशन भयो र उक्त समूहको नाम नेकपा चौ.म. रहन गयो । २०३५ साल मा कोकेको पहलमा राष्ट्रिय सम्मेलनको आयोजना गरियो जसको नाम नेकपा (माले) राखीयो महासविमा चन्द्र प्रकाश मैनाली निर्वाचित भए , यद्यपी त्याहाँ पनि तत्कालीन कार्यनीति पार्टी स्वतन्त्रताकी, राजनैतिक स्वतन्त्रता भन्ने विवादपछि तत्कालीन महासचिव सी पी मैनालीलाई कू गरेर झलनाथ खनाललाई बनाइयो २०३९ सालमा ।
त्यति बेला पनि बहुमतको नाममा विधि विधानलाई लत्याइएको थियो । उक्त समूहमा विभिन्न समूहहरु समावेश भएर देश भरीको ठूलो कम्युनिष्ट पार्टीको रुपमा उदयमान भयो । २०४६ सालमा सिराहामा चौथोमहाधिवेशन र मदन भण्डारी महासचिव छानिए । २०४८ सालमा मनमोहनको नेतृत्वमा रहेको नेकपा माक्र्सवादी र नेकपा मालेको एकीकरण भई नेकपा एमा र ले पछि नेकपा एमाले भयो । २०४८ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले ११४ सिट ल्याई बहुमतको सरकार गठन गर्यो भने नेकपा एमाले ६९ सिट ल्याई प्रमूख प्रतिपक्ष र संयुक्त जनमोर्चा ९ सिटसहित तेश्रो पार्टी र पूर्व पञ्चहरुको पार्टी राप्रपाले ४ सिटमा चित्त बुझाउनु पर्यो । ५ वर्षको लागि जनअनुमोदित नेपाली कांग्रेसले सत्ताको खिचातानी, गिरिजा प्रसाद कोइरालाको अहंता, देश भरी विपक्ष माथिको दमन, सर्वसत्तावादी चिन्तनको कारणले गर्दा २०५१ सालमा संसदको विघटन र मध्यावधि निर्वाचनको घोषण गर्न पुगे ।
२०५१ सालको मध्यावधि निर्वाचनमा ९१ सिटसहित सबैभन्दा ठूलो पार्टीको रुपमा नेकपा एमाले उदायो र संसदको सबैभन्दा ठूलो दलको रुपमा अलपमतको सरकार गठन गर्यो जुन सरकार नेपालको इतिहासमा अत्यन्त लोकप्रिय सरकारको रुपमा स्थापित भयो । उक्त सरकार ९ महिनामै ढालियो र विभिन्न सरकारहरु गठन भए, हाल नेकांका नेता शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकार ५४ सदस्य जम्बु मन्त्रिमण्डल गठन गरेर, संसदहरु खरिद विक्री गर्ने, होटेलमा थुन्ने, सुरा सुन्दरीको व्यवस्था गरिदिने, विदेश शैर गर्न पठाउने आदि एकपछि अर्को विकृतिका किर्तिमान कायम गर्न पुगे नेपालको प्रजातान्त्रिक इतिहासमा । यद्यपी त्यो भन्दा अगाडी नै २ जना सांसद बेपत्ता बनाएर गीरीजाप्रसाद कोइरालाको सरकारले ल्याएको नीति तथा कार्यक्रम अल्पमतमा बनाएपछि सांसद बिघटन गरिएको थियो । आप्mनै पार्टीका सांसदहरु मतदानको बेलामा आप्mनै पार्टीको सरकारलाई असहयोग गर्नु बिकृतिको सुरुवात भएकै थियो ।
२०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले दुईतिहाई सिट हासिल गरेता पनि सो समयपछि एमालेमा माहाकाली सन्धिको विषयमा मतभेद भएर पार्टी विभाजन भई नेकपा माले गठन भयो, अनी माले र एमाले भएर चुनाव लडेपछि पुनः नेपाली कांग्रेसले २०५६ को चुनावमा बहुमत ल्यायो र कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा सरकार गठन भयो । उक्त सरकार गठन भएको एकवर्ष पनि नभइ भट्टराई सरकार ढालेर पूनः गिरीजाप्रसाद कोइराला प्रधानमन्त्रीमा छानिए । आफू नै पार्टीको नेतृत्वको सरकार विरुद्ध दोश्रो पटक कु भयो । उता २०५१ सालमा विभाजित नेकपा एकता केन्द्र नेकपा माआवादी र नेकपा एकता केन्द्र भए । तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्षको घोषणा गरेर आफ्नाे गतिविधिलाई देश भरी बिस्तार गरे ।
यता संसदवादी दलहरुमा पनि दिशाहिनता देखियो । खास गरी नेपाली कांग्रेस भित्र तीव्र सत्ता संघर्षको कारणले नेकां विभाजित हुनपुग्यो । अनि देउवाको नेतृत्वमा भएको बदनाम सरकारलाई अक्षम घोषणासमेत गरी आप्mना दाजु वीरेन्द्रको वंशनाशपछि स्थापित राजा ज्ञानेन्द्रले शासन सत्ता आप्mनो हातमा लिए । राजा ज्ञानेन्द्रबाट एकदुई किक खाएपछि सत्ता संघर्षमा रमाएका दलहरु खास गरी नेपाली कांग्रेस जो अधिकांस समय सत्ताको केन्द्रमा बसेको थियो, समेत माओवादी र ७ दल भएर संयुक्त जनआन्दोलन गरे र राजा ज्ञानेन्द्रलाई झुकाएर विघटित संसदको पुर्नस्थापना गराउन सफल भए । २०६२/२०६३ सालमा जनआन्दोलन सफल भएपछि २०६४ सालमा संविधानसभाको चुनाव भयो, जसमा नेकपा माओवादीले सबैभन्दा ठूलोदलको हैसियत प्राप्त गरेर प्रचण्डको नेतृत्वमा नेकपा एमालेसहितको सरकार स्थापना भयो ।
सत्ताको मात, सहकर्मी दलहरुलाई हरुवा गोरुको छेरुवा दाउ, जस्ता अपशब्द बोल्ने , अनि क्रान्ति नै सफल भएजसो गरी विभिन्न उट्पटाङ्ग काम गर्ने र खासै जनप्रिय कामसमेत नगरेको हुँदा अन्य विपक्षीहरु सबै एकजुट भए प्रचण्डले राजिनामा दिए र संयुक्त सरकार गठन भयो । उक्त संविधानसभाले संविधान निर्माण गर्न सकेन र २०७० सालमा पुनः दोश्रो संविधानसभाको चुनाव भयो । दलहरुको तिक्तता यति धेरै बढेछकी एकले अर्कालाई न स्वीकार्ने कारणले गर्दा एकजना कर्मचारीलाई सरकारको नेतृत्व दिन पुगे र एकजना भ्रष्ट पूर्व कर्मचारीलाई अख्तियार जस्तो महत्वपूर्ण निकाय जिम्मा लगाउन पुगे । अनी त्यसपछिका गतिबिधिहरु सर्वबिदितै छन् ।
वास्तवमा नेपालमा जे जति प्रतिगमनका घटना भए ती सबै सत्ताका स्वाद लिने र नपाउनेबीचका संघर्षका परिणाम हुन् । २००७ सालपछिको सरकार सुवर्ण समसेर र बी पी कोइरालाबीच सत्ता संघर्षमा बिते र यहाँ सम्मकी नेपाल कम्युनिष्ट पार्टी माथी नै प्रतिबन्ध लगाउन पुगे । २०१५ सालको दुईतिहाई बहुमतको सरकार मातृका र बीपीको सत्ता संघर्षलाई आधार बनाएर राजा महेन्द्रले अपहरण गरे । अनी २०४८ सालपछिको नेपाली कांग्रेसको सरकार गीरिजा प्रसाद कोइरालाको अहंता, कांग्रेस नेतृत्वको सर्वसत्तावादी सोच, राष्ट्रघाती सन्धि सम्झौताहरु, सत्तासंघर्षका विकृत रुप आदि कारणले गर्दा राजा ज्ञानेन्द्रले अपहरण गरे । अनी अहिलेका गतिविधिहरु पनि तेस्तैछन् । छदाँखाँदाको सुविधाजनक बहुमतको सरकारलाई पार्टी भित्रको झगडालाई व्यवस्थापन गर्न नसक्दा तथा सत्ता हुने र नपाउने बिचको तीव्र अन्तर्विरोधहरुले गर्दा न त जनपक्षीय काम नै धेरै हुन सके न इमानदार कार्यकर्ताहरुले जनताको सरकार भनेर गर्वगर्न सकेका छन् ।
जसले सरकारको विरोध गरे तिनिहरुले पनि फगत सत्ता नपाएको र अर्काले एक्लै उपभोग गर्यो भनेर मात्र विभाजनको बिउ रोपे । यदि जनजीविका, र विकासका सवाललाई लिएर विवाद सृजना गरेका भएदेखि सायद जनसमर्थन र कार्यकर्ताहरुको साथ पनि अली बढी पाउँथे होलान्। हाम्रो उत्तरको छिमेकी चीनमा सन १९४९मा क्रान्तिपछि आएको कम्युनिष्टको सरकारले मुलुकलाई एकदमै अति कम विकसित, सामन्तवादी संस्कारले ग्रस्त मुलुकबाट संसारकै शक्तिशाली मुलुकको लाइनमा पुर्यायो, आर्थिक रुपमा उसले मारेको फड्कोलाई हेर्दा संसारै छक्क परेको छ, उता हाम्रो दक्षिणको छिमेकी देश भारतमा प्रान्तीय सरकार बनाउँदासमेत केरलालाई शिक्षित प्रदेशको रुपमा पहिचान दिलाउन सफल भए, त्रिपुराको अवस्था त्यस्तै हो, पश्चिम बंगाललाई हेर्ने हो भने ज्योतिबसुको नेतृत्वमा बनेको वाममोर्चाको सरकारकासम्म लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गर्न सफल भयो । अन्यत्रका उदाहरणहरु छँदैछन् चाहे भियतनाम होस् या क्युवा , अमेरिकी साम्राज्यवाद सँग लडाई गर्दै भौतिक तथा मानवीय विकासमा अग्रता कायम गर्न सकेका छन् ।
यी सामान्य घटनाहरुबाट नेपालका प्रजातान्त्रिक भनिएका नेताले शिक्षा लिनुपर्ने हो, तर जतिचोटी ठक्कर खाए पनि चेतेका छैनन । नेपालीमा भनाई छ ‘भाग्यमानीले अर्काको देखेर सिक्छ, अभागीले आफुले परेर सिक्छ’। हाम्रा नेताहरु त आफू पटकपटक पर्दासमेत सिक्दैनन् भने अनी हामीले नेतृत्वबाट के आशा गर्ने ? नेतृत्व त त्यस्तै भइहाल्यो कार्यकर्ता पंति पनि विकास हुन सकेन । समग्रमा कुरा ठिक गर्छ तर ऐन मौकामा नेतृत्वको भजन मण्डली हुन पुग्छ ।
अनी जति सुकै गलत काम गरे पनि, जति सुकै भ्रष्टाचारमा मुछिए पनि, जति सुकै राष्ट्रघाति काम गरे पनि, जति सुकै नीति, विधि, पद्धति मिचे पनि जयगणेशः, जयगणेशः देवाः भनी रहन्छ । त्यो काम अहिले केन्द्रमा मात्र हैन, फगत एक थाल भातको लागि जतिसुकै गलत काम गरेता पनि विकाश प्रेमी नेता मात्र हैन विकासका मसिहा, र कम्युनिष्ट आन्दोलन अर्थात प्रजातान्त्रिक आन्दोलनको वारेमा कखरा पनि थाहा नपाएकाहरुलाई कम्युनिष्ट आन्दोलनका योद्धा, अनि जनता र कार्यकर्ताहरुलाई तुच्छ सम्झेर, ठूलाठूलाकै सेवा गर्न खोज्नेलाई जनताको मनमुटुमा बस्न सफल अथवा जनताका ढुकढुकी आदि विष्लेषणसहित चाकडी बजाउछन् जसले गर्दा नराम्रो काम गर्नेलाई पनि म त निकै राम्रो काम गर्न गइरहेको रहेछु भन्ने भ्रम पर्न जाँदोरहेछ की केहो झन राम्रो गर्लान् भन्यो झन गलत गर्न पुग्छन् ।
समग्रमा नेपाली कांग्रेस होस् या वाम पार्टीहरु राजकीय सत्ता र पार्टी भित्रको सत्ता आप्mनो हातमा लिएपछि नीति, विधि पद्धति मिचेर काम गर्न पुग्छन् अनि ती गलत प्रवृतिको बिरोध गर्नको सट्टा ठिक गर्नुभयो भनेर नेताको चाकडी बजाएर राजकीय अर्थात पार्टीको सत्तास्वादनको लागि ल्याप्चे लगाउन पुग्छन जसले गर्दा देशमा यी विकृति र विसंगति भइरहेका छन् ।
यी र यस्ता गलत काम राजनैतिक नेतृत्वको थाहा पाएपछि कर्मचारी तन्त्रलाई झन बाँदरलाई लिस्नु सरह भएको छ, उनिहरु राजनैतिक नेतृत्वलाई अलिअलि भाग लगाएर राष्ट्रिय ढुकुटिको भान्सा गर्न व्यस्त छन् । अनि हामी कार्यकर्ताहरु जुठोपूरो खाएर तथा खान पाइन्छकी भनी उधारो आशामा भजन गाउँदै ठिक्क छौ अनि कहिले हुन्छ विकास ।
राजनीति गर्ने भनिएका हामी राजनैतिक दलका नेता कार्यकर्ताहरुले हामी नेपालीहरुको स्वाभिमानी ऐतिहासिक बिरासतलाई साँक्षि राखेर यी विकृति र विसंगतिहरुलाई अन्त गर्न कम्मर कस्ने हो भने प्रणालीको बिकासको लागि धेरै समय कुर्नु पर्ने थिएन । साँचै हामी पार्टीमा लाग्दा के सोचेर लागेका थियौँ ? तीनै भ्रष्टहरुको चाकडी बजाउदै उनिहरुबाट फालिएको सिनोको टुक्रा लुछाचुडि गर्दै खोसाखोस गर्न ? पक्कै पनि हैन, यदि हैन भने हामी की आप्mनो आस्था अनुसार स्वच्छ राजनीति गराँै, सक्दैनौ भने अन्य आयमुलक पेशामा लागेर आप्mनो परिवार खुसी पारौँ । सबैलाई चेतना भया ।
शेखर भट्टराई
