रिपाेर्टर डायरी
एमसीसी विरोधी आन्दोलन : मैले पनि खाएँ ‘पानीको फोहरा र अश्रुग्यास’

एमसीसी विरोधी आन्दोलन : मैले पनि खाएँ ‘पानीको फोहरा र अश्रुग्यास’


  • 11.6K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 17.9K Views

    एमसीसी विरोधी आन्दोलन : मैले पनि खाएँ ‘पानीको फोहरा र अश्रुग्यास’

    काठमाडौं, ४ माघ। मध्यान्हको करिब १२ बजेकाे थियाे। माइतिघरमा एमसीसीको विरोधी आन्दोलनको समाचार रिपोर्टिङका लागि म तेस्रो आँखाको कार्यालयबाट हिँडे। काठमाडौंको नयाँ बानेश्वरमा ठिक १२ बजे एमसीसीविरुद्धको आन्दोलन हुने तय भएको थियो। म माइतिघर मण्डलातर्फ नलागि टेम्पोमा चढेर बानेश्वरतर्फ लागेँ।

    images

    बानेश्वर पुग्दा नेकपा माओवादी केन्द्रका भातृसंगठनहरुले एमसीसी खारेजिको माग गर्दै आन्दोलन गरिरहेका थिए। एमसीसी र सरकार विरोधी चर्का नाराहरुले बानेश्वर तातिरहेको थियो। सोही आन्दोलनलाई लाइभ गर्न भन्दै तेस्रो आँखाको ‘लेन्स’ आन्दोलनतर्फ सोझ्याएँ। नयाँ बानेश्वरको चोकैमा गरिएको आन्दोलनमा सडकको एक लेनमा प्रदर्शनकारीहरुले चर्को स्वरले ‘एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लगायतका नाराहरु लगाइरहेका थिए।

    सडकको अर्को लेनमा माओवादीका भातृ संगठनका नेताहरुले भाषण गरिरहेका थिए। त्यहीँ ठूलो संख्यामा प्रहरीहरु तैनाथ थिए। भाषण गर्नेहरुतर्फ क्यामेरा फर्काएर म भिडियो कैद गरिरहेको थिए। म उभिएको सडकको पछाडीको लेनमा युवाहरु प्रहरीहरुसँग ठेलाठेल गर्दै नारा लगाइरहेका थिए। तथापी स्थिति नियन्त्रण भन्दा बाहिर थिएन। यही सामान्य प्रदर्शनमा आन्दोलन सकिन्छ भनेर मैले आकलन गरिरहेको थिएँ।

    क्यामेरामा तल्लिन भएर भिडियो गरिरहेको बेलामा अन्धाधून्ध रुपमा मानिसहरु दायाँ र बाँया कुद्न थाले। मैले पछाडी  फर्केर  हेरेँ जहाँ माओवादीका जनवर्गिय संगठनका प्रदर्शनकारीबीच र प्रहरीबीच ठेलाठेल भैरहेको रहेछ। यत्तिकैमा आन्दोलनकारीको तर्फबाट ढुंगा प्रहार भयो र प्रहरीले लाठि वर्षायो। म सोही ढुंगाको प्रहार छिचोल्न भन्दै अर्कोतर्फ छिटो छिटो हिँड्दै थिएँ। यतिकैमा म माथि पानीको  फोहोरा आयो। म पुरै भिजे, मेरो क्यामेरा पनि भिज्यो। म हतार हतार गर्दै सडकको दोस्रो पट्टी लागे। 

    जब म सडकको दोस्रो साइडको किनारमा पुगे। मैले क्यामेरा बन्द गरेँ। एकछिन् आफ्नो गोजीको रुमाल झिकेर शरिर पुछे। प्रहरीले प्रहार गरेको पानिको फोहोराको गाडीमा पानि रित्तियो। आन्दोलनकारी र प्रहरीबीचको तनाब केही कम भयो। माओवादी निकट आन्दोलनकारीहरुको प्रदर्शन कोणसभामा परिणत भयो। माओवादीका विभिन्न संगठनका नेताहरु भाषणमा व्यस्त थिए। अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भाषण गरिरहेकी थिइन्। माइतिघरतर्फबाट राप्रपाको टोली एमसीसी मुर्दावाद, एमसीसीको दलालहरु होसियार, अमेरिकी विस्तारवाद मुर्दावाद, देश बेच्न पाइँदैनलगायतका नारा लगाएर बानेश्वरतर्फ आइरहेका थिएँ। दुबै संगठन फरक-फरक भए पनि उनीहरुको माग भने एउटै थियो। सडकको एउटा लेनमा माओवादीको आन्दोलन जारी थियो भने सडकको अर्को लेनमा राप्रपाको आन्दोलन जारी थियो। नेकपा एस निकट युवा नेताहरु प्रहरीकै गाडीभित्रबाट नारा लगाइरहेका थिए।

    माओवादीको आन्दोलन सुरु भएको धेरै समय भएकाले माओवादीका आन्दोलनकारीहरु केही मत्थर देखिन्थे। राप्रपाका भर्खर आइपुगेका हुनाले बानेश्वर क्षेत्र थर्काएर नारा लगाउँदै थिए। राप्रपाका जनवर्गिय संगठनहरु र प्रहरीबीच धकेला धकेल भैरहेको थियो। सडकको एक साइडमा उभिएर माओवादीका कार्यकर्ता राप्रपाका कार्यकार्तालाई हान, हान पनि भन्दै थिए।

    अनेरास्ववियु क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंहको सम्बोधन सकिएपछि केही समय नारा लगाएर माओवादीको टोली माइतिघर तर्फ लाग्यो। त्यसपछि राप्रपाले कोणसभाको  तयारी गर्यो। सडकको छेउको लेनमा कोण सभा गरिएको थियो। दोस्रो लेनमा युवाहरु नारा लगाइरहेको थिए। राप्रपाका केही वक्ताहरुले ठूलो-ठूलो स्वरमा आफ्नोतर्क प्रस्तुत गरिरहेका थिए। केही प्रमुख नेताहरु बोल्ने पालो कुरेर बसिरहेका थिए।

    एक्कासी आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्न सुरु गरे। आन्दोलनकारी र प्रहरी बीच झडप भयो। राप्रपाको कोणसभा बिथोलियो। केही प्रमुख नेताहरुले सम्बोधन नै नगरी आफ्नो बाटो तताए। राप्रपाका केहीले प्रहरीको लाठी खाएपछि उनीहरु आक्रोसित देखिन्थे। प्रहरीमाथि पनि ढुंगा प्रहार भएको हुनाले उनीहरु पनि आक्रोसित देखिन्थे। यसै बीचमा उनीहरुबीच दुबै तर्फबाट ढुंगा प्रहार भयो।

    प्रहरीले पानीको फोहोरा हान्यो। पानीको फोहोराले सडकमै केही आन्दोलनकारी ढलिरहेका थिए। पानीको फोहोरा सकिएपछि आन्दोलनकारी झन् आक्रोशित भए। र, आन्दोलनकारीहरुले झन् शसक्त भएर ढुँगामुढा वर्षाउन थाले। यतिकैमा मेरो देब्रे हातको पाखुरामा एउटा ढुंगा आएर लाग्यो। त्यसको असर धेरै नभए पनि म सजग हुँदै सुरक्षित स्थान तर्फ लागेँ।

    दुबैतर्फबाट ढुंगा प्रहार हुँदै गर्दा एक जना महिलालाई ढुंगाले लाग्यो। उनी मेरै आँखा अगाडी सडकमा ढलिन्। केही मानिसहरु आएर उनलाई उठाएर लगे। त्यतिकैमा एक जना आन्दोलनकारी पनि गम्भिर घाइते भए। प्रहरी तर्फ एक जना प्रहरीको पनि टाउकोमा चोट लाग्यो। प्रहरीले आन्दोलनकारीको ढुंगालाई रोक्न सकेन। प्रहरीहरु पछाडी सर्न बाध्य भए। आन्दोलनकारी निषेधित क्षेत्र नाघेर अगाडी बढे।

    यतीकैमा प्रहरीले सडकमा अश्रुुग्यास प्रहार गर्यो। अश्रुग्यासले मेरो आँखा पोल्यो र म केही समय आराम गरेर बसेँ । रोडको अर्को पट्टी एक जना आन्दोलनकारी युवा घाइते भए। प्रहरीले पनि ढुंगा प्रहारलाई बढाएपछि राप्रपाका आन्दोलनकारी पछाडी हटे। त्यसपछि आन्दोलनकारी पक्षका एक एकलाई प्रहरीले समात्दै पिट्दै गर्न थाल्यो।

    म सडकमा बसेर प्रत्यक्ष प्रसारण गरिरहेको थियो। मलाई पनि एक जना प्रहरीले आएर च्याप्प समाते। मेरो घाँटीमा झुण्डिएको परिचयपत्र देखेर पत्रकार हो भनेर उनी फर्किए। आन्दोलकारीलाई माइतिघर तर्फ प्रहरीले लखेट्यो। तनावग्रस्त बनेको बानेश्वर केही शान्त बन्न थाल्यो। पत्रकारहरु जम्मा भएर पानिको फोहोराले लागेर मेरो पाखुरा चलेन, ढुंगाले लाग्यो भनेर कोेही चोट देखाउँदै थिए। मेरै साथि पनि खुट्टामा ढुंगा लाग्यो भन्दै मेरो नजिक आएर सुनाउँदै थिइन्। प्रहरीले आन्दोलनकारीका केही व्यक्तिलाई समात्दै बीचमा राखेर लठ्ठी, खुट्टा, मुक्काले सबैले पालैपालो  हानीरहेका थिए।

    यति गर्दा पनि केही आन्दोलनकारी युवाहरुले एमसीसीको विरोधमा नारा लगाउँदै थिए। सबैको मुखमा देशको नारा थियो। प्रहरीको मुहारमा आन्दोलनकारीप्रति आक्रोस देखिन्थ्यो आन्दोलनकारीको मुहारमा प्रहरीविरुद्ध आक्रोस देखिन्थ्यो। आन्दोलन केही साम्य भएपछि सडकमा हेर्दा ढुंगा, लौरा, पानीका बोतल छरपस्ट थिए। केही फोटोहरु मैले पनि मेरो क्यामेरामा कैद गरे। 
    एउटा अमेरिकी सहयोग लिने वा नलिने भन्ने बारेमो देशमा यो किसिमको अशान्ति फैलनु। नेपाली नागरिक एक अर्कामा यसरी भिड्नु। कतिको जायज हो? यो प्रश्नको उत्तर आफैभित्रै खोज्दै म तेस्रो आँखाको कार्यालयमा फर्किएँ। एमसीसी कति फाइदाजनक कति बेफाइदाजनक छ, यो साेच्न छोडेर एमसीसीले बनाएको यो माहोलको बारेमा सबैले एक पटक सोच्नु पर्ने जरुरी देखे। नेपाली राजनैतिक दलहरुले देखाएको दोहोराे भूमिका, राजनैतिक स्वार्थको कारणले देशमा यसरी नागरिकहरु लड्नु निकै दुखद विषय हो नै तर आज मैले देखेको परिदृष्यले भोली पर्सीका दिनहरु अझ अप्रिय बन्ने हुन् की भन्ने आशंकाले मलाई  घोतलिरहेको छ।    


    पदम भुजेल
    लेखकबाट थप