हाम्रो समाज राजनीतिले यतिसम्म प्रभावित भएको छ की आफ्नै मान्छेहरुसँग पनि दुरी बढ्नुपर्ने। मेरो पनि केही कमजोरीहरु त पक्कै होलान् तर के विचार फरक भयो भन्दैमा व्यवहार नै फरक गर्नुपर्छ भन्ने छ र ? राजनीतिक आवस्था कै कारण म सँग अझैसम्म पनि मेरा आफन्तहरु खुलेर बोल्दैनन्। न मैले उनीहरूको ऋण खाएको छु न कहिले नराम्रो व्यवहार गरेको छु। मैले त परम्परागत राजनीतिक सोचलाई बदल्नुपर्छ मलाई सहयोग र साथ दिनुस् भनेर अनुरोध मात्र गरेको थिए।
२६ वर्षको भए । म सानै उमेरदेखि जिज्ञासु स्वभावको थिए। केही नयाँ कुराहरू जान्न अनुभव गर्न खुब मन लाग्थ्यो । मेरो पढाई मध्यम खालको थियो । न उत्कृष्ट हुन्थे न त फेल नै । प्लस टु सकेपछि मैले केही वर्ष ग्याप गरे । खाली समयको सदुपयोग गर्दै आफ्नै ठाउँमा सानोतिनो जागिर गरे । ३ र ४ वर्ष जागिर गरेपछि जागिर गरिरहन मन लागेन । फेरि ब्याचलर पढ्ने निधो गरे । त्यतिबेलासम्म राजनीतिप्रति धेरै चासो थिएन । तर मलाई राजनीतिक विषय लिएर पढ्न मन लाग्यो । राजनीति के हो, बुझ्न मन लाग्यो । मैले हाम्रै ठाउँमा भएको एक मात्र सरकारी क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना गरे। क्याम्पस पढ्न थालेको पहिलो वर्षमै राजनीतिबारे धेरै कुराहरू बुझे र अनुभव गर्न पाएँ । पढ्ने रहर बोकेर क्याम्पस जाने गरेको म राजीतिबारे राम्रै अनुभव गर्ने मौका पाएँ । यसरी नै जन्मिन्छन् होला सायद हाम्रो देशका नेताहरु भन्ने लाग्यो ।
राजनीति भनेको एउटा स्वच्छ प्रतिस्पर्धाबाट जनताको मन र मत जितेर नेतृत्वमा पुग्ने अनि आफ्नो सम्पूर्ण समय जनताकै सेवामा समर्पित गर्ने हो, भन्ने लागेको थियो । तर मेरो बुझाई अलि फरक रह्यो । सरकारी क्याम्पसमा एक वर्ष बिताउँदै गर्दा मलाई राजनीतिको परिभाषा वेग्लै लाग्यो । कहिले कुन विद्यार्थी संगठनले आफ्नो माग राख्दै ताला लगाउँछ त कहिले कुन संगठनले प्राध्यापकलाई कालो मोसो दल्छ । यो क्याम्पसमा त पढाइ भन्दा पनि बढी राजनीति गर्नका लागि आउँदा रहेछन् जस्तो पनि लाग्यो। कति चिने जानेका आफ्नै साथीभाइहरुलाई पनि त्यहीँ हुलमा भेट्टाएँ। कति जना सँग त यस्तो किन गरेको तिमीहरुको क्रियाकलापले गर्दा धेरै जना विद्यार्थीहरूको भविष्य अन्यवलमा पर्छ भनेर सम्झाउने प्रयास पनि गरे । क्याम्पसाको राजनीति देख्दा म नै सुधार गर्न तर्फ लागे । त्यही क्रममा कति पटक झगडा पनि परेको छ। मैले धेरै पटक क्याम्पस प्रमुखलाईसमेत अनुरोध गरेको छु ।
क्याम्पस हाताभित्र अन्य विद्यार्थीहरुलाई असर पर्ने गरेर विद्यार्थी संगठनहरुलाई राजनीतिक क्रियाकलाप नगर्न भन्नुस भनेर तर विद्यार्थी संगठन मात्र होइन क्याम्पसमा प्राध्यापक संगठन पनि हुदोरहेछन सक्रिय राजनीतिमा त्यस्तो स्थानमा म एउटाले भनेको के लाग्थ्यो। पछि यस्तो वातावरणमा बस्दाबस्दा मलाई विस्तारै राजनीति प्रति झन चासो बढ्न थाल्यो। राजनीति विषयको पढाइले धेरै कुराहरू सिक्ने बुझ्ने सँगसँगै मलाई राजनीति गर्न समेत प्रेरणा मिल्यो । पहिलो वर्षको वार्षिक परिक्षा सकेर दोस्रो वर्षमा भर्ना भैसकेको थिए । ठिक त्यहीँ बेला स्थानीय तहहरुमा उप निर्वाचन हुन थालेको थियो। मेरो घर घोराही उपमहानगरपालिका वडा नं १६ मा पर्छ। मेरो वडामा पनि वडाअध्यक्षको निधन भएकोले वडाअध्यक्षको लागि उप निर्वाचन हुदै थियो। म त्यो समयमा नेपाली राजनितिमा भर्खरै उदाउँन लागेको वैकल्पिक राजनीतिक पार्टी विवेकशील नेपाली दलमा आवद्ध भइसकेको थिएँ। उप निर्वाचनमा भाग लिउँ की न देउ भयो । त्यही कन्फूजनमा केही साथीहरूसँग सल्लाह लिए सबै जनाको सकारात्मक प्रतिक्रिया आयो । राम्रो साथ र सहयोग मिल्ने भएपछि मैले वडाअध्यक्षको उम्मेदवारी दिने निर्णय गरे । तर त्यस समय विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता नभएको कारण मैले स्वतन्त्र उम्मेदवारी दर्ता गराए। चुनावमा मलाई सहयोग गर्नको लागि धेरै जना साथीहरू जिल्ला बाहिरबाटसमेत आउनु भएको थियो। हामी घर दैलो कार्यक्रममा लगभग ९५५ वडावासीहरु घरमा पुगेका थियौ। सबैको प्रतिक्रियाहरु सुन्थ्यौँ। धेरै जनाले अहिलेको राजनीतिक दलहरुप्रति असन्तुष्टि भएको गुनासो गर्नु हुन्थ्यो। त्यस प्रकारका प्रतिक्रियाहरुले हामीलाई थप उत्प्रेरणा मिल्थ्यो। हामी उत्साहित थियौँ कतै जित हासिल गर्छौ कि जस्तो पनि लाग्थ्यो तर मत परिणाम सार्वजनिक हुँदा सोचे भन्दा पनि अत्यन्तै न्यून मत आएपछि हतोत्साहित भयौँ। आखिर परिवर्तन सबैलाई चाहिएको छ ।
अहिलेको राजनीतिक दलहरुप्रति वितृष्णा पनि छ । तर नयाँ पुस्तालाई विश्वास गर्न सकिरहेका छैनन्। अब विश्वास दिलाउन र चुनाव जित्न के गर्ने त की त उनीहरु जस्तै म सँग पनि चुनावमा खर्च गर्न को लागि प्रसस्त पैसा हुनुपर्यो की म सफल व्यक्ति भएर समाजमा स्थापित भइसकेको हुनुपर्यो। चुनावपछि धेरै कुराहरू समाजमा झेल्नु परेको यथार्थ ताजै छ। यो हाम्रो समाज रुपान्तरण नहुनुमा र अझैसम्म पनि विकास नहुनुमा नेतृत्व गर्ने राजनीतिक दलहरुको मात्र दोष छैन स्वयं हामी र हाम्रो सोचका कारण पनि हो । मैले बुझेको हाम्रो समाज आफू कहाँ छ मतलब छैन, सधैं अरुको नराम्रो मात्रै देख्ने गर्छ। मान्छे सफल भए त्यो मान्छेको पहिले देखिको राम्रो मात्रै काम देख्छन् ? त्यही मान्छे असफल भए पहिले देखिको नराम्रो मात्रै काम देख्छन् र फिंजाउँछन्। मतलब मान्छे सफल, ठूलो, धनी बन्न नसक्दैमा ऊ असफल, असक्षम, विचरा भनेर सहानुभूति दिनु समाजले आफ्नो दायित्व ठान्छ। असफल जो पनि हुन्छ, सफल नहुन्जेल सबै असफल हुन् म किन बिचल्ली हुनु बरु एक्लै किन नहुला निरन्तर गन्तव्यमा पुग्नको लागि हिडिरहेने छु। हारले पनि मलाई धेरै चिज सिकाएको छ मैले धेरै कुराहरू अनुभव गर्ने अवसर पाएको छु।
अहिले गाउँमा मेरो उमेरका धेरै जसो साथीहरू विदेशमा छन् भने नेपालमै रहेका केही साथीहरू भने राजनीतिप्रति चासो नै राख्दैनन्। उनीहरूलाई आफ्नै जिन्दगी बनाउन हतार छ, कहिले फुर्सदमा हुदैनन् । मैले एकछिन बसौ केही गफ गरौं भन्दा तेरो राजनीतिक गफ सुन्न हाम्रो समय कहाँ छ र ? प्रश्न गर्छन्। कुनै दिन फुर्सदमा सुनौला नि भन्दै टार्छन्। साथीहरूले यस भन्न थालेको धेरै भइसक्यो । तर उनीहरूलाई मेराे गफ सुन्ने फर्सद कहिले जुरेन । अब समय कहिले आउने पनि छैन । सायद कुनै दिन फुर्सद मिल्नेछ, तब हामी धेरै बुढाे भैसक्नेछाै । त्यतिबेला हामीसँग गफ गर्न प्रशस्तै समय हुनेछ तर काम गर्नलाई हामीसँग बल र तागत हुनेछैन।
समिर ओली
