दाङ, ८ असार । चलचित्र ‘घर ज्वाइँ’ लुम्बिनी प्रदेशको पहाडी जिल्ला रुकुम पूर्वका मगर समुदायको संस्कृति र परम्परालाई सुन्दर ढंगले प्रस्तुत गरिएको एक मौलिक चलचित्र हो । जुन चलचित्र यही असार २८ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ।
अहिले सर्वाधिक रुचाइएको जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्र ‘घर ज्वाइँ’को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिम दर्शकलाई चलचित्रको बारेमा जानकारी गराउन आक्रामक ढंगले देशव्यापी लागि परेको छ। यस्तैमा बिहीबार मगर समुदायको ठुलो संख्यामा बसोबास भएको जिल्ला दाङका विभिन्न स्थानमा चल्ने एक सय बढी अटो रिक्सा र होडिङ बोर्डमा पोस्टर लगाउदै चलचित्र प्रचार गरिएको छ।
जनक घर्ती मगरद्वारा निर्मित चलचित्रको सार्वजनिक टिजरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। दर्शलका लागि ‘घर ज्वाइँ’ वर्षकै एक बहुप्रतिक्षित चलचित्र समेत बनेको छ। फस्टलुक पोस्टर सार्वजनिक भएसँगै राम्रो हाइप क्रेट गर्न सफल चलचित्र पूर्वी रुकुमका मगर बस्तीहरु तकसेरा, लुकुमलगायतका स्थानमा छायांकन गरिएको हो।
अनिल बुढा निर्देशित ‘घर ज्वाइँ’बाट दर्शकले नयाँ स्टोरीको टेस्ट मात्र नभइ रुकुम पूर्वका विभिन्न सुन्दर दृश्य समेत चलचित्रमा देख्न पाउने निर्माता जनक घर्तीको दाबी रहेको छ। चलचित्रको कथा, पटकथा तथा संवाद लेखनमा निर्देशक अनिललाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन छ ।
चलचित्रमा दया र मिरुनाको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले लगायतका कलाकारको अभिनय छ । एम मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, रामजी लामिछानेको कोरियोग्राफी, कृष्ण भण्डारीको सम्पादन छ ।
