काठमाडौं, १८ माघ। नेपाल मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा पनि विजयी भएको छ। मंगलबार दशरथ रंगशालामा भएको अफ्रिकी मुलुक मरिससविरुद्धको खेलमा नेपाल एक शुन्य गोल अन्तरले विजयी भएको हो।
यस अघि शनिबार भएको पहिलो खेलमा पनि नेपालले मरिससलाई एक शून्य गोल अन्तरले पराजित गरेको थियो। निकै तनावपूर्ण खेलमा नेपालका सुजल श्रेष्ठले पहिलो हाफको १० औं मिनेटमा गरेको गोलमा नेपालले मरिससविरुद्ध अग्रता बनाएको थियो। उक्त गोल नै नेपालको जितको निर्णायक गोल सावित भयो।
उता खेलको १३ औं मिनेटमा मरिसस पेनाल्टीमा चुकेको थियो। मरिससका कप्तान एन्डी सोफीले प्रहार गरेको पेनाल्टी नेपाली गोल किपर तथा कप्तान किरण कुमार चेमजोङले रोक्न सफल भएका थिए।
खेलको ७० औं मिनेटमा मरिसस र नेपालबीच घम्साघम्सी परेपछि नेपाल र मरिससका दुई खेलाडी रेड कार्ड पाउँदै बाहिरिएका थिए। मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डको साथमा रातो कार्ड पाउँदै बाहिरिएका थिए।
त्यस्तै, नेपालका पुजन उपर्कोटी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएको थिए। खेलको ७८ औं मिनेटमा मरिससका इम्यानुएल पनि रातो कार्ड पाउँदै बाहिरिएपछि मरिसस नौ खेलाडीमा समेटीएको थियो।
नेपालले शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा विमल घर्ति मगरको गोलमा जित हासिल गरेको थियो। यो नेपालको अफ्रिकी राष्ट्रसँगको पहिलो आधिकारिक मैत्रीपूर्ण खेल हो।
