म्याग्दी (बेनी), ३० वैशाख । म्याग्दीको बेनीनगरपालिका–४ सिङ्गामा पुर्ख्यौली कला, संस्कृतिको संरक्षण गर्न मादल बजाउने तालिम दिन सुरुआत गरिएको छ । वडा कार्यालयको आयोजनामा आजदेखि गीत–सङ्गीतको क्षेत्रमा अत्यावश्यक वाद्यवादनका रुपमा चिनिने मादल बजाउने सीप सिकाइसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
एक सातासम्म सञ्चालन हुने तालिममा वडाभित्रका विभिन्न टोल, बस्तीमा रहेका महिला र आमा समूहका ४० जनाको सहभागिता रहेको छ । एक सातासम्म सञ्चालन हुने तालिममा मादल बजाउने सीपका साथै मादलका ताललगायतका बारेमा कृष्ण जिसीले व्यावहारिक तालिम प्रदान गर्नुहुने भएको छ ।
पछिल्लो समय मादल बजाउने सीप हराएर जाने अवस्था आएको र युवापुस्तामा मौलिक संस्कृतिका बारेमा बेखबर हुने जोखिम बढेपछि महिलाहरुका लागि मादल बजाउने सीप प्रदान गर्न तालिम सञ्चालन गरिएको वडाअध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । उहाँले गाउँघरमा हुने पूजा, विभिन्न पर्व, भजनकीर्तनमा वाद्यवादन गर्ने व्यक्तिको अभाव हँुदै गएको अवस्थामा मादल बजाउने तालिमले पुराना संस्कृति र परम्पराको संरक्षणमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सचिव बिनिता रेग्मीले गाउँघरमा हुने भजनकीर्तनमा मादल बजाउनेको अभाव हुने र सीप भएको मान्छेको खोजी गर्नुपर्ने बाध्यताको अन्त्य गर्न तालिमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनचेतना युवा क्लबका पूर्वअध्यक्ष देवेन्द्र चोखाल र प्रशिक्षक जिसीले नयाँ पुस्तामा पुख्र्यौली संस्कृति र सीप हस्तान्तरण गर्न तालिम सहयोगी बन्नेमा जोड दिनुभयो । म्याग्दीमा पछिल्लो समय पुख्र्यौली कला, संस्कृतिको संरक्षण र संवद्र्धनसँगै पुस्तान्तरणका लागि स्थानीय तह सक्रिय भएका छन् ।
