दाङमा एक महिनाको अवधिमा १९१ जनामा डेंगु संक्रमण

दाङमा एक महिनाको अवधिमा १९१ जनामा डेंगु संक्रमण


  • 3.8K
    SHARES
    • भाद्र ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    दाङमा एक महिनाको अवधिमा १९१ जनामा डेंगु संक्रमण

    दाङ ७ भदौ । दाङमा एक महिनामा १९१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गएको साउन १ गतेदेखि भदौ ७ गतेसम्म जिल्लामा १९१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । फोकल पर्सन चन्दका अनुसार घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन महिनामा १०४ जना र भदौ महिनामा ४० गरि १४४ जना बिरामीमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

    images

    त्यसैगरी  तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा साउन महिनामा २० जना र भदौ ७ गतेसम्म २७ जना गरि ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । सबै डेंगु संक्रमित उपचारपछि घर फर्कि सकेको फोकल पर्सन चन्दले तेस्रो आँखालाई जानकारी दिनुभयो । उहाँका अनुसार डेंगु संक्रमित सबैको अवस्था सामान्य छ ।

    डेंगु भएको कसरी थाहा पाउने ?

    - एक्कासी उच्च ज्वरो आउनु,
    - लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
    - असाध्यै टाउको दुख्नु,
    - आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
    - ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
    -शरीरमा बिमिरा आउनु ।

    डेंगुबाट यसरी बच्नुहोस्

    - डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
    - पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ,
    - पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
    - कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक(दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
    - फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
    - एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
    - सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
    - लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
    - घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
    - घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

    त्यसैगरी यो अवधिमा जिल्लाका ४ जनामा मलेरिया देखा परेको छ । चार जनामध्ये एक जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा साउन २१ गते मृत्यु भएको थियो । त्यस्तै एक जना मलेरिया संक्रमितको भेरी अस्पताल नेपालगञ्जमा उपचार भई रहेको छ भने दुई जना मलेरिया संक्रमित उपचारपछि घर फर्किएको चन्दले बताउनु भयो । 


    तेस्रो आँखा