तुलसीपुर २२ साउन । कुनै समय नेपाली समाजमा विवाह, मृत्यु, चाडपर्व वा कुनै उत्सवमा नौमती बाजा बज्थे । कतै नौमती बाजा बजेको सुनियो भने त्यहाँ कुनै उत्सव हुँदैछ भन्ने अनुमान गरिन्थ्यो । तर केही वर्षयता यी बाजा बजाउन छोडिएको छ । आधुनिकतासँगै मनोरञ्जनकालागि अन्य वाध्यवाधनका साधनको प्रयोग बढेसँगै नौमती र पञ्चेबाजा लोप हुने अवस्थामा छन् । तर पछिल्लो समय यी बाजाहरु संरक्षण गर्न महिलाहरु अग्रसर भएको पाइन्छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मजुवाका महिलाहरु नौमती बाजाको संरक्षणमा जुटेका छन् । पहिले पञ्चेबाजा बजाउने गरेका महिलाहरु अहिले नौमती बाजा पनि बजाउन सिकेका छन् । घरको काम सकेर दिउँसोको खाली समय नौमती बाजा बजाउँन सिक्दै आएको स्थानीय मुना वलीले तेस्रो आँखालाई बताउँनुभयो ।
दाङका विभिन्न स्थानमा हुने कार्यक्रम, उत्सवलगायतका कार्यक्रमहरुमा माग भएमा ती महिलाहरु नौमती बाजा बजाउँन जाने गरेका छन् । समाजमा केही उदारणीय काम गरेर देखाउनुपर्छ भन्ने उद्देश्यले मजुवा गाउँस्थित जनचेतना आमा समूहका महिलाहरु नौमती र पञ्चेवाजा संरक्षणमा जुटेको कोषाध्यक्ष कल्पना रेग्मीले बताउँनुभयो । माग भएअनुसार जिल्लाको घोराही, तुलसीपुरलगायत टाढा–टाढासम्म पनि बाजा लिएर पञ्चे र नौमती बाजा बजाउन जाने गरेको कोषाध्यक्ष रेग्मीले बताउँनुभयो ।
२०७५ सालमा स्थापना भएको जनचेतना आमा समूहले २०७८ सालमा छ वटा बाजा, एउटा ट्याम्की, एउटा झ्याली र दुईवटा सहनाई खरिद गरेर समूहकै महिलाहरुले पञ्चेबाजा बजाउन सिकेका थिए । कुनै समय दलित समुदायका पुरुषले बजाउने यो बाजा अहिले सबै जातीका महिलाहरुले बजाउन थाल्दा देख्नेहरु पनि अनौठो मान्छन् । चुलोचौकोमै सीमित हुने महिलाहरुले लोप हुने अवस्थामा रहेको पञ्चेबाजा संरक्षण गर्नुपर्ने कुरामा लागेको पवित्रा खड्काले बताउनु भयो । यसरी महिलाहरु पञ्चेबाजा र नौमती बाजा बजाउँदै लोप हुने अवस्थामा रहेको संस्कृतिको संरक्षणमा जुटेपछि सबैबाट प्रशंसा त भएको छ नै परिवारबाट समेत उत्तिकै साथ पाइएको खड्काले बताउनुभयो ।
दुई वर्षअघि समूहबाट भैलो खेलेर पैसा जम्मा गरेर समाजलाई अतिआवश्यक परेको पञ्चेबाजा रुकुमबाट खरिद गरेर आफै बजाउन सिकेको आमा समूहकी अध्यक्ष कस्तुरा खड्काले तेस्रो आँखालाई बताउनुभयो । नौमती बाजा बजाउनका लागि भने रोल्पादेखि मानसिंह नेपालीलाई मासिक रुपमा तलब दिएर दांङ ल्याएको अध्यक्ष खड्काको भनाइ छ । उनै मानसिङले महिलाहरुलाई नौमती बाजा सिकाउनु भएको हो । यसरी संस्कृति संरक्षणकोलागि बाजा बजाउँदै गर्दा आर्थिक रुपमा पनि सवल हुँदै गएको समूहका अध्यक्ष कस्तुरा बताउनुहुन्छ । यसरी पञ्चे र नौमती बाजा बजाएर आएको पैसाले केही अनाथ बालबालिकाहरुलाई सहयोग गरेर पढाउने योजना आमा समूहको रहेको कस्तुराले बताउनुभयो ।
महिलाहरु संस्कृति संरक्षणमा लागेसँगै तुलसीपुर उपमहानगरपालिकाले पनि आफ्नै नौमती बाजा बजाउने समूह तयार गरेको छ । तुलसीपुर उपमहानगरपालिका पर्यटन प्रवद्र्धन शाखाले स्थानीय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै त्यसकै माध्यमबाट नागरिकहरुलाई आय आर्जनसँग जोड्ने नौमती बाजा खरिद गरी प्रशिक्षण दिएको छ भने आफ्नै नौमती बाजा बजाउने समूह पनि बनाएको उपमहानगरपालिका पर्यटन, प्रवद्र्धन शाखा प्रमुख झरेन्द्र खरेलले तेस्रो आँखालाई बताउँनुभयो । अब हाम्रो पालिकामा कुनै कार्यक्रम भयो भने अन्तबाट नौमती बजाउने टोली बोलाउनु पर्दैन, हामी आफैले त्यो समूह तयार पारेका छौ खरेलले भन्नुभयो ।
नेपाली समुदायले परम्परागत रूपमा बजाउँदै आएको पञ्चेबाजा व्यवसायिक नबन्दा र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको जानकाहरु बताउँछन् । दाङमा भने पञ्चेबाजा र नौमती बाजा बजाउन जानेका व्यक्तिहरुले अहिले समूह नै बनाएर लोप हुने अवस्थामा रहेको बाजा बजाउने र सिक्न चाहनेहरुलाई प्रशिक्षण दिने गरेका छन् । पहिलो पटक महिलाहरुलाई नौमती बाजा बजाउन सिकाउनु भएका प्रशिक्षक निर्मल नेपालीले बाजा सिक्नको लागि महिलाहरुमा एकदमै उत्साहित रहेको बताउनुभयो । कुनै कार्यक्रम भएमा हाम्रो समूह नौमती बाजा बजाउन विभिन्न स्थानमा जान्छ, तर मैले पहिलो पटक महिलाहरुलाई नौमती बजाउन सिकाएको हुँ, उहाँहरु एकदमै ध्यान दिएर मेहनतका साथ बाजा बजाउन सिक्नुभयो प्रशिक्षक नेपालीले भन्नुभयो ।
नेपाल संस्कार तथा संस्कृतिका हिसाबले धनी मुलुक हो । तर, पछिल्लो पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा छ । संस्कार, संस्कृति भनेको पर्यटन भित्र्याउने एउटा माध्यम पनि हो । त्यसलाई जोगाउन सक्यौं भने पर्यटकहरु भित्रिन्छन्, र आम्दानी बढ्छ । त्यसैले नयाँ पुस्तालाई कला, संस्कार, संस्कृति हस्तान्तरण गर्न सक्नुपर्छ, भने नयाँ पुस्ताले पनि यसमा चासो दिन आवश्यक छ ।
अञ्जना चौधरी
