बैज्ञानिक खोज अनुसन्धान, अन्वेषण र प्रयोगका क्षेत्रमा क्रियाशील ब्यक्त्तित्व आदरणीय प्रकाश विकल्प ज्यूद्वारा लिखित 'एन्टिथेसिस ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म' नामक पुस्तक अध्ययन गरि सो सम्बन्धमा एक पाठकीय टिप्पणी राख्ने कोशिस गर्दैछु ।
लेखकका यसअघि पनि 'देश किन बनेन ? र समृद्धिको रोड म्याप' नामक पुस्तकहरु बजारमा आइसकेका छन् ।
पुस्तकको आवरण शीर्षकले माग गरेझैं ओडारमा बस्ने मान्छे आदिम युग, जंगली युग, कृषि युग, दास युग, औद्योगिक युग एवं प्रजातान्त्रिक युगबाट अगाडि बढ्दै क्रमशः एआइ अथार्त कृत्रिम बौद्धिकताको युगसम्म त्यत्तिकै आएको नभइ तत्कालीन अभाव, अनेकन दुःख र कठिनाइ झेल्दै विभिन्न बिघ्न बाधासँग पौठेजोरि खेल्दै, समस्या र चुनौतीहरु ब्यहोर्दै आफ्नै अनुभवबाट नयाँ कुरा सिक्दै, त्यसो होइन रहेछ यसो पो रहेछ भन्दै, तत्कालीन मूल्य, अतिश्य विश्वास र मान्यताको खिलापमा उत्रदै, विपरित धारणा राख्दै, नयाँ योजना अगाडि सारे बापत आफ्नै अग्रज र बुढापाकाबाट गाली, खप्की, समाज र गाउँ निकालाको ध्वांस ब्यहोर्दै कतिपय अवस्थामा सुलि चढाइ र मृत्युदण्ड समेत ब्यहोर्दै आइपुगेको बारेमा प्रकाश पारिएको छ।
सामाजिक मुद्दा, परिवर्तन र अग्रगामी विचारको पैरबी गरेकै आधारमा तत्कालीन समाज व्यवस्थाका हिमायतिहरुले कसरी ती परिवर्तनकारी र अग्रगामी विचारका नायक र अगुवाहरु धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्री, बिपि कोइराला, नेल्शन मण्डेलालगायतका तमाम राजनैतिक नेतृत्वलाई जेलनेलको कठोर सजाय र फाँसीको तख्तामा झुण्ड्यायो ? विज्ञानमा क्रान्ति ल्याउने आइज्याक न्युटन, ग्यालिलियो ग्यालिली, चाल्स डार्बिन, कोपर्निकश, ब्रुनो जस्ता बैज्ञानिकहरुलाई कसरी त्यहाँको धार्मिक सत्ता अन्तर्गतको पोप, पादरि र चर्चका अनुयायीहरुले ज्यान मार्ने धम्की, देश निकाला र मृत्युदण्ड सजायको उर्दि जारि गर्यो ?
धर्म भित्रको अमानवीयता, जडता र असहिष्णु मिजासले कसरी डा. तसलिमा नसरिन र सल्मान रुस्दिहरुलाई देश निकाला र ज्यान मार्ने फतवा जारी गर्यो ? अथार्त यथास्थितिबादी विचार विरुद्ध विपरित मत प्रकट गरेकै आधारमा पुरातनपंथका पृष्ठपोषकहरुले कसरी त्यस स्वर आवाजलाई दबाउने, यांक्ने, मुख बन्द गर्न लगाउने प्रयत्नमा जुट्छन ? अग्रगामी र परिवर्तनकारीलाई कसरी समाज भंडुवा, उपद्रया, अराजक र आतंककारीको संज्ञा दिंदै गाली, निन्दा र भर्त्सना गर्न पुग्दछन ?
तत्कालीन समाज व्यवस्था र चेतनामा स्थापित भएको परम्परा, मूल्य मान्यता, धार्मिक बिश्वास र यथास्थिति विचार विरुद्ध फरक मत अथार्त विपरित विचार राखेकै आधारमा कसरी हिजोदेखिनै अर्थात रामायणमा जाबाली ऋषि र महाभारतमा चार्वाक ऋषिहरु माथि अपमान र अनादर गर्दै मुख बन्द गर्न लगाउने, उनीहरुको दर्शन र विचारलाई नष्ट गर्ने र मार्ने षड्यन्त्र रचियो ?
नेपाली समाज कसरी धार्मिक जडता, अन्धबिश्वास र यथास्थिति विचारको दलदलमा अद्यापि फसेको छ ? कथित ईश्वरीय शक्तिको अस्तित्व स्वीकार र धर्म प्रतिको विश्वास भावले मान्छेको अन्तर्निहित क्षमता कसरी ध्वस्त गराएको छ ? कसरी मानव मस्तिष्कको क्षमताप्रति पूर्णतः बेखबर रहन मानवीय हितका सम्पूर्ण शाखाहरु बन्द गराएको छ ? कथित भाग्यको खेल, प्रभु वा दैबको लिला लेखनभन्दै खुद आफैप्रति आत्मबिश्वासी बन्न र दृढ़ निश्चयी हुन सकिरहेको छैन ? हिजो तत्कालीन समाजमा अबिकशित र पिछडिएको चेतनामा मान्छेले कसरी कुन उद्देश्यको खातिर धर्म र ईश्वरको रचना गरायो वा जन्म गरायो ? र पछि आफैले जन्म गराएको त्यही इश्वरीय अवधारणाले र धार्मिक संहिताबाट शासित रहन गयो ?
प्रश्नविहीन, सवालविहीन, सन्देहविहीन, आवश्यक खोजबिनविहीनको मान्छेको मनस्थिति र समाजको अवस्था कस्तो हुन्छ ? धर्मशास्त्रमा बताएको कुरालाई नै एक मात्र सत्य ठान्दा मान्छेको ज्ञान उत्पादनको सम्भावना र क्षमताको कसरी बन्ध्याकरण हुन पुग्दछ ? धर्मले कसरी साहित्य, संगीत र कलाको माध्यमबाट समेत अन्धबिश्वास,अबैज्ञानिक विचारको विशाक्त धारणाको सन्देश प्रवाह गरेको छ ? कथं या अपवादमा फरक क्षमता, अतिरिक्त अंग, फरक शारीरिक बनावट भएका मानिस वा जनावरहरु जम्मिएमा त्यसको कारण पत्ता लगाइ समयमै उपचार विधि, व्यवस्थापन वा प्रतिभाको कदर गर्नुपर्नेमा उसको खास क्षमता वा प्रतिभालाई अवमूल्यन गर्दै कथित देउता वा राक्षसको रुपमा अर्थ्याउंदै सम्बन्धित र निकटजनलाई दुखी घाइते र पीडित तुल्याउँछ ? यदि धार्मिक मत र अन्धताप्रति सन्देह र सवाल नउठाइ केबल अन्धश्रद्दा, अन्धभक्त र अनुयायी मात्र भएर बसेको भए आजको मान्छेको सभ्यता कहाँ पुग्थ्यो भन्दै लेखकले हमेसा सन्देह, जिज्ञासा, आवश्यक खोज र अनुसन्धानमा जुट्न र बैज्ञानिक विचारधारालाई आत्मसात गर्न सबै सबैमा सार्वजनिक आह्वान गरेका छन् । यसबारेमा बिषद चर्चा र बिमर्श गर्ने प्रयत्न गरेका छन् ।

त्यसैगरी पुस्तकमा खराबी, रुढी, अन्धबिश्वासी र अबैज्ञानिक विचारले समाजलाई आफ्नो मुठ्ठीमा कजाइरहेको बेला, असत्य, झुट र भ्रमको रजगज भैरहेको बेला म एक्लैले गरेर के हुन्छ र ? म मात्र सत्य बोलेर के हुन्छ र ? म एक्लै पर्न सक्छु वा अल्पमतमा पर्छु कि ? भन्ने लुते, दब्बु र हिन मनस्थितिले गर्दानै खराबिले, असत्यले, रुढ र यथास्थितिले दपेट्ने, यांक्ने हुँदा एक्लै भए पनि असत्य, अन्याय, शोषण, दलन, झुट र भ्रमको मखमली बर्को च्यात्न, त्यसो होइन यसो हो भन्दै रुढी र यथास्थितिलाई दृढतापूर्वक अस्विकार र नामन्जुर गर्न समाजका कोही न आँटी, हिम्मती र साहसी बन्नुपर्ने र यसो गरेननै नयाँ विचार र बिज्ञानको विकास सम्भव भएको लेखकको ठहर र जिकिर रहेको छ।
त्यसैगरी पुस्तकमा मानबजातीको विकासक्रममा अफ्रिकाबाट अगाडि बढेको मान्छे मध्य युरोपतर्फ लागेको शाखाले दर्शन बिज्ञान, गणित र प्रजातन्त्रको बिकास गरेका र एसियातर्फ लागेको शाखाले ईश्वर, धर्मको रचना गरेको पाइएकोले पश्चिमि समाज तथा युरोपको तुलनामा एसियामा विकास नहुनु वा एसिया पछाडी परेको विभिन्न दृष्टान्त पेश गरिएको छ।
त्यसैगरी पुस्तकमा लेखकले मानव मस्तिष्क सम्बन्धी बैज्ञानिक अनुसन्धानबाट प्रमाणित तथ्यहरुबारे जानकारी दिंदै त्यसको महत्व बुझ्न र बोध गर्न, मस्तिष्कलाई निष्कृय अल्छि, भोंदुराम गतिहीन र सिर्जनहीन होइन हमेसा चंख, सकृय, सिर्जनात्मक र गतिशील तुल्याउनुपर्ने, मस्तिष्कलाई ठिक ढंगले प्रयोग गरेबाटनै खोज, अनुसन्धान अन्वेषण र बिज्ञानमा तरक्की गर्न सकेको हिजोको असभ्य, अविकसित चिम्पान्जी स्तरबाट आजको परिष्कृत सभ्य र अग्रगामी चेतनाको मान्छे बन्न सफल भएकोले मस्तिष्कलाई जहिल्यै नयाँ नयाँ विचार र परखको भट्टीमा होम्नुपर्नेमा लेखकको विशेष जोड रहेको छ।
अनियमितता, भ्रष्टाचारलाई संस्थागत गर्नमा ईश्वरीय शक्तिको अस्तित्व स्वीकार र धार्मिक चेतनाको बैचारिकी र दार्शनिकिले के कस्तो सहयोगी भूमिका खेल्दछ ? प्रायः गाउँ घरका युवाहरू वर्तमान र भविष्यप्रति चिन्तित हुँदै किन आफ्नो भएको घर खेतसमेत बिक्री गरि अबैध बाटो हुँदै युरोप र अमेरिकातर्फ बाटो सोझाउँदै छन् ? र आफ्नो देशको नागरिकता समेत त्याग्न राजी हुनुपर्ने स्थिति उत्पन्न हुँदैछ ?
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र परिवर्तनकारी मुद्दामा नेतृत्वदायी भूमिका खेली आफ्नो सम्पूर्ण जवानी, उमेर, बैँस रहर र अवसरलाई समेत राजनीतिमा लगानी गरेको दाबी गर्ने राजनैतिक नेतृत्वले शासन सत्ता संचालन प्रक्रियामा अपनाइरहेका गतिविधिहरु के कस्ता छन् ? आन्तरिक पार्टी लोकतन्त्रको अवस्था के छ ? नागरिक स्तरमा राजनीतिक दलहरू र तिनको नेतृत्वप्रति खिन्नता, निराशा, आक्रोश पैदा हुनुपर्ने स्थिति कसरी आयो ? किन दिनानुदिन सिद्धान्त, दर्शन, विचार, आदर्श, मूल्य र निष्ठाको राजनीति खस्कदो र विघटनको दिशातर्फ जाँदैछ ? अवसरवादिता किन मौलाउँदो छ ?
राजनैतिक नेतृत्वले के गर्नुपर्ने थियो ? कहाँनेर चुकिरहेको छ ? देशले क्रमशः बिकाश, प्रगति, सुशासन, स्थिरता र समृद्धिको दिशातर्फ फड्को मार्नुपर्नेमा किन ओरालोतर्फ लाग्दो छ ? र असफल राष्ट्रतर्फ घचेटिंदो छ ? देशको स्वास्थ्य स्थिति झन्झन् नाजुक, बिग्रदो र गिर्दो अवस्था हुँदा समेत राजनैतिक नेतृत्वलाई किन छुँदैन ? घोंच्दैन र दुख्दैन ? त्यस अर्घेल्याइ, बाधा, कठिनाइ र चुनौतीलाई कसरी चिर्ने ?
गलत राजनीतिक संस्कारले कसरी राम्रोलाई भदा हाम्रोलाई ? सक्षम, योग्य र भिजनरी नेतृत्वलाई भन्दा अयोग्य, भिजनबिनहरुलाई ? गतिशील, सिर्जनात्मक र चलायमानलाई भन्दा गतिहीन, जुम्सो र भोंदुरामलाई ? सुशासन, न्याय र स्थिरता भन्दा कुशासन, अस्थिरता, विकृति र बिसंगतीलाई बढवा दिइरहेको छ ? र पार्टी भित्रका सम्भावना र प्रतिभालाई यथोचित जिम्मेवारी र नेतृत्व हस्तान्तरण होइन फरक मत राखेकै आधारमा टेढो नजर र तेजोबध गर्ने ? समकालीन र सहकर्मीबीच हार्दिकता, विश्वास, सद्भाव र भाइचारा हुनुभन्दा ब्यक्तित्वको टकराव, अहंको लडाइ र असहयोगी व्यवहार, बदख्वाइंको धन्धाले गर्दा अन्ततः एकमना र मजबुत पार्टीहरु क्रमशः टुटफुट, विभाजन र छिन्नभिन्न हुने स्थिति पैदा हुँदा सम्बन्धित पार्टी, देश र समाजको स्वास्थ्यलाई समेत हानी नोक्सानी पर्न जाने स्थितिबारे लेखकले एक गम्भीर श्रोता, पाठक र भोक्तासमेत बनि राजनीतिमा देखिएका तमामखाले विकृति र बिसंगत पक्षबारे विवेचना गरेका छन् ।सम्बन्धित पक्षलाई समयमै सच्चिन र सच्याउन सार्वजनिक अपिल जारी गरेका छन् ।
त्यसैगरी पुस्तकमा कर्मचारीतन्त्रमा हुने ढिलासुस्ती, अनियमितता, घुस लिने दिने प्रथा, नागरिकका काम आज र अहिल्यै हुनेलाई भोलि भन्दै झुलाउने र अतिरिक्त रकमको वार्गेनिङ गरि नागरिकलाई हैरानी दिइ भ्रष्टाचारलाई बढवा दिने प्रवृत्ति भनसुन, जि हजुरी र चाकडी प्रथा, अरुलाई दोष लगाइ आफ्नो जिम्मेवारीबाट पन्छिने तमाम खाले विकृति र बिसंगतिका पाटाहरुबारे पनि विवेचना गरिएको छ ।
त्यसैगरी पुस्तकमा एक भिजनरी र साहसी नेतृत्व कस्तो हुनुपर्छ भन्ने सउदी अरबको उदाहरण पेश गर्दै सउदी अरबमा ३८ वर्षको उमेरमा प्रधानमन्त्री बनेका मोहम्मद विन सल्मानले आफुले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेदेखिनै कसरी धार्मिक अतिवाद माथि निषेधको नीति लिए ? धर्मको च्यादर ओढि आतंककारी क्रियाकलापमा संलग्न हुने उपर कसरी कारबाहीमा उत्रिए ? रुढीवाद, धार्मिक अतिवाद र अन्धताले जकडिएको अरबलाई मोहम्मद विन सल्मानले कसरी बिश्वका लागि खुल्ला अरब बनाउन दृढ संकल्पित बने ? आफ्नै बुवाले अगाडि सारेको स्लामिक भिजन २०३० लाई गुणात्मक परिवर्तन गर्ने हेतु सउदी अरबलाई नयाँ अरब, सयौ मान्छे अट्न सक्ने अरब, आधुनिक र सम्पन्न अरब बनाउने सपनाले किन सल्मानलाई निदाउन दिइरहेको छैन ?
महिलाको अस्तित्व, स्वाभिमान, स्वत्त्व र निजत्व माथि तत्कालीन परम्परागत समाज व्यवस्था, राज्य सत्ता र धार्मिक संस्कारले विभेद, शोषण र उत्पीडन लाद्दा कसरी आजभन्दा २०० बर्ष अगाडि भारतको केरला राज्यमा नाङ्गेली भन्ने महिला र नेपालको सन्दर्भमा आजभन्दा ८२ वर्ष पहिले भोजपुरकी योगमाया न्यौपानेले त्यस अन्यायी, पिडक र हिंसक समाज र संस्कार बिरुद्ध सचेत, साहसी र प्रतिरोधी स्वर आवाज निकाल्दै आफ्नो ज्यानको बलिदानि दिनसमेत तयार भए ?
यसैगरी पुस्तकमा लेखकले आफू १४ वर्षको उमेर देखिनै सामाजिक सरोकारका मुद्दामा खोज खबर राखि स्थानीय क्लबको नेतृत्व गर्दै अहिले बैज्ञानिक खोज अनुसन्धानको प्रयोगको क्षेत्रमा क्रियाशील रहँदासम्म र सफलता प्राप्त गरिरहँदा कथित ईश्वरको अनुकम्पा, तन्त्रमन्त्र, पुजा, अर्चना ग्रह दशा, बाबा माता र धार्मिक विधि शास्त्रको सहारा नलिएको,आफ्नो लक्ष्य निर्धारणमा गन्तव्य किटानसहित आत्मबिश्वासका साथ अगाडि बढेको आफू आवद्ध संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी साथीहरुले कुनै पनि अलौकिक रहस्यमा विश्वास भाव ब्यक्त र अन्धबिश्वासलाई प्रशय दिने खालका लिखित तथा बोलिचालिका भाषा समेत प्रयोग नगर्ने प्रतिबद्धता र ऐक्यबद्धता प्रकट गरि व्यबहार लागू गरेको उत्प्रेरक र सकारात्मक सोंचको विचार अनुभवहरु सबैका सामु पस्केका छन् ।
त्यसैगरी पुस्तकमा मान्छेको मृत्यु पश्चात् लाश व्यवस्थापन गरे लगत्तै उसले विगतमा गरेका सकारात्मक, नकारात्मक गुण विशेषताबारे स्मरणमा राख्नेबाहेक कथित आत्मा, परमात्मा, स्वर्ग, नरक र पुनर्जन्मको कुनै गुन्जायस र अस्तित्व नरहने हुँदा आफ्नो मृत्यु पश्चातको अन्तेष्टि र काज किरियाका कर्ममा दुःख र समवेदना साट्नु बाहेक आफन्तजनले धार्मिक विधि शास्त्रको कर्म नगरि मृत्युलाई ठगी खाने कर्मकाण्डको विषय नबनाउन हुन र बरु सकिन्छ र सम्भव हुन्छ भने कुनै अस्पतालले माग गरेमा शरीरको काम लाग्ने अंग अस्पताललाई प्रदान गर्ने व्यवस्था मिलाउन हुन आग्रह गरेका छन् । यसरी लेखकले मृत्यु संस्कार सम्बन्धी परम्परागत मान्यता उपर फरक विचार प्रस्तुत गरि नयाँ बहस र बिमर्शको आह्वान गरेका छन् ।
त्यसैगरी पुस्तकमा आफूलाई प्रगतिशील खेमा, वामपन्थी रुझान, मार्क्सवादी दर्शनमा विश्वास राख्ने ब्यक्ति ब्यक्तित्वहरुले भोट कटिने नाममा र सबैको प्यारो हुने नाममा रुढी अन्धबिश्वास, अबैज्ञानिक विचार, झुट, असत्य र भ्रमहरुका सामुन्ने आत्मसमर्पण र मुक रहने गरेको आफू आबद्ध पार्टीका गतिविधि र सरकार संचालन र खुदै आफ्ना आचरण व्यबहारमा संगति नराखी संस्कृति र सांस्कृतिक रुपान्तरणका मुद्दामा आवश्यक छलफल, अन्तर्किया र बिमर्श गर्नै नचाहेको , बिज्ञानको उच्चारण गर्न समेत झिन्झट मान्ने गरेको तितो यथार्थताबारे पनि प्रकाश पारिएको छ।
धार्मिक अतिवादले सामाजिक विभेद र असमानता अनि पुजीवादले कसरी मान्छेलाई जसरी पनि, धन आर्जन गर्नुपर्छ भन्ने बिशाक्त मान्यता अघि सार्दै मान्छेलाई अमानवीय, संवेदनहीन र निष्ठुर बनाउँदो छ ? मानवीय संवेदनशिलता र मानवतावाद माथि संकट थोपर्दो छ ? बिश्वका धनी र सम्पन्न राष्ट्रहरुले कसरी आफू झनै शक्तिशाली र आणविकरुपले सम्पन्न राष्ट्र कहलाउन ठुला ठूला औद्योगिक कल कारखानाको स्थापना, हातहतियार उत्पादन, बिक्रीवितरणको बन्दोबस्ती र आणविक भट्टी खोलि प्राकृतिक सम्पदाको दोहन, जैविक विविधतामा असर, वातावरण बिनाश, पर्यावरणीय प्रदुषणको संकट थोपर्दै छन् ? पृथ्वी र मानव सभ्यताको लागि मान्छेनै कसरी चुनौती बन्दै गइरहेको छ ? यसबारेमा विवेचना गरिएको छ।
जम्मामा 'एन्टिथेसिस ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म' पुस्तकले मानव सभ्यताको विकासक्रम, संघर्ष र वैज्ञानिक दृष्टिकोणका पाटाहरुको सूक्ष्म अध्ययन गर्नेहरुका लागि महत्त्वपूर्ण ज्ञान खजाना बाँड्ने त गर्छनै थप लेखक प्रकाश विकल्पद्वारा प्रस्तुत विचारहरूले समाज रुपान्तरणका मुद्दामा आगे कसरी जाने सवालमा सान्दर्भिक उपाय र जुक्ति सुझाएको छ। अतः आजको सूचना, संचार, विज्ञान तथा प्रविधिको दुनियाँमा त्यससँग साक्षात्कार गर्न, निरन्तर अध्ययनशील बन्न र अद्यावधिकमा रहन समेत झक्झक्याएको छ । यसर्थ पनि यो पुस्तक परिवर्तनकारी विचारहरूलाई आत्मसात गर्दै, नयाँ सोंच, नयाँ विचार साथ अगाडि जान चाहने सबैका लागि पठनीय र संग्रहनीय रहेको छ ।
अन्त्यमा
यति जरुरी सार्वजनिक सवालका मुद्दा र विषय उठाइ वैचारिक ज्ञान खजाना पस्किएकोमा लेखकलाई क्याबात, स्याबास, सम्मान र आदर गर्दछु । आउँदा दिनमा लेखकको मस्तिष्क मन्थनको गर्भबाट यस्तै उस्तै आशावादी पाइन र सकारात्मक सन्देश प्रवाहका विचारहरुले ओतप्रोत भएको सुन्दर बच्चा जन्मन सकोस्, जसलाई सबै पाठकहरुले आफ्नै बच्चा सम्झी माया ममता दिन सकियोस् । बैज्ञानिक खोज अनुसन्धानको क्षेत्रमा लेखकले चालेका अनवरत पाइलाले नयाँ तरक्की हाँसिल गर्न सकोस् अग्रिम बधाई तथा निरन्तर प्रगतिको शुभकामना । धन्यवाद ।
रामबहादुर जिसी
