काठमाडौं, २४ माघ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै प्रदेश, ७७ वटै जिल्ला र स्थानीय तहहरूलाई मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो।
सो निर्देशनअनुसार सातै प्रदेश, ७१ जिल्ला तथा ६४४ स्थानीय तहले विवरण उपलब्ध गराएका थिए। तर, हालसम्म विवरण प्रविष्ट गर्न ६ जिल्ला र एक सय नौ स्थानीय तहलाई खोपको मौज्दात यथाशिघ्र अनिवार्य रुपमा प्रविष्ट गर्न निर्देशन दिएको हो।
कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकको निर्णयअनुसार कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्धको खोपलगायका सबै व्यक्तिहरूको विवरण डिएचआइएस–२ प्रणालीमा प्रविष्ट गर्न सार्वजनिक सूचना जारी भएको थियो ।
साथै प्रयोगमा आउन सक्ने खोपको बाँकी मात्रा एकिन गरी छानबिन प्रक्रियालाई सम्पन्न गर्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहले २१ माघ २०७८ सम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणबश क्षति भई प्रयोग गर्न नमिल्ने खोपको मात्राको विवरण समेत २६ माघ २०७८ बुधवार दिउँसो ३ देखि ४ बजे भित्रमा प्रविष्ट गर्न दोस्रो पटक सूचना जारी गरेको हो।
८८.४ प्रतिशतले लगाए पहिलो मात्रा खोप
कोरोना विरुद्धको खोप अभियान शुरु भएदेखि हालसम्म १८ वर्ष भन्दा माथिको लक्षित जनसंख्याको ८८.४ प्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन्।
मन्त्रालयका अनुसार १८ वर्ष भन्दा माथिका एक करोड ९९ लाख २२ हजार एक सय ६४ लक्षित जनसंख्या मध्य त्यसको ८८.४ प्रतिशत अर्थात एक करोड ७६ लाख तीन हजार एक सय १५ जनाले पहिलो डोज खोप लगाएका छन्। त्यस्तै लक्षित जनसंख्याको ७२.७ प्रतिशत अर्थात एक करोड ४४ लाख ९० हजार नौ सय दुई जनाले दोस्रो अर्थात पूर्णमात्रा खोप लगाएका छन्।
१२ देखि १७ वर्ष बीचको ३४ लाख पाँच हजार चार सय ५५ लक्षित जनसंख्यामध्य ८० प्रतिशत अर्थात २७ लाख २९ हजार पाँच सय ३४ ले पहिलो डोज लगाएका छन् भने ३२.० प्रतिशत अर्थात १० लाख ९७ हजार तीन सय ५८ जनाले दोस्रो डोज खोप लगाएका छन्।
नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको छ । यो कुल जनसंख्याको ७०.६ प्रतिशत अर्थात दुई करोड ६० लाख ७१ हजार एक सय १५ जनाले पहिलो डोज र ५३.३ प्रतिशत अर्थात एक करोड ५६ लाख २८ हजार पाँच सय ३३ जनाले दोस्रो डोज खोप लगाएका छन्।
नेपालले हाल सम्म तीन करोड ४० लाख ८४ हजार आठ सय ८६ मात्रा खोप प्राप्त गरेको छ। जसमा हालसम्म एक करोड ७८ लाख २६ हजार पाँच सय ९४ मात्रा पहिलो मात्रा, एक करोड ५६ लाख २८ हजार पाँच सय ३३ दोस्रो मात्रा र छ लाख २९ हजार सात सय ४१ तेस्रो मात्रा खोप लगाइसकेको छ।
नेपालले भेरोसेल, कोभिसिल्ड, जापानमा बनेको कोभिड–१९ अस्ट्राजेनिका, स्वीडीस अस्ट्राजेनिका, मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सन गरि कुल तीन करोड ४० लाख ८४ हजार आठ सय ८६ मात्रा खोप सहयोगमा तथा किनेर प्राप्त गरेको हो।
