काठमाडौं, ११ माघ । सुदूरपश्चिम सरकारले ओमिक्रोन पुष्टि भएका चार जनालाई खोजिरहेको छ। गत पुसको २५ गते भारतबाट नेपाल आएका उनीहरुमा ओमिक्रोन पुष्टि भएको हो।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरैन्द्र कार्कीका अनुसार गौरिफन्टा नाका हुँदै नेपाल आएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भए पनि उनीहरुले होम आइसोलेस रोजेका कारण घर जान दिइएको थियो।
उनीहरुको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कञ्चनपुरका दुई, बझाङ र डोटीका एक/एकजनामा ओमिक्रोन भेरियन्टको संक्रमण संक्रमण पुष्टि भएको हो । कार्कीका अनुसार कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो।
प्रवक्ता कार्कीले भने, ‘गौरिफण्न्टा नाकामा १६ दिनअघि कोरोना पुष्टि भएका उनीहरूले होम आइसोलेसन रोजेपछि घर जान दिइएको थियो। तर, उनीहरू अहिले कुन अवस्थामा कहाँ छन् भन्ने एकिन छैन, स्थानीय तहको समन्वयमा खोजीकार्य भइरहेको छ ।’
