दाङ, १९ जेठ । दिनेश रावत निर्देशित चलचित्र ‘पुजार सार्की’ यतिबेला दोश्रो हप्तामा प्रदर्शन भइरहेको छ। प्रदर्शनको दिनदेखि नै आक्रामक व्यापार गरिरहेको चलचित्र ‘पुजार सार्की’ को माउथ पब्लिसिटी पनि उत्साहजनक छ, फलस्वरूप चलचित्र हाल देश तथा विदेशमा हाउसफुलका साथ चलिरहेको छ।
चलचित्र सफलताको खुशी साट्न नायक पल शाह आइतबार दाङ आउने भएका छन् । शाहले सामाजिक सञ्जाल मार्फत यो कुराको जानकारी गराएका हुन् । 'हाम्रो चलचित्र पुजार सार्कीलाई अत्यन्त सफल बनाइदिनु भएकोमा संसारभर रहनुभएका प्यारा दर्शकहरूप्रति निकै आभारी छौँ।' पल लेख्छन्, 'रिलिजको पहिलो हप्ता काठमाडौं उपत्यका र जापानको टोकियोमा समेत प्रिय दर्शकसँग भेट्नको लागि पुग्यौँ ।' अब म र हाम्रो टिम प्रिय दर्शकलाई भेट्न दाङ, नेपालगञ्ज र धनगढी आउँदैछौँ ।
पलको गृहजिल्ला दाङका दर्शकसंग खुशी साट्न र चलचित्रप्रतिको दङ्गाली दर्शकको प्रतिक्रिया बुझ्न पल र चलचित्रका निर्देशक दिनेश रावत दाङ आउन लागेका हुन् । नारायणपुरमा रहेको जिल्लाको एकमात्र मल्टिप्लेक्स 'भिएफएक्स सिनेमाज्' हलमा आइतबार बिहान दर्शकसङ्ग भेटघाट गर्ने कार्यक्रम रहेको हल सञ्चालक विजय रावतछ।
शनिवार नेपालगञ्जको 'सिनेरोयल नेपालगञ्ज' र 'क्युएफएक्स बागेश्वरी' हलमा दर्शकलाई भेट्दै पश्चिम नेपालको मोफसल यात्रा आरम्भ गर्ने ‘पुजार सार्की’ टिमले आइतबार दाङको 'भिएफएक्स सिनेमाज्' र 'धनगढीमा एसटिएस' सिनेमा हलका दर्शकसंग चलचित्र सफलताको खुशी साट्ने सेड्युल बनाएको छ।
विकास सुबेदीले लेखेको ‘पुजार सार्की’मा पल शाहका अलवा आर्यन सिग्देल, प्रदीप खड्का,अञ्जना बराइली, परीक्षा लिम्बु लगाएतका कलाकारको अभिनय रहेको छ । चलचित्र जेठ १० गते बुद्ध जयन्तीको दिनबाट प्रदर्शनमा आएको हो।
