काठमाडौं, २२ माघ । बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ। केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ।
समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन्। उनकाअनुसार उनकाे अवस्था नाजुक छ । उनलाई पुनः भेन्टिलेटरमा राखिएको उनले जानकारी दिए । उनलाई अहिले पनि आईसीयूमा राखिएकाे छ ।
लता गत महिनाको सुरुमै कोरोना संक्रमित भएकी थिइन्। त्यसपछि उनलाई संक्रमित भएपश्चात मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा विस्तारै सुधार भइरहेको बताएका थिए। त्यही कारण उनलाई दुई दिनअघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो।
केही दिनअघि उनका फ्यानले भगवान रामको जन्मभूमि अयोध्यामा लताको स्वास्थ्य लाभको कामना गर्दै महामृत्युञ्जय मन्त्र जप गरेका थिए। यसअघि उनको परिवारले नै भगवान शिवको पुजा गरेका थिए।
लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो। भारतरत्नबाट सम्मानित उनले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गरेकी थिइन्। तर, उनले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाइन्। उनले २० भाषामा हालसम्म ३० हजारभन्दा बढी गीत गाइसकेकी छन्।
