रोल्पा, २८ साउन । लुङ्ग्री गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र वडाचौरमा गत आर्थिक वर्ष भर सम्पन्न भएको कार्यक्रम तथा सेवा प्रवाहहरुको बारेमा सार्वजनिक सुनुवाई गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर परियारले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएकाे थियाे । गाउँपालिकामा गत आर्थिक वर्षमा संशोधित अनुमानित आय ४३ करोड २४ लाख ६ हजार ५ सय ९९ कायम रहेकामा वास्तविक आम्दानी ४१ करोड २२ लाख १९ हजार ५ सय २० अर्थात ९५.३२ प्रतिशत वार्षिक प्रगति भएको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाले गत आर्थिक वर्षमा सम्पती कर, भुमिकर/मालपोत, वहाल कर, वहाल विटौरी कर, सवारी साधन कर (साना सवारी), न्यायिक दस्तुर, सिफारिस दस्तुर व्यवसाय कर, बेरुजु लगायत अन्य विभिन्न सेवा दस्तुरहरुबाट ६६ लाख ३९ हजार ६ सय ७ रुपैयाँ आन्तरिक राजस्व उठाएको छ । गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षमा २१ लाख ८२ हजार ६ सय ४२ राजस्व संकलन गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै वडा कार्यालयको गत आ.व.मा वडा नम्बर १ बाट ६ लाख ७६ हजार १ सय, वडा नम्बर २ बाट ७ लाख ३ हजार ५ सय १०, वडा नम्बर ३ बाट ५ लाख ३५ हजार ९ सय २, वडा नम्बर ४ बाट ८ लाख १६ हजार ७ सय ९१, वडा नम्बर ५ बाट ६ लाख ९३ हजार ५ सय १४, वडा नम्बर ६ बाट ६ लाख ९५ हजार ७३ रवडा नम्बर ७ बाट ३ लाख ३५ हजार ७५ रुपैँया आन्तरिक राजस्व उठाएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
गाउँपालिकाद्वारा गत आर्थिक वर्षमा कुल विनियोजित बजेट ४३ करोड २४ लाख ६ हजार ५ सय ९९ मध्ये कुल खर्च ३७ करोड ७४ लाख ५३ हजार ८३ रकम अर्थात ८७.२९ प्रतिशत खर्च भएको छ । विनियोजित चालू बजेट तर्फ २८ करोड ५८ लाख ९६ हजार ५ सय ९९ मध्ये कुल खर्च २४ करोड ५५ लाख ७६ हजार ८ सय ५७ अर्थात ८५.९ प्रतिशत खर्च भएको छ । त्यस्तै पूँजीगत खर्च तर्फ कुल विनियोजित बजेट १४ करोड ६५ लाख १० हजार मध्ये १३ करोड १८ लाख ७६ हजार २ सय २६ अर्थात ९०.०१ प्रतिशत खर्च भएको पाइएको छ ।
गाउँपालिकामा गत आर्थिक वर्षमा ५१ वटा आयोजना, वडा स्तरिय ६६ वटा आयोजना, संघीय सरकारबाट हस्तान्तरित १५ वटा आयोजना र प्रदेश सरकारबाट हस्तान्तरित १२ वटा आयोजना गरी १४४ वटा योजनाहरु कार्यान्वय भई निर्माण कार्य सम्पन्न भएका थिए ।
न्यायिक समिति १२ वटा उजुरी
गाउँपालिकामा गत आर्थिक वर्षमा गाउँपालिकाको न्यायिक समितिमा १२ वटा उजुरी परेका छन् । न्यायिक समितिमा परेका उजुरीहरु मध्ये ९ वटा उजुरीहरु फछर्यौट गरिएको ३ उजुरीहरु फछर्यौट गर्न बाँकी रहेको बताइएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा ‘लुङ्ग्री गाउँपालिकाको मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि, २०८०' जारी गरेको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाले गत आर्थिक वर्षदेखि अर्धवार्षिक र वार्षिक सार्वजनिक सुनुवाई गर्दै आएको छ । सार्वजनिक सुनुवाई गर्नु पूर्व गाउँपालिकाले पालिकाको सम्पूर्ण वडाहरुमा प्रतिनिधि खटाएर गाउँपालिकाबाट भैरहेको गतिविधिको बारेमा नागरिकको गुनासो रेकर्ड गर्न लगाएको थियो । गाउँपालिकाको सबै वडाहरुमा प्रतिनिधि गएर रेकर्ड गरिएका नागरिकहरुको गुनासोलाई सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएका थिए ।
नागरिकहरुले मुख्य गुनासाका रुपमा खानेपानी, स्वास्थ्य, शिक्षा, यातायातको व्यवस्थापन, विद्युत लगायतका विषयवस्तुलाई मुख्य प्राथमिकता राखेर गुनासो राखेका थिए ।
नागरिकहरुले राखेको गुनासो सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भरत कुमार थापाले गाउँपालिकासँग भएको सीमित स्रोत र साधनले गर्दा जनताहरुको सम्पूर्ण गुनासोहरुलाई सम्बोधन गर्न गार्हो भएको बताउनु भएको थियो । उहाँले गाउँपालिका सुशासन स्थापना गर्नमा अग्रसर भएर लागेको प्रतिक्रिया दिनु भएको थियो । गाउँपालिकाले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाई रहेको थियो ।
गाउँपालिका उपाध्यक्ष दिल कुमारी गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार नवीनलोचन मगरले गर्नुभएको थियो ।
भरत विश्वकर्मा
