दाङ, १ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अपरेशन थिएटर सञ्चालनमा आएको छ । अप्रेसन गर्ने विरामीको चाप अत्याधिक बढेपछि त्यसलाई मध्यनजर गर्दै थप दुई वटा ओटि सञ्चालनमा ल्याईएको उपकुलपति डा. विकास लामिछानेले बताउनु भयो ।
सुविधा सम्पन्न रहेका दुई वटा ओटिरुमको एक कार्यक्रमकाबीच उपकुलपति डा. लामिछानेले रिवन काटेर उद्घाटन गर्नु भएको हो । सो अवसरमा उपकुलपति डा. लामिछानेले थोरै मात्रै अप्रेसन थिएटर हुँदा विरामीहरुलाई अप्रेसनकै लागि पालो कुर्नु पर्ने वाध्यता रहदै आएकोमा अबदेखि विस्तारै हट्दै जाने बताउनु भयो ।
उहाँले प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकहरु थपिएसँगै सेवामा सुधार हुँदै गइरहेको बताउदै अप्रेसन गर्नका निमित्त प्रतिष्ठानमा अप्रेसन थिएटरको संख्या ६ वटा पुगेको बताउनु भयो ।
त्यस्तै प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थीले अस्पतालमा अप्रेसन गर्न ओटिरुम थपिनु सुखद पक्ष भएको भन्दै अप्रेसनका लागि विरामी र चिकित्सकहरुले पालो कुर्नुपर्ने समस्या अबदेखि हट्दै जाने विश्वास ब्यक्त गर्नुभयो । यसैगरी प्रतिष्ठानका ओटि इञ्चार्ज एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले सुरुमा दुई वटा ओटिबाट सुरु गरेको अप्रेसन सेवा अब ६ वटा ओटि भएसँगै सेवालाई ब्यवस्थित गर्नमा थप सहजता मिलेको बताउनु भयो ।
दैनिक २५ वटा बढि अप्रेसन हुँने गरेको जानकारी दिदैँ उहाँले अप्रेसन गर्नुपर्ने विरामीहरुको संख्या बढ्दै गएकाले ओटि विस्तारमा जोड दिइएको बताउनु भयो ।
प्रतिष्ठानका मेट्रोन शर्मिला शर्माले नयाँ ओटि सञ्चालनमा आएसँगै चिकित्सक र नर्ससहितको स्वास्थ्यकर्मी जनशक्ति ब्यवस्थापन भइसकेको बताउदै थोरै ओटि हुँदा चिकित्सकहरुले अप्रेसनका लागि निकै समय पालो कुनुपर्ने समस्या रहेकोमा अबदेखि त्यो नहुने बताउनु भयो ।
